कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुलिस उपाधि नजिक

पर्वत पोर्तेल

झिलझिले ,झापा — नेपाल पुलिस क्लब सताक्षी गोल्डकपमा बुधबार फाइनल प्रवेश गरेको छ । उसले आयोजक झिलझिले स्पोर्टिङ क्लब लाई सडन डेथमा ९–८ ले पराजित गर्‍यो । अब पुलिसले फाइनलमा बिहीबार हुने एपीएफ र रूपन्देही–११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 पुलिस उपाधि नजिक

गणेशमान सिंह अध्ययन केन्द्रको मैदानमा उपस्थित घरेलु दर्शक हारपछि स्तब्ध बने । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । तर, टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडन डेथबाट अन्तिम छिनोफानो गरिएको थियो । 

सडन डेथमा आयोजक टिमका अनन्त तमाङ, योगेश गुरुङ, विशाल राई र सिकोले गोल गरे । गणेश खड्काको प्रहार पुलिसका किपरले रोके । पुलिसका कपिल ढकाल, रविन श्रेष्ठ, अजित भण्डारी, रवि पासवान र अनुप लिम्बूले गोल गरे । बंगबन्धु गोल्डकप र साग खेलमा सहभागी अधिकांश खेलाडी समेटिएको आयोजक घरेलु दर्शकको भरपूर समर्थनका बावजुद पनि पराजित भयो । 
खेलको पहिलो हाफ रोचक बन्यो । झन्डै एकतर्फी जस्तो खेलमा आयोजकले पुलिसलाई पूरै दबाबमा राखेको थियो । पहिलो हाफको २५ औं मिनेटमा आयोजकका कमल श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाए । विपक्षीको गोलपछि झन् दबाब झेल्यो पुलिसले । पहिलो हाफमा दबाबमा खेलेको पुलिसले दोस्रो हाफपछि रणनीति फेर्दै सुदृढ खेल प्रदर्शन गर्‍यो । दोस्रो हाफको ११ औं मिनेटमा पुलिसका रवि पासवानले आकर्षक गोल गरेर टिमलाई बराबरीमा ल्याए । कप्तान तथा डिफेन्डर अनन्त तामाङको गल्तीको फाइदा रविले उठाए र गोलकिपर विशाल श्रेष्ठलाई कुनै मौका नदिई बललाई पोस्टको दिशा दिए । 
३५ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । तर, गोलको खुसी सेलाउन नपाउँदै खेल सकिन चार मिनेट बाँकी छँदा आयोजकका सिकोले गोल गर्दै खेल बराबरीमा ल्याए । गणेश खड्काको कर्नर प्रहारलाई सिकोले हेडमार्फत जाली चुमाउँदा पुलिसका किपर सोजित गुरुङले रोक्ने अवसरै पाएनन् । एपीएफ र रूपन्देही–११ बीच बिहीबार खेल हुँदैछ ।

 

प्रकाशित : वैशाख ३०, २०७३ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?