अब युरोपमा पनि वाइवाई उद्योग
काठमाडौं — चौधरी समूहले युरोपेली मुलुकलाई लक्षित गर्दै सर्बियामा वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ ।
समूहले सर्बियाको रुमा सहरमा वाइवाईको प्लान्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । रुमाको रुम्स्का इन्डस्ट्रियल लुपमा वाइवाईको प्लान्ट स्थापना कार्य अघि बढाइएको समूहले जनाएको छ । युरोपेली बजारमा यहाँबाट उत्पादित चाउचाउको बिक्री वितरण हुनेछ । चौधरी समूहको युरोपमा यो पहिलो उद्योग हुने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उद्योगले पहिलो चरणमा करीब चार सय तथा उत्पादन र वितरण सुरु हुँदासम्म १ हजार २ सयभन्दा बढीलाई रोजगारी दिनेछ । चौधरी समूह युरोपमा तयारी चाउचाउ उत्पादन सुरु गर्ने पहिलो नेपाली व्यावसायिक घराना हो । यसअघि नै विश्वका ३० मुलुकमा वाइवाई चाउचाउको उपस्थिति रहिसकेको छ ।
विश्वभर वार्षिक २ अर्ब २० करोड प्याकेटभन्दा बढी बिक्री हुने वाइवाईले विश्व तयारी चाउचाउ बजारको २ दशमलव २ प्रतिशत हिस्सा ओगटेको दाबी कम्पनीको छ । हाल नेपालमा ६ र भारतमा ८ वटा प्लान्टबाट वाइवाई चाउचाउ उत्पादन भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।