कोइरालाको शान्त प्रस्थान - प्रिन्ट संस्करण - कान्तिपुर समाचार

कोइरालाको शान्त प्रस्थान

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सोमबार मध्यरात अचानक ‘शान्त प्रस्थान’ गरेका छन् । ७८ वर्षीय कोइरालाले क्यान्सरजस्तो भयानक रोगलाई समेत जितेका थिए, तर सामान्य बिसन्चोका कारण अस्पतालसमेत लैजान नपाई उनको निवासमै अवसान हुनु आफैंमा दु:खद घटना हो ।

कोइरालाको निधनले कांग्रेस पार्टीलाई त क्षति पुर्‍याएको छ नै, मुलुकको राष्ट्रिय राजनीतिमा समेत एउटा अनुभवी र पाको राजनीतिज्ञ गुमाउँदाको रिक्तता महसुस भएको छ । राष्ट्रले उच्च नेतृत्वमा पुगेर पनि सरल र सादा जीवनशैली अपनाउँदै आएका अनुकरणीय नेतालाई गुमाएको छ ।

आफैंमा कुनै चमत्कारिक विशिष्टता नभए पनि निरन्तर कांग्रेस राजनीति र लोकतान्त्रिक आन्दोलनमा लागेर सफलताको सिंढी उक्लँदै पार्टी र सरकार दुवैतिर शिखरमा पुग्न सकेका थोरै नेताहरूमा पर्छन् कोइराला । र, त्यहाँसम्म पुग्दा उनी अन्य थुप्रै उपल्ला भनिएका नेताभन्दा विपरीत अनियमितता र भ्रष्टाचारको विवादमा परेनन् । कोइरालाको कार्यशैली र कार्यक्षमताको लेखाजोखा फरकफरक ढंगबाट गर्न सकिएला, तर समकालीन नेपालको महारोग बनेको भ्रष्टाचारका मामिलामा भने उनी व्यक्तिगत रूपमा जोडिएको कहिल्यै सुनिएन । 
कुनै बेला थियो, सुशील कोइरालालाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको भित्री समूहका अगुवाका रूपमा मात्र हेरिन्थ्यो । तर उनले जब गिरिजाप्रसादकै जीवनकालमा पार्टीको कार्यवाहक नेतृत्व पाए र पछि महाधिवेशनबाट चुनिएर पूर्णरूपेण सभापतिको जिम्मेवारी सम्हाल्न पुगे, त्यसपश्चात्को खास परीक्षणमा सुशील खरो नै उत्रिए । पहिलो संविधानसभामा दोस्रो स्थानमा झरेको कांग्रेस पार्टी दोस्रो संविधानसभा निर्वाचनबाट पहिलोमा उक्लियो, उनकै नेतृत्वकालमा । त्यसैको जस पाएका कोइरालाले त्यो संक्रमणकालीन कालखण्डमा सरकारको नेतृत्व गर्ने अवसर मात्र पाएनन्, लामो समयदेखि जारी रहेको संक्रमणलाई समापन गर्ने गरी नयाँ संविधान बनाउनसमेत निर्णायक भूमिका खेले । संविधानसभाभित्रको सबभन्दा ठूलो पार्टीको प्रमुख र मुलुकको प्रधानमन्त्रीसमेतको हैसियतमा उनले सकारात्मक अग्रसरता नलिएको भए उसबेला संविधानको अन्तरवस्तुलाई लिएर कांग्रेस, एमाले र एमाओवादीबीच मतैक्य हुन सक्ने थिएन । खासगरी सडक आन्दोलनमा रहेको एमाओवादी दलीय समझदारीको खाकामा आउने वातावरण उनको सुझबुझबाट सम्भव भएको थियो । वास्तवमा जननिर्वाचित संविधानसभाबाट नयाँ संविधानको घोषणा कोइरालाको आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनको सबभन्दा ठूलो उपलब्धि हो । उनकै प्रधानमन्त्रीत्वकालमा नेपालले पहिलोपटक जनप्रतिनिधिहरूद्वारा लिखित संविधान पाएको कुरा इतिहासमा अंकित हुनेछ । सँगै उनले थारू र मधेसी समुदायको संविधानसँग जोडिएका आकांक्षाहरूलाई सम्बोधन गर्न/गराउन नसकेको र तराई–मधेसको असन्तुष्टिलाई आन्दोलनमा परिणत हुनबाट रोक्न नसकेको विरोधाभासको पनि चर्चा हुनेछ । कोइरालाकै कार्यकालमा संविधानप्रति असन्तुष्टि जनाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएको थियो, जो हालै फिर्ता लिइएको छ । तर, मधेस आन्दोलनको गन्तव्य के हुनेछ, त्यो कुरा भने इतिहासमा कोइराला कार्यकालको सफलता या असफलतासँग पनि धेरथोर गाँसिन आउनेछ ।
नयाँ संविधान जारी भएपछि उचो छवि बनाइसकेका कोइरालाले पुन: प्रधानमन्त्री बन्नका लागि दलीय सहमतिविपरीत किन अस्वाभाविक प्रयत्न गरे, त्यो आफंैमा एउटा पहेलीका रूपमा रहेको छ । त्यो निर्णयले दोस्रो राष्ट्रपति बन्ने उनको आफ्नै सम्भावनालाई समेत हठात् अन्त्य गरिदिएको थियो । त्यसपश्चात् फेरि पार्टी सभापतिमा उठ्ने तयारीका साथ कांग्रेसको १३ औं महाधिवेशनको आन्तरिक तयारीमा जुटेका उनले आफ्नो यात्रा अहिले बीच बाटामै बिसाएका छन् । 
पूर्वप्रधानमन्त्री कोइरालाप्रति कान्तिपुर परिवार हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछ । 

