२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

घरमै पुर्‍याउँथे सामान

तपाईं कहाँ र कस्तो परिवारमा जन्मनुभयो भन्ने कुराले तपाईको भावी जीवनलाई निर्धारण गर्दैन । तपाईले आफ्नो जीवनमा के गर्नुहुन्छ भन्ने कुरो नै महत्त्वपूर्ण हो । गरिब परिवारमा जन्मेर पनि धेरैले आफ्नो जीवन सार्थक र सफल बनाएका उदाहरण प्रशस्तै भेटिन्छन् ।

घरमै पुर्‍याउँथे सामान

कोहीले त बीचैमा पढाइ छाडेर पनि सफल भएका छन्, विश्वमै आफ्नो र आमाबुबाको नामलाई ख्याति दिलाएका छन् । अझ विश्वका सर्वाधिक धनी र अर्बपतिहरूको कुरा गर्ने हो भने धेरैको पहिलेको जीवनचर्या समस्यै समस्याबाट जुग्रिएको पाइन्छ ।
कोही गरिब पनि कडा परिश्रमले धनी भए । कोही ड्रप आउट भएर पनि आफ्नो कडा लगनशीलता, उद्यमशीलता र व्यापारबाट मनग्ये कमाउन सफल भएका छन् । सफलताको पछाडि दृढ आत्मविश्वास अपरिहार्य छ । स्विडिस व्यापारी इन्गभार क्यामप्राड यस्तै आत्मविश्वासी मध्येका हुन् । उनको जन्म सन् १९२६ मा स्विडेनको दक्षिण क्षेत्रस्थित एउटा सानो गाउँमा भएको हो । सानै उमेरमा उनले आफ्नै साइकलबाट छिमेकीहरूलाई सलाई बेच्ने व्यापार थाले थिए । उनी स्टकहोमबाट होलसेलमा ल्याई कम मूल्यमा घरघरमा बिक्री गर्थे ।
बिक्री धेरै हुने भएकाले आम्दानी पनि बढ्नु स्वाभाविकै थियो । त्यसबाट उनले मनग्ये कमाए । त्यसपछि उनी माछा, क्रिसमस ट्री, सजावटका सामान र बीउबिजनको व्यापारमा सक्रिय भए ।
पछि उनले बल–प्वाइन्ट पेन र पेन्सिलहरूको व्यापार पनि थाले । आफूलाई उनले यतिमै मात्र सीमित राखेनन् । पछि वालेट्स, घडी, गरगहना र स्टकिङ्स सहितका विभिन्न व्यापारसमेत थालेका थिए ।
उनले ‘आइकिया’ बाटै सन् १९६१ ताका न्यूनतम लेबर कस्टमा विदेशमा सस्तोमै फर्निचरहरू निर्यातसमेत गरेका थिए । उनी १७ वर्षको छँदा पढाइसँगै व्यापारमा पनि सफलता हासिल गर्दै गएको भन्दै उनका बुवाले क्याम्प्राडलाई पुरस्कार दिएका थिए । आफ्नो व्यापार र बुबाबाट उपहारस्वरूप पाएको केही रकमबाट उनले आइकिया (आईकेईए) स्थापना गरे । क्याम्प्राडले थालेको सानो व्यापारका क्रममा व्यक्तिगत रूपमा ग्राहरूलाई भेट्ने र सामान बेच्ने गरेकाले उनको दक्षता पनि बढेको थियो । उक्त दक्षता र योग्यतालाई उनले मेल अर्डरमा रूपान्तरण गरे ।
उपभोक्ताले माग गरेका सामानहरू उनले एउटा स्थानीय दूध बोक्ने वाहनबाट घर–घरमा पुर्‍याउन थाले । सस्तोमा समान उपलब्ध गराउने भएकाले उनी ‘सस्तो (चिप) व्यापारी’ का रूपमा चिनिन पुगे । उनी आफ्नो संस्था ‘आइकिया’ का कर्मचारीहरूलाई कागजको दुवैपट्टि लेख्न प्रोत्साहन गर्छन् ।
क्यामप्राडको नाम स्थानीयस्तरबाट विश्वव्यापी त्यस बेला बन्यो, जब एउटा स्विडिस बिजनेस अखबार ‘भेक्कान्स अफारर’ ले सन् २००४ मा उनले विश्वकै सर्वाधिक धनाढ्य बिल गेट्सलाई ‘उच्छिन्ने अवस्थामा पुग्दै गरेको’ समाचार सार्वजनिक गर्‍यो । ‘आइकिया’ विश्वकै सबैभन्दा ठूलो कम्पनी मध्येको एकमा मात्रै दरिएको छैन, अति सफल निजी कम्पनीसमेत बन्न पुगेको छ । ‘आइकिया’ का हाल ३१ मुलुकमा २ सयभन्दा बढी स्टोरहरू रहेका छन् । जहाँसम्म उनको संस्थामा कर्मचारीको संख्याको कुरो छ, हाल ७५ हजारभन्दा बढी कर्मचारी ‘आइकिया’ मा कार्यरत छन् ।
वार्षिक रूपमा १२ अर्बभन्दा बढीको व्यापार पनि छ । फोब्र्स अखबारका अनुसार इन्गभार क्याम्प्राड र उनको परिवार अर्बपतिको सूचीमा ४९७ स्थानमा छ । कुल सम्पत्ति ३ दशमलव ३ अर्ब अमेरिकी डलर (रियल टाइम १५ जनवरी २०१६) रहेको छ । ८९ वर्षीय उनको सम्पत्तिको स्रोत ‘आइकिया’ नै हो ।
 प्रस्तुति : दिनेश यादव

प्रकाशित : माघ २, २०७२ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?