१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पनामा पेपर्समा ७ नेपाली

काठमाडौं — अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार राति सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरणमा ७ नेपालीको नाम परेको छ ।


पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांशकुमार चौधरी, करनकुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्माको नाम छ । यो लिक्समा सन् २०१३ को स्विस लिक्सका व्यक्तिहरूको नाम पनि समावेश छ । १२ जनाको पुरानो नामलाई पनि यस पटकको सूचीमा अफसोर लिक्स भनेर समावेश गरिएको हो । यसबाहेक सतीशलाल आचार्यको नाम थपिएको छ ।
पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डा. श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोदी, विजेशकुमार अग्रवाल, शैलेन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, विजेन्द्र जोशी, विनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्रकुमार काब्राको नाम पनि सार्वजनिक गरेको छ । उनीहरूको नाम स्विस लिक्स भनेर पुन: सार्वजनिक गरेको हो ।
नेपाली समयअनुसार सोमबार राति पौने १२ बजे उसले नयाँ सूचीसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । आईसीआईजेले विश्वका धेरै सञ्चारमाध्यम समेतको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । उक्त संस्थाले यसको प्रारम्भिक प्रतिवेदन करिब एक महिनाअघि सार्वजनिक गरेको थियो । अफसोर कम्पनीमा गरिने लगानी भनेको कर छुट र आयको स्रोत खुलाउनु नपर्ने वा कम झन्झटिलो भएको देशमा विदेशीले खोलेका कम्पनी हुन् ।
यी देशमा कम्पनी खोलेर आफूले चाहेको देशमा रकम लान सजिलो हुने हुँदा यस्ता मुलुकमा कम्पनी खोल्ने गरिन्छ । तर यस्ता कम्पनी/व्यक्ति सबै गैरकानुनी र कर छल्न खोज्ने नियतका हुन्छन् भन्ने हुँदैन । ट्याक्स हेवन (करको स्वर्ग) मा ख्याति कमाएका हङकङ र ब्रिटिस भर्जिन आइल्यान्डलगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ । हङकङ र ब्रिटिस भर्जिन आइल्यान्ड क्रमश: दोस्रो र पाँचांै बढी लगानी गर्ने मुलुकमा पर्छन् । बढी लगानी गर्ने मुलुक पहिलो, तेस्रो र चौथो भने क्रमश: भारत, चीन र दक्षिण कोरिया हुन् ।

प्रकाशित : वैशाख २८, २०७३ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?