१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चीनसँग एमओयू आज

काठमाडौं — चीनबाट इन्धन ल्याउनेबारे आज समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने तय भएको छ। भारतबाट मात्र इन्धन आयात गरिरहेकोमा पहिलोपटक चीनबाट ल्याउनेबारे छलफल गर्न नेपाली टोली बेइजिङमा छ। टोलीका सहभागी अर्थ मन्त्रालयका सहसाचिव मधु मरासिनीका अनुसार मंगलबारबाट औपचारिक छलफल सुरु भएको छ।

‘बुधबार साँझसम्ममा एमओयू हुनेछ,’ मरासिनीले बेइजिङबाट टेलिफोनमा भने। यसपटक एमओयू मात्र हुन लागेको हो। तर एमओयूको आधारमा पनि नेपालले चीनबाट इन्धन ल्याउने व्यवस्था भने हुनेछ। नेपालले तयार पारेको एमओयूको मस्यौदाअनुसार मुलुकलाई आवश्यकमध्ये चीनबाट ३० भन्दा बढी प्रतिशत इन्धन ल्याउने प्रतिबद्धता छ। गत आर्थिक वर्षमा करिब १ खर्ब ३० अर्बको इन्धन खपत भएको थियो। यसै आधारमा सम्झौता भए चीनका लागि नेपाल करिब ४० अर्ब रुपैयाँको बजार हुनेछ। हालसम्म भारतबाट मात्रै इन्धन आयात भइरहेको छ।
भारतले नेपालको संविधानमा असन्तुष्टि जनाउँदै इन्धन आपूर्तिमा भारी कटौती गरी नाकाबन्दी नै लगाएको छ। राजधानीमा खपत हुने करिब ७० प्रतिशत इन्धन आयात हुने रक्सौल नाका महिना दिनदेखि बन्द छ। चीनबाट ल्याउने भनिएको इन्धन पनि हाललाई केरुङ नाकाबाट मात्रै आउनेछ। तातोपानी नाका सुचारु नै भए पनि चीनले कारोबार सुरु गरिसकेको छैन। तातोपानी नाका पनि खोल्न सरकारी टोलीले चीनलाई आग्रह गर्ने नगर्ने खुलेको छैन।
यसैबीच चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइङले नेपाललाई आवश्यक परेको इन्धन दिन तयार रहेको बताएकी छन्। मंगलबार आयोजित नियमित प्रेस सम्मेलनमा उनले छिमेकीलाई आवश्यक पर्दा सहयोग गर्न तयार रहेको बताएकी हुन्। ‘एउटा असल र मित्रवत् छिमेकीलाई आपत् पर्दा उसैको आग्रहमा इन्धन सहयोग गर्न तत्पर छौं,’ उनको भनाइ मन्त्रालयको वेबसाइटमा छ। चीनले हजार टन (करिब १३ लाख लिटर) अनुदानमा इन्धन दिने निर्णय गरेको छ।

प्रकाशित : कार्तिक ११, २०७२ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?