नाकाबन्दीविरुद्ध माओवादीको प्रदर्शन

काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतको नाकाबन्दीविरुद्ध मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । रत्नपार्कबाट नारा, जुलुससहित सुरु भएको प्रदर्शन जमल, कमलादी, पुतलीसडक, प्रदर्शनीमार्ग, सहिदगेट, सुन्धारा हुँदै रत्नपार्कमै फर्केर कोणसभामा परिणत भएको थियो ।

नाकाबन्दीविरुद्ध माओवादीको प्रदर्शन

कोणसभामा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य धमेन्द्र बाँस्तोलालगायतका नेताले नाकाबन्दीको नाममा कालोबजारी र खाद्यवस्तुको कृत्रिम अभाव गर्नेलाई सरकारले कारबाही नगरेको आरोपसमेत लगाएका थिए ।

मानवसाङ्लो प्रदर्शन गरिने
भारतको नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाधीनता अभियान सञ्चालन गरिरहेका सबै मुख्य दलका युवाले मंसिर १४ गते राजधानीमा मानवसाङ्लो प्रदर्शन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पारवहन अधिकारमाथि भारतीय हस्तक्षेपबारे ध्यानाकर्षण गराउन सिंहदरबारदेखि हरिहरभवनस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसम्म प्रदर्शन गर्न लागिएको हो । अपराह्न २ देखि ३ बजेसम्म प्रदर्शन गरिने अभियानका संयोजक ठाकुर गैरेले बताए । उक्त अभियानमा कांग्रेसका गुरुराज घिमिरे, एमाओवादीका हिमाल शर्मा तथा स्वतन्त्र बुद्धिजीवी, कानुन व्यवसायी लगायत संलग्न छन् । उनीहरूले भारतको नाकाबन्दीलगत्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि राष्ट्रसंघका आवासीय प्रतिनिधिसम्मलाई भेटेर ध्यानाकर्षण गराएका थिए । नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको, पारवहन अधिकार उल्लंघन भएकोलगायत विषयलाई उनीहरूले प्रदर्शनका क्रममा ध्यानाकर्षण गराउनेछन् ।


 

प्रकाशित : मंसिर ९, २०७२ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?