प्रकाशित : माघ २७, २०७२ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

स्वच्छ छविका नेता

लीलामणि पौड्याल

काठमाडौं — सुशील कोइरालासँग मेरो सामान्य चिनजान पहिलेदेखि नै थियो । कोइराला प्रधानमन्त्री भएपछि मलाई मुख्य सचिवका रूपमा उहाँसित नजिक रहेर काम गर्ने अवसर नै जुर्‍यो ।

राजनीतिमा निकै अनुभव बटुले पनि सरकार सञ्चालनमा अभ्यस्त नभएका कोइराला एकैचोटी प्रधानमन्त्री भएर आउनुभएको थियो ।

उहाँले सरकार प्रमुख हुनासाथ भन्नुभएको थियो, ‘संविधान जारी गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारीमा म कतै सम्झौता गर्दिन । यसमा सहयोग गर्नुहोस् । म पनि आफ्नातर्फबाट सचेत भएरै लाग्नेछु ।’ उहाँको त्यो संकल्प पुरा पनि भयो ।

दुई तिहाइ दलको समर्थन रहेको उहाँ नेतृत्वको बलियो सरकार नेपाली जनतालाई संविधान दिएर सत्ताबाट बाहिरियो । उहाँ अन्तिम समयसम्म पनि लोकतन्त्रमा विश्वास गर्ने भनेर सक्रिय राजनीतिमा नै रहेर बिदा हुनुभयो । मानिस हो, कमी—कमजोरी भइहाल्छ, उहाँका पनि कमजोरी थिए, तर पनि उहाँबाट हामीले सिक्नपर्ने धेरै गुण छन् ।

उहाँको सादगी विचार र दृढ अडान सम्झनालायक गुण हुन् । संविधान कार्यान्वयन हुने प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कोइरालाको अचानक निधन भएको खबरले मलाई अत्यन्त दु:खित बनाएको छ ।

सायद म र उहाँको दलका नेता तथा कार्यकर्तामात्र होइन, साँच्चै मुलुकका लागि केही गरौं भन्नेहरू मर्माहत भएका छन् । सरल र सादा जीवनशैली अपनाउने, पदीय अहम् पटक्कै नभएका र भ्रष्टाचार वा आर्थिक अनियमितताको शंका लागे त्यसलाई रोक्न कसैसँग सम्झौता नगर्ने कार्यशैलीका कारण म उहाँसित बढी नै प्रभावित भएको थिएँ ।

मलाई लोभ देखाएर वा कानुन विपरीत कतै थन्क्याएर अर्को मुख्य सचिव नियुक्त गर्न उहाँलाई पार्टीभित्र पनि र अन्य कतिपय सहकर्मीको तीव्र दबाब परेको थियो । त्यो कुरा म स्वयंले त थेग्न गाह्रो परेको अवस्थामा उहाँले कति थेग्नुभयो भन्ने म सम्झन्थेँ ।

