२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दिइयो पद्मश्री

कान्तिपुर संवाददाता

काठमाडौं — गत वर्षको पद्मश्री साधना सम्मान तथा पुरस्कार सोमबार राजधानीमा दिइयो। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष व्यक्तिलाई प्रदान गर्दै आएको साधना सम्मान यस वर्ष महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई र कृतिलाई दिँदै आएको पद्मश्री पुरस्कार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’ र मोहन मैनालीको यात्रा निबन्ध संग्रह ‘माण्ठ डराएको जुग’ लाई संयुक्त रूपमा दिइएको हो।

दिइयो पद्मश्री

‘नेपाली कला साहित्य, रंगमञ्च, सिनेमा र गीतसंगीतको श्रीवृद्धिमा दीर्घसाधना गरी अमूल्य योगदान दिएबापत महजोडीलाई सम्मान गरिएको’ कार्यक्रममा बताइयो। ‘लाटो पहाड’ र ‘माण्ठ डराएको जुग’ लाई चाहिँ नेपाली साहित्यमा वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट कृतिको रूपमा पुरस्कृत गरिएको हो। सम्मान र पुरस्कार दुवैमा सम्मानपत्र र संयुक्त रूपमा दुई–दुई लाख रुपैयाँ छ। 

प्रतिष्ठानका संरक्षक जीवा लामिछाने र उनकी आमा हरिकला लामिछानेले पुरस्कार हस्तान्तरण गरे। एक दशक अघि गणेश रसिकको निबन्ध कृति ‘दशगजामा उभिएर’ लाई पुरस्कृत गर्दै पद्मश्री पुरस्कार सुरु भएको थियो भने पद्मश्री साधना सम्मानचाहिँ पाँच वर्षअघि राष्ट्रकविलाई पुरस्कृत गरिएको थियो। ‘नेपाली भाषा, साहित्य र कला क्षेत्रका साधकहरूलाई यसरी सम्मान गर्न पाउँदा एकदमै गर्व लागेको छ,’ संरक्षक लामिछानेले भने, ‘निष्पक्ष ढंगले पुुरस्कार दिँदा पुरस्कृत व्यक्ति मात्रै हैन, पुरस्कार स्वयं पुरस्कृत हुने रहेछ।’ पुरस्कार प्रक्रियालाई सजिलो र थप व्यवस्थित बनाउन आउँदो वर्षदेखि आवेदन र पुस्तक बुझाउनु नपर्ने गरी प्रतिष्ठान स्वयंले बजारबाट संकलन गर्ने पनि उनले जनाए। 
कार्यक्रममा महजोडीले आआफ्ना अनुभव राखेका थिए। ‘काठमाडौंको पद्मोदय मावि पढ्दा ताका म थुप्रै सिनेमा हलहरूमा चहार्दै हिँड्थें,’ हरिवंश आचार्यले भने, ‘पछि थाहा पाएँ, यसरी पनि मैले कलाका थुप्रै ज्ञान सिकेको रहेछु। आज म यहाँ हुनुमा त्यो ज्ञानको पनि ठूलो देन छ।’ मदनकृष्ण श्रेष्ठले चाहिँ आफूहरू बितेका ३५ वर्षदेखि महजोडीको रूपमा सहकार्य गर्दै आएको बताउँदै सम्मानले सहकार्य र एकताको संस्कृतिलाई बढावा दिन सघाउ पुग्ने बताए। पुरस्कृत स्रष्टा सुब्बाले आफ्नो साहित्यिक उन्नयनमा सिर्जनशील अराजकता अभियानको योगदान रहेको बताउँदै पुरस्कार श्रेय आफ्नै कथाका पात्रहरूलाई दिए। मैनालीले पनि सामान्य पत्रकारिताबाट माथि उठेर गहनतातिर अघि बढ्दाको अनुभव नै आफ्नो पुस्तक भएको दाबी गर्दै द्वन्द्वकालका दिनहरू सम्झे। 
पुरस्कृत पुस्तकमाथि समालोचक राम लोहनीले टिप्पणी गरेका थिए। ‘सुब्बाका कथामा पूर्वी नेपालको समाज, किरात संस्कृति, मिथ र पात्रहरू भेटिन्छन्,’ लोहनीले भने, ‘मैनालीका लेखनमा भने द्वन्द्वको चपेटामा परेका पश्चिम नेपालका पीडित पात्रहरू।’ उनले दुवै किताब मौलिकताको हिसाबले अब्बल रहेको दाबी पनि गरे। २०६३ देखि मोफसलबाट प्रकाशित साहित्यिक कृतिलाई दिइँदै आएको पुरस्कार २०६६ बाट मुलुकभित्र र बाहिरबाट प्रकाशित नेपाली भाषामा लेखिएका कृतिलाई दिन थालिएको हो।

प्रकाशित : कार्तिक १०, २०७२ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?