कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

छोटकरी

रौतहट — पिप्राभगवानपुर १ को इद्रिस गेट नजिक मोटरसाइकलको ठक्करबाट आइतबार एक वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट मृत्यु

रौतहट (कास)– गौरबाट जिंगडवातर्फ जाँदै गरेको बीआर ३० एम २३६४ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका ६५ वर्षीय मुखलाल ठाकुरलाई ठक्कर दिएको डीएसपी नवीनकृष्ण भण्डारीले बताए । हात, खुट्टा, टाउकामा गम्भीर चोट लागेका घाइते ठाकुरको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ सय गोठ निर्माण
हेटांैडा (कास)– भूकम्पपीडितले पशुवस्तुका लागि नयाँ गोठ र खोर पाएका छन् । जिल्ला पशुसेवा कार्यालय र फरवार्ड नेपालको सहयोगमा भूकम्पले भत्केका गोठ र खोर पुनर्निर्माण गरिएका हुन् । भंैसे, नामटार, आग्रा र टिस्टुङमा गरी ६ सय वटा गोठ/खोरहरू निर्माण गरिएका छन् । यहाँका किसान १९ महिनादेखि खुला आकाशमुनि पशुवस्तु पाल्दै आएका थिए । ‘भूकम्पीडित घर धनीहरू टहरामा बसिरहेका भए पनि चौपायाहरू भने गोठ र खोरमा बस्न पाएका छन्,’ जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले भने, ‘भूकम्पले जिल्लाका झन्डै १० हजार गोठ र खोर भत्केका थिए ।’
युवा संघद्वारा कारबाहीको माग
बाँके (कास)– केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने व्यक्तिलाई तीन दिनसम्म पनि पक्राउ गर्न नसकेको भन्दै युवा संघ बाँकेले प्रहरी प्रशासनमाथि आक्रोश पोखेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाउँदै अपराधीलाई तत्काल पक्राउ गर्न संघले माग गरेको हो । युवा संघ बाँकेका सचिव कुसमेखर बस्यालले भने, ‘प्रहरी प्रशासन मूकदर्शक बने कडा आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले ज्ञापनपत्र बुझदै एक साताभित्रै अपराधीलाई पक्राउ गर्ने आश्वासन दिए । बुढाथोकीमाथि बिहीबार राति करिब पौने ९ बजे लक्ष्मण मल्लले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
‘संविधान धरापमा पर्न सक्छ’
महेन्द्रनगर (कास)– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संघको निर्वाचन नभए संविधान नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन् । उनले त्यसो भए मुलुक ठूलो अन्योल र अस्थिरतामा फस्ने बताए । ‘यतिबेला मुलुक संकटैसंकटको चक्रव्यूहमा फसेको छ,’ आइतबार महेन्द्रनगरमा दुवै राप्रपा एकीकरण सन्देश दिन आयोजित सभामा उनले भने, ‘मुलुकलाई संकटबाट मुक्त गर्न राप्रपा वैकल्पिक मार्गचित्र बोकेर मेचीदेखि महाकालीसम्मका जनतासमक्ष पुगेको छ ।’ उनले वर्तमान संविधान जारी भएको १५ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको अवस्थाले अन्योल र अस्थिरता उत्पन्न भएको बताए ।
‘संशोधन पारित हुँदैन’
दाङ (कास)– माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव पारित नहुने बताएका छन् । मालिका कालिका यातायात प्रालिको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्तावलाई संसद्ले अस्वीकृत गर्ने बताए । पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव सरकार र मधेसमा आन्दोलनरत पक्षको नभएको दाबी गर्दै रायमाझीले उक्त प्रस्ताव अदृश्य शक्तिबाट आएको आरोप लगाए । संविधान संशोधनको पक्ष/विपक्षमा मतदान भए आफूले विपक्षमा मतदान गर्ने उनको भनाइ थियो । 
उपचार प्रभावित
डोल्पा (कास)– जिल्ला स्वास्थ्य कार्यालय डोल्पा र मातहतका स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणले उपचारमा समस्या बेहोर्नुपरेको छ । जिल्लामा २३ स्वास्थ्यचौकी भए पनि प्रत्येकमा स्वास्थ्यकर्मीको अभाव छ । कार्यालयका अनुसार जिल्लामा २३ जना हेल्थ असिस्टेन्टको दरबन्दीमध्ये १८ स्थान रिक्त छ । ४८ जनाको दरबन्दी भए पनि अहेबमा ३१ रिक्त छन् । 
४८ अनमीमध्ये २९ स्थानमा दरबन्दी खाली रहेको जिल्ला स्वास्थ्य प्रमुख डा. श्रीकान्त अग्रवालले बताए । जिल्लामा दुई जना चिकित्सकको दरबन्दी भए पनि हाल एक मात्र उपलब्ध छन् ।

प्रकाशित : पुस १८, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?