र लाग्थ्यो, कति यस्तो समस्यामा पारेर रहुँ, छोडी पो दिउँ कि, तर जानाजान मुलुकको बेथीतिलाई बिगार गर्न किन तल्लिन हुनु भनेर म उहाँसँगै अडिग रहेँ । उहाँ पनि कानुनको अपव्याख्या र लोभलाई बेवास्ता गरेर नै अघि बढ्नुभयो ।

उहाँले मलाई पुरै अवधि काम गर्ने अवसरमात्र दिनुभएको होइन, बीचमा रहेकाहरूले पारेको खाडलसमेत बुझिदिने र त्यसलाई नसुनेझैं टार्ने र हप्काउने शैली पनि थियो । सबैको कुरा सुन्ने तर निर्णय आफै गर्ने बानी उहाँमा थियो ।

तर पनि यदाकदा उनको नाम लिएर हिँडेका आफन्त, निकटस्थ तथा नेताहरूको बलियो घेरा तोड्न नसक्दा आफै पनि झसंग हुने गर्नुहुन्थ्यो । यसबाट कहिलेकाहीं ठूलै असमझदारी पनि आउने गरेको थियो । त्यसमा उहाँले आफन्तको भन्दा मुलुकको मुख्य सचिवको कुरा सुनेर नै कतिपय निर्णय लिनुभएको थियो ।

उहाँप्रति म व्यक्तिगत रूपमा सधैं ऋणी रहेको छु । उहाँले मलाईमात्र नभई बेथीति नबिगार्न स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रलाई खलबल्याउनु भएन । त्यसमा बढी नै आभारी छु ।

सरकार निकै बलियो देखिए पनि भित्र—भित्र निकै धेरै समस्या थिए । स्वार्थ राखेर हिँड्नेहरू सिंहदरबारदेखि बालुवाटरसम्म लहरै हुन्थे । तर पनि कोइरालाले त्यस्तालाई सकभर रोक्नुभएको थियो । थाहा नदिई प्रधानमन्त्रीले भनेको भन्ने भान पारेर नचाहिँदा काम भए होलान्, तर प्रधानमन्त्रीकै तहबाट उहाँले जानेर कुनै गलत कदम लिनुभएको मैले पाइन ।

कसैले सुनाएर वा भराएर पठाउँदा पनि यो त यस्तो हो नि हजुर भन्दा उहाँले तत्काल त्यसलाई छोडेर विकल्पमा लाग्ने गर्नुहुन्थ्यो । सत्तामा पुगेकाले जे पनि गर्न सकिन्छ भन्ने अहम्ता लिने गरेको अनुभव कतिपयबाट आफैमा ठोकिएको अनुभव रहे पनि उहाँमा मैले कत्ति पनि त्यस्तो पाइन ।

निकै साधारण र सरल हुनुहुन्थ्यो । मैले अन्तरिम मन्त्रिपरिषदका अध्यक्षसहित तीनजना कार्यकारी प्रमुख र मन्त्रिपरिषदको सचिवको रूपमा अन्य तीनजना राजनीतिक नेतृत्वसँग नजिकबाट काम गर्ने अवसर कर्मचारीको उच्चतम पदमा रहेर काम गर्न पाएँ ।

नेतृत्वमा हुनुपर्ने गुणमा उहाँमा अलिक फरक थियो । कसैको दृढ संकल्प, कसैको नयाँ डाइनामिजम रहेको भए पनि उहाँ सादगी स्वच्छताले गर्दा अरुभन्दा फरक रहनुभयो । सबैको गुणलाई एक स्थानमा मिलाएको नेतृत्व खोज्ने प्रयत्नमा रहेका हामीले उहाँको गुण कम महत्त्वको थिएन ।

उहाँ प्रधानमन्त्री नहुँदा सामान्य भेटघाट हुन्थ्यो । गोविन्द केसी आमरण अनशनमा रहेको अवस्थामा उहाँसँग व्यक्तिगत रूपमा जिम्मेवारी लिएर थप नजिकबाट काम गर्न पाएँ । पछि पनि यस्ता केशमा भेघाट भइनै रह्यो ।

