कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

झिलमिलामा पर्यटकको आकर्षण

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव क्षेत्रको चुरेमा रहेको झिलमिला ताल धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण मानिन्छ ।

झिलमिलामा पर्यटकको आकर्षण

प्रचारप्रसार तथा तालसम्म पुग्ने बाटोघाटोको अभावमा यो ताल ओझेलमा पर्दै आएको छ । तर हालका केही वर्षयता भने झिलमिलामा भारतीय पर्यटक आकर्षित भएका छन् । सीमावर्ती टनकपुर, वनबासा, खटिमा र पिलिभितलगायत ठाउँबाट यहाँ पूजाआजासँगै घुम्न आउनेको संख्या बढेको हो ।

चारैतिर डाँडाकाँडा । बीचमा सुन्दर ताल । तालको किनारमै खेलिरहने एउटै जात र आकारमा माछाले यहाँ आउने पर्यटकलाई लोभ्याएको छ । अझ ताल वरिपरि रहेको एकनासको वनले यहाँ पुग्ने जोकोहीलाई पनि लोभ्याउँछ । शान्त र एकान्त खोज्नेका लागि पनि यो क्षेत्र उत्कृष्ट गन्तव्य बनेको छ । धार्मिक दृष्टिकोणले पनि यो ताल उत्तिकै महत्त्वपूर्ण मानिन्छ । अहिले यहाँ पुग्ने भारतीयहरू धार्मिक पर्यटककै रूपमा आउने गरेका छन् । 
झिलमिला तालभन्दा केही तल रहेको बैजनाथ मन्दिर र तालको पूजाआजाका लागि यहाँ केही वर्षयता पूर्णिमाका दिन तीर्थयात्रीको भीड बढ्न थालेको छ । ‘हरेक पूर्णिमाका दिन यहाँ आएर पूजाआजा गर्छाैं,’ भारत उत्तर प्रदेशको पिलिभितका राम कुमारले भने, ‘एक दिन यहीँ बस्छौं, भोलिपल्ट फर्किन्छौं ।’ उनका अनुसार पिलिभितबाट मात्रै पूर्णिमाका दिन सय/डेढ सय तीर्थयात्री यहाँ आउने गरेका छन् । 
झिलमिला तालमा रहेका माछाहरू त्यही तालको पूजा गरेको चामल खाइरहेको दृश्य पनि आकर्षक देखिन्छ । कतिपयले एकनासका माछा हेर्न तालकिनारमै चामल फाल्ने गरेका छन् । ‘यहाँ पुगेर पूजाआजा गरेपछि सोचेको पूरा हुन्छ,’ राम कुमारले भने, ‘त्यही भएर हरेक महिना पूर्णिमाका दिन नियमित आउछौं ।’ उनका अनुसार शुद्ध मनले झिलमिला तालसँगै बैजनाथ मन्दिरको पूजा गरे मनोकांक्षा पूरा हुन्छ ।
‘झिलमिला माताले इच्छाएको सबै पूरा गरिएदिएकी छन्,’ ५ वर्षदेखि नियमित यहाँ आइरहेका पिलिभितकै अर्का तीर्थयात्री उत्तुलाल बर्माले भने, ‘यो ठाउँ सुन्दर र शान्त पनि छ ।’ उनी आफ्नो ५ जनाको परिवारसहित हरेक महिना यहाँ पुग्ने गर्छन् । एक दिन झिलमिलामै बास बसेर मात्रै फर्किन्छन् । 
ऐतिहासिक सीमावर्ती बजार 
ब्रह्मदेवबाट करिब ८ किलोमिटर उत्तरतिर चुरेमा रहेको यो ताल पूर्णागिरि मेलाका बखत सिद्धबाबा दर्शन गर्न आउनेहरूका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए । पूर्णागिरि मेलाका बेला ब्रह्मदेवस्थित सिद्धबाबाको दर्शन गर्न तिर्थयात्रीको घुइँचो लाग्ने गरेको छ । ‘सिद्धबाबा र झिलमिलालाई जोड्न सके धार्मिक पर्यटनको प्रमुख क्षेत्र बन्न सक्छ,’ उनले भने, ‘तर यसका लागि ब्रह्मदेवदेखि झिलमिला सम्मको ट्रेकिङ रुट वा सवारी चल्ने बाटो आवश्यक पर्दछ ।’ 
ब्रह्मदेवबाट चुरे फेदीसम्म गाडीमा र त्यहाँबाट करिब दुई/अढाई घण्टा पैदल हिँडेपछि झिलमिला ताल आइपुग्छ । उसो त जिल्ला विकास समिति कञ्चनपुरले डेढ दशकअघि नै झिलमिला पुग्ने कच्ची मोटरबाटोको ट्रयाक समेत खोलिसकेको छ । तर मर्मत सम्भारको अभावमा उक्त बाटो ठाउँठाउँमा भत्किएर गाडी चलाउन नसकिने भएको छ । उक्त बाटो मर्मत गरे आधा घण्टा मात्रै पैदल हिँड्नुपर्ने हुन्छ । ‘झिलमिला छोटो दूरीको ट्रेकिङका लागि उपयुक्त छ,’ व्यवसायी भण्डारीले भने, ‘यसको प्रचारप्रसारमा सबैले जोड दिनुपर्छ ।’ 

प्रकाशित : आश्विन ७, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?