२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘ओरेन्टलले सर्वस्व लुट्यो’

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिका–१२, दुवाकोटकी क्षेत्रकुमारी धञ्चाईं श्रेष्ठ १९९० सालको भूकम्प आउँदा ७ वर्षकी थिइन् । सानै उमेरमा विवाह गरी घरबार सम्हालेकी क्षेत्रकुमारीले

‘ओरेन्टलले सर्वस्व लुट्यो’

जीवनको पूर्वाद्र्धदेखि उत्तराद्र्धमा समेत उस्तै पीडा खेप्दै आएकी छन् । जन्मदेखि शारीरिक तथा मानसिक रूपमा अपांगता भएका ५७ वर्षीय (विष्णुभक्त धञ्चाईं) छोराको लालनपालन गर्दै आएकी ८९ वर्षीया क्षेत्रकुमारी घरवारविहीन भएकी छन् ।

बुढेसकालको सहारा एकमात्र सन्तान पनि अपांग भएपछि आफू मरेर गए पनि छोराको भविष्यका लागि भनेर उनले आफ्नो नाममा आएको जग्गा बेचिन् । जग्गाको पैसा उनले ओरेन्टल को–अपरेटिभ लिमिटेड दुधपाटी–१७ स्थित भक्तपुर शाखामा आफ्नो नाममा ११ लाख ६० हजार, छोराको नाममा ११ लाख २० हजार, छोरी र नातिनीको नाममा ४ लाख गरी २६ लाख ८० हजार रुपैयाँ जम्मा गरिन् । ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालकले नागरिकको पैसा खाएर भागेपछि उनीहरूको अवस्था नाजुक बनेको छ । सम्पत्तिको नाममा रहेको घर पनि भूकम्पको धक्काले धरापमा छ । उनीहरू त्यही धराप घरमा बस्न बाध्य छन् ।
क्षेत्रकुमारीका तीन सन्तानमध्ये एक छोरीको मृत्यु भयो । एक छोरी १३ वर्षदेखि बेपत्ता छिन् । उनको बुढेसकालको दरिलो सहारा कोही छैन । बाँकी भएको एकमात्र छोरा पनि अपांग छन् । आफू खान, लगाउन केही गर्न सक्दैनन् । ‘पकाएर दिएको भातसमेत आफैं खान सक्दैन,’ उनले भनिन्, ‘छोराको सबै काम मैले नै गरिदिनुपर्छ, खानेकुरा केही छैन ।’ ‘आफ्नो उमेर ढल्किँदै गयो, काम गर्ने ताकत घट्दै गयो,’ उनले गुनासो गरिन्, ‘गरी खाने ताकत र आउने बाटो केही छैन । क्षेत्रकुमारी अपांग छोरालाई डोर्‍याएर सयौं पटक ओरेन्टलको ढोका ढकढक्याउन पुगिन् तर, उनले सास्ती र दु:खबाहेक केही पाउन सकेकी छैनन् । कलिलै उमेरमा पति गुमाएकी उनले अपांग छोरालाई हुर्काउँदै आइन् । आफ्नो शरीरको ताकत घट्दै गएपछि अपांग छोराको अन्योल भविष्यले सताउने गरेको गुनासो गरिन् । ‘मेरो शरीर कमजोर बन्दै गएको छ, म कत्ति नै बाँच्छु र ?’, उनले प्रश्न गरिन्, ‘यो अपांग छोरालाई कसले हेर्छ भन्ने चिन्ताले रातदिन सताउँछ ।’ आमा–छोरा छिमेकीले दिएको थोरै सहयोगले जीवनयापन गरिरहेको दुवाकोट उपशाखाका सभापति सोम प्रधानले बताए ।
क्षेत्रकुमारी जस्तै ८ हजारभन्दा बढी नागरिकको करिब ७ अर्ब रुपैयाँ खाएर ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेत फरार छन् । भक्तपुर जिल्लामा मात्र २ हजार ८ सयभन्दा बढी नागरिक ओरेन्टल पीडित भएको उनले बताइन् । दु:ख जिलो गरी सुन्दर भविष्य देखेर जम्मा गरेको रकम ओरेन्टलले झाम पारेको उनको गुनासो छ ।


 

प्रकाशित : आश्विन १२, २०७२ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?