धेरैजसो नेतामा आफू शासनमा आएपछि पदीय दूरी राख्ने दम्भ हुन्छ । त्यो उहाँमा देखिएन । गोविन्द केसीले उठाउनुभएको मुद्दा समाधान गर्ने जिम्मेवारी तोकिएपछि काम गर्ने क्रममा म उहाँसँग बढी नै नजिक भएँ । त्यसमा उहाँले मेरो कुरा धेरै सुन्नुहुन्थ्यो । पहिलो दिन उहाँ सिंहदरबारमा प्रवेश गर्दा उहाँको जीवन शैलीलाई मेल खाने र उठाउँदै आउनुभएको भ्रष्टाचारको शून्य सहनशीलताको विषय सम्बन्धित नै फाइल लगेको थिएँ ।

त्यो उहाँले सदर गर्दै मन्त्रालयको सार्वजनिक खर्चको बिल वेबसाइटमा नै सार्वजनिक गर्ने र मन्त्रिपरिषदमा पाँचतारे होटलबाट ल्याइएको खाना बन्द गराउने कामको फाइल सदर गरेर सुधारको मेरो अभियानलाई जोड दिनुभएको थियो । त्यो फाइल लैजाँदा कतै अस्वीकार त हुने होइन भन्ने डर कताकति थियो ।

तर यसलाई सकारात्मक रूपमा लिँदै उहाँ खुसीसमेत भएर तत्काल गर्नुपर्ने यस्ता कार्यहरू ल्याउन आग्रह गर्नुभएको थियो । पहिलो क्याबिनेटमा एकजना मात्र मन्त्री हुनुहुन्थ्यो । उहाँहरू त्यही फाइल सदर गरेर भ्रष्टाचारको शून्य सहनशीलतालाई नै सरकारले जोड दिँदै संविधान जारी गर्ने कार्यमा सहयोगी काम गर्ने भन्दै हिँड्नुभएको थियो ।

कत्ति पनि तडक—भडकमा मोह नभएको उहाँले सरकारी संयन्त्र सुधारमा धेरै कुरा गर्ने र समस्या समाधानमा लाग्न सुझाउने गर्नुहुथ्यो । उहाँ मन्त्रालय पस्दादेखि अन्तिम समयसम्म व्यक्तिगत रूपमा स्वच्छ छविमा देखिनुभएको थियो ।

खाजा खर्चमा हुने करोडौं रकम बचाउने निर्णय लिँदा उहाँ र मलाई कन्जुस मुख्य सचिव र कन्जुस प्रधानमन्त्रीसमेत भनेर धेरै आलोचना भएको थियो । तर त्यो खर्च हुने विषयमा पनि छलफल हुँदा अन्य फजुल खर्च हुने विषय खोजेर निर्णयमा पुग्न आग्रह गर्दै आउनुभयो ।

मन्त्रालयले निर्णय लिन सहयोग नपाएको खर्च कटौतीमा प्रधानमन्त्रीको एकल निर्णयबाट धेरै सुधार गर्न सकिएको थियो । पाँचतारे होटलको खाजा ल्याउने चलनलाई रोक्ने अन्य मन्त्रालयमा हुने विभिन्न फजुल खर्च लगायत छ ।

कतिपय त्यस्तो दबाब र दबदबा उहाँले रोकिदिने गर्नुभएको थियो । स्वच्छता, पारदर्शिता, भ्रष्टाचार विरोधी क्रियाकलापमा असहिष्णु देखिने र त्यसको लागि कठोर निर्णय लिन पनि उहाँ पछि पर्नु हुन्नथ्यो । प्रजातान्त्रिक संस्कृतिमा विश्वास राख्ने व्यक्ति हुनाले सबैले स्वतन्त्र तर इमानदारिताका साथ काम गर्न उहाँले सुझाउने कुरा थियो ।

जुनसुकै बैठकमा पनि त्यो उहाँको एक थेगो भएको थियो, ‘भ्रष्टाचारमा शून्य सहनशीलता, लोकतन्त्र र इमानदारितामा कुनै सम्झौता हुँदैन ।’ मुख्य सचिवबाट मलाई हटाउने मात्र होइन, अन्य कतिपयमा लोभ देखाउने, धम्क्याउनेसम्मको विषय आएका थिए । तर उहाँले त्यस्तो प्रवृत्ति रोक्न खोज्नुभयो । कति रोक्नु पनि भयो ।

चोर बाटोबाट पनि कतिपयले फाइदा लिएको समेत पाइयो । म कतिपय मन्त्रीबाट नरुचाइएको व्यक्तिको रूपमा थिएँ । हटाउन पनि प्रधानमन्त्रीलाई दबाब दिइरहेको अवस्थामा विदेशी चासोप्रति बढी नतमस्तक हुनेहरूसम्म पनि उहाँको हप्कीमा पर्थे ।

