हाँसीहाँसी बोलूँ भन्दा...

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रगानका रचयिता व्याकुल माइला, चियापत्ता र सब्जी टिपाइमा व्यस्त इलामे गायक कुवेर राई र दार्जिलिङ पहाडकै आडमा चेलाचेलीलाई रियाजमा व्यस्त हुनुपर्ने संगीतकार मणिकमल छेत्री यतिखेर राजधानीको संगम स्टुडियोमा भेटिन्छन् । यी तीन स्रष्टा सबै बाध्यतालाई पन्छाएर गीत, संगीत र गायनका निम्ति एकै थलोमा जुटेका हुन् ।

 हाँसीहाँसी बोलूँ भन्दा...

संयोग जुराएका हुन्, व्याकुल माइलाले । उनको चौथो गीति एलबम ‘आफ्नै भाव, आफ्नै परिवेश’ निम्ति । ‘मूलधारभन्दा धेरै टाढा ओझेलमा रहनुभएका संगीतकार र गायकलाई मैले सम्झिन चाहें,’ माइलाले भने, ‘मेरो अनुरोधलाई दुवै दाजुले स्विकार्नुभयो । र, हाम्रो भेट हुन सकेको छ ।’ हालैको भेटमा यी तीनैजना नयाँ गीतको चर्चा गर्दै थिए–
हाँसी हाँसी बोलूँ भन्दा लागी रह्यो लाज
लाली छँदै भेटूँ भन्दा परी गयो साँझ...
‘हाउ भाइ व्याकुल माइलाको शब्द गजबको लागेको छ हौं,’ पूर्वेली लवजमा संगीतकार छेत्रीले भने, ‘माइलाले मेरो फेसबुकमै गीत पठाएर अनुरोध गर्नुभो । मलाई मन पर्‍यो । उतै धुन गरेर आएँ । अनि कुवेर भाइले गाउनुभाको छ ।’ संयोग भनौं, कुवेरले पहिलो पटक मणिकमलको संगीतमा यो गीत गाउँदै छन् । रसिक स्वभावका संगीतकार छेत्री भन्छन्, ‘हामी मेलोडियसमा बस्ने हो । मैले धर्ममा रहेर आत्मसन्तुष्टिका लागि धुन गरेको छु । कुवेर भाइको स्वरले अजम्बरी बनाएको छ ।’
गायक कुवेरले मुसुक्क हाँस्दै थपे, ‘हौ सर, माइलाको सांगीतिक निम्तो मान्न आएको दस दिन भयो । भुइँचालो गएपछिको यो पहिलो रेकर्डिङ हो ।’ उनले यो बसाइमा माइलाकै शब्दमा दुइटा गीत गाएको सुनाए । एउटा संगीत मणिकमल र अर्कोचाहिं निराश थापा मगरको रहेको जनाए । सुदूर पूर्व इलामको श्रीअन्तुका यी गायक कुवेरले चियाको मुनापत्ती टिप्ने र सब्जी टिप्ने काम छाडेर यता हान्निएको सुनाए । तराई–मधेसको बाटो बन्द रहेपछि हवाई मार्गबाट आइपुगेको जनाए ।
संगीतकार छेत्रीको अरुणा लामाकालमै खोलेको ‘संगीत सदन’ नामको पाठशाला छ । सेप्टेम्बरको चौथो दिने नेपाल टेकेका छेत्रीलाई २७ तारिख भइसक्दा पनि काठमाडौंले नछोडेको सुनाए । ‘हौ, घर बूढीसुढी गुमनाम । अझै जान दिइराखेको छैनन्,’ यसैपालि बाइसवटा जति गीतमा धुन भरेको सुनाउँदै छेत्रीले भने, ‘फेसबुक र इमेलबाट विदेशमा रहनुभएका स्रष्टा भाइहरूको रचनालाई धुन भरेको छु । अबचाहिं तुरुन्तै फिर्छु र दसैंपछि आउनेछु ।’ संगीतकार छेत्री उमेरले ६८ वर्ष र संगीतकर्मले ५२ वर्ष टेकेको सुनाए ।
माइलाले आफ्नो चौथो एल्बमलाई अलिक फरक ढंगले प्रस्तुत गर्न लागेको सुनाए । आफ्नै परिवेशलाई लिएर उनी जन्मेको ओखलढुंगाको हिलेपानी गाउँ, दुधकोसी र सुनकोसीमा डुंगा खियाएको अनुभव मात्र नभई विपत्को बेला जुटेर देशको विकास गर्ने राष्ट्रिय भावनाका गीतहरू प्रस्तुत गरेको जनाए ।
जिन्दगीको पाठशाला तीनपैले डुंगा लाग्छ
दुधकोसी सुनकोसी पवित्र गंगा लाग्छ...
‘ओझेलमा रहेका वरिष्ठ संगीतकार मणिकमल र मखमली स्वरका धनी कुवेर दाइको व्यक्तित्वको लोभले छानेको हुँ,’ माइलाले भने, ‘अर्का पाका संगीतकर्मी अरबिन्द मालाकारले दुई दशकपछि मेरो अर्को गीत गाइदिनुभएको छ ।’ संगीतकार छेत्रीको शब्दमा संगीत कर्ममा धैर्यता आवश्यक छ । चल्तीफिर्तीको संगीत दुईचार वर्षभन्दा बढी टिक्दैन । इतिहास बनाउने कर्ममा चिन्तन चाहिन्छ ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?