प्रशासनको सुधार, प्रणालीको विषयमा उहाँ अडिग हुनुहुन्थ्यो । विदेशीसँग कुरा गर्न निकै रमाउने प्रकारको भए पनि खराब बाटोबाट कूटनीतिक र पदीय आचारसंहिता तोड्नेसँग उहाँ सहज देखिनु हुन्थेन ।

नेपालको विषयमा अनर्गल प्रचार गर्ने, संविधान जारीमा असर गर्ने प्रकारको काम गर्ने विदेशीलाई उहाँले बोलाएर समेत हप्काएको उदाहरण छन् । विदेशी भन्ने बित्तिकै लुतुक्क पर्ने नेताहरूले उहाँबाट सिक्न जरुरी छ ।

नेपालीभन्दा अंग्रेजीमा गफ गर्न सहज मान्ने, अंग्रेजी पत्रपत्रिकामा नै बढी चासो राख्ने उहाँ विदेशीले नेपालीलाई हेपेको र असहज पार्न लागेको सहजै अनुमान गर्न सक्नुहुन्थ्यो र त्यस्तालाई तत्काल हप्काउने काम गर्नुहुन्थ्यो । केही संवेदनशील नियुक्तिमा ज्यादै दबाब थेगेका उनले त्यसमा सहजै स्वीकार नगर्ने र अलमल्याएर राख्नेसमेत गर्नुभएको उदाहरण छ ।

कतिपयले उहाँलाई निर्णय क्षमता नभएको भन्दै हिँडेको सुनेको थिएँ । तर कतिपय उनलाई ठिक नलागेको विषय त्यसै राख्नु भनेर ल-ल पर्ख भन्ने गरेको नबुझेर त्यस्तो हल्ला गराइएको हो । कुनै विषयमा उहाँ ‘कन्भिन्स’ भएपछि नछोड्ने स्वभावले नै संविधान जारी गर्नेसम्मको यात्रा तय भएको भुल्न मिल्दैन ।

समग्रतामा उहाँबाट सिक्नलायक गुण धेरै छन् । मान्छेमा केही कमजोरी हुन्छ, सबै व्यक्ति निपुण हुँदैनन् । तुलनात्मक रूपमा स्वच्छ छवि भएका नेता भन्न कुनै हिचकिचाहट मलाई छैन । उहाँको त्यो सरलताको गुणलाई आफ्नो जीवनमा समेत अनुशरण गर्नसके राम्रो हुनेछ ।

पछिल्लो समय सिंहदरबारबाट बालुवाटारमा धेरै बस्न थाल्नुभएपछि धेरै विषय भित्रभित्रै हुनथाले, ती निर्णयमा भने हामी निकै असहजता देख्थ्यौं । यो रोक्न उहाँलाई भेट्न नपाउने र अन्यले ल्याएको फाइल र आधारमा हस्ताक्षर गर्न नसकिने अवस्था थिए ।

त्यस्तो घेरामा समेत पारेर फाइदा लिने झुन्डहरू अझै पनि आसपासमा होलान् । त्यो सबै नेताले बुझ्नुपर्ने मुख्य विषय हो । स्वच्छ छविका उहाँ जस्तालाई समेत धुमिल बनाउने यस्तै झुन्डले हो ।

उहाँ हरेक नागरिकको अधिकारसमेत ख्याल गर्ने र वकालत गर्न खोज्ने व्यक्तिमा दरिनुभएको थियो । तर पनि राम्रै काम गरिरहेको छु भन्दाभन्दै पनि उहाँको सोझोपनको उपयोग पो गरे कि भन्ने मलाई लाग्छ । हुन त त्यो पनि नेतृत्वमा देखिन नहुने एक कमजोरी पक्ष हो ।

उहाँसँग काम गर्दा मतभेद नभएका होइनन् । तर उहाँलाई सम्झाउन र बुझाउन कठिन थिएन । उहाँको लोभलाग्दो सादगी र सोझोपनमा अरु हावी हुने स्थिति आएको थियो । विचारलाई गलत ढंगले प्रभावित पारेको विषय देखेर छोप्नुपर्ने अवस्था धेरै परेको थियो ।

(चन्द्रशेखर अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित : माघ २७, २०७२ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×