१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चुरे विनाशका कारण र समाधान

डा. सुबोध ढकाल

वनजङ्गल फँडानी, बालुवा-गिट्टीको अवैध दोहन तथा जलवायु परिवर्तनको असरले चुरे विनाशलाई बढावा दिइरहेका छन् ।

अहिले नेपालमा चुरे क्षेत्रले संसददेखि सडकसम्म अनि सर्वसाधारणदेखि सरोकारवालासम्म सबैको ध्यानाकर्षण गराएको छ । राष्ट्रपतिले यो क्षेत्रको संरक्षणमा पहल गर्न सरोकार राखेको पनि धेरै भैसक्यो । तर पनि चुरे क्षेत्रको विनाश रोकिनुको सट्टा झन्-झन् तीव्र गतिमा बढिरहेको छ । चुरे विनाशको असर चुरेको पहाडी क्षेत्रमा मात्र नभई योभन्दा दक्षण्िामा रहेको तराई क्षेत्रमा यसको असर झन् बढी परिरहेको छ र भविष्यमा यस्तो असर झन् बढ्ने निश्चित छ । यो विनाशले चुरे र तराईमा बस्ने लाखौँ जनता, कृषयिोग्य जमिन, वन, पानीका स्रोत तथा सम्पूर्ण वातावरण उच्च जोखिममा परेका छन् ।
चुरे विनाशको पहिलो र मुख्य कारण यो क्षेत्रको भौगर्भिक बनोट नै हो । यो क्षेत्र अति नै नयाँ र अति नै कमजोर चट्टानहरूले बनेको छ । अति नै कमजोर र सूक्ष्म माटोका कणहरूबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र बिभिन्न आकारका ग्राभलहरूबाट बनेका कोङग्लोमेरेटजस्ता चट्टानहरू यो क्षेत्रको भूगर्भको मुख्य संरचना हो । यी चट्टानहरू घाम, पानी र अन्य बाहिरी वातावरणको प्रभावबाट सजिलै टुक्रने र कुहिने प्रकृतिका हुन्छन् । यसले गर्दा चुरेका चट्टानहरू धेरै ठाउँमा टुक्रा-टुक्रा भई माटोमा नै परिणत भैसकेका छन् । धेरै ठाउँमा यी चट्टानहरूको माथितिर सतहमा उत्तरी हिमाली भागबाट सुरु भई बगेका खोला तथा चुरेकै माथिल्लो भागबाट सुरु भई बग्ने खहरे खोलाहरूले बगाएर ल्याएका बिभिन्न आकारका ग्राभल, बालुवा र स-साना माटोका कणहरूले ढाकेको छ, जुन वर्षायाममा पर्ने घनघोर वर्षाले सजिलै बगाएर लैजान सक्छ । सारांशमा बुझ्दा चुरेको सतह र गर्भ अति नै कमजोर भैसकेको अवस्था छ । अर्को कुरा चट्टानको बनोट पनि चुरे क्षेत्रभरि उस्तै प्रकारको छैन । एकै ठाउँमा मडस्टोन र स्यान्डस्टोनका पत्रहरू एकमाथि अर्को गरेर बसेका छन् ।
साधारणतया यी दुई चट्टानमध्ये मडस्टोन अति कमजोर र स्यान्डस्टोन त्योभन्दा अलि बलियो हुने कारणले मडस्टोन सजिलै खिइने र टुक्रा पर्ने तर स्यान्डस्टोन तत्कालै टुक्रा नपर्ने हुन्छ । यो प्रक्रियामा स्यान्डस्टोनको बस्ने आधार मडस्टोन पानी पर्दा भूक्षय भई बगेर गएपछि स्यान्डस्टोनको बस्ने जग भत्किन जान्छ र यो पनि पहिरोका रूपमा तल खस्छ । यो प्रक्रियाको अतिरिक्त अति कमजोर चट्टान भएको धरातलमा पानीको निकास पनि अति नै कमजोर भएकाले पानी जथाभावी बग्छ र घनघोर वर्षा हुँदा पानीले ठाउँ-ठाउँमा भूक्षय गरी आफ्नो बाटो आफैं बनाउँछ । केही वर्षासम्मको यस प्रकारको लगातार प्रक्रियाले ठूलो मात्रामा पहिरो जाने र भूक्षय हुने कारणले चुरेको जमिन विनाश हुनगई दक्षण्िा तराईमा बाढीको प्रकोप बढ्ने र ढुङ्गा-माटो थुप्रने प्रक्रिया बढेर गएको छ । यसले गर्दा तराईका लाखौँ जनता जोखिममा परेका छन् भने खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । तराईका कति ठाउँमा त गाउँहरू खोलाको सतहभन्दा धेरै तल परिसकेको अवस्था छ, जसले बाढीको जोखिम झन् बढेर गएको छ ।
अहिले भैरहेको सडक निर्माण प्रक्रियाले चट्टान टुक्रने, खिइने र भूक्षय हुने प्रक्रिया झन् बढेर गएको छ । द्रुतमार्गका लागि खनिएका सडक संरचनाहरूबाट ठाउँ-ठाउँमा थुप्रै पहिरो गएका छन् भने यस्ता पहिरोको उच्च जोखिममा रहेका भूभागहरू प्रशस्तै छन् । कति ठाउँमा पहिरोको कारणले खोलाहरू थुनिएका छन् भने यस्ता घटनाहरू अझै बढ्न सक्ने वैज्ञानिक अधारहरू छन् । पहिरोले थुनिएका खोलाहरूबाट दक्षण्िा तराईमा बाढीको जोखिम बढेको छ । यो सम्पूर्ण प्रक्रियामा वनजङ्गल फँडानी, बालुवा-गिट्टीको अवैध दोहन तथा जलवायु परिवर्तनको असरले चुरे विनाशलाई अझै बढावा दिइरहेका छन् । बाढी, पहिरो र भूक्षय बाहेक चुरे क्षेत्रमा पाइने जैविक विविधतामा पनि चुरे विनाशले नकारात्मक असर पारिराखेको छ ।
चुरे विनाशका यी सबै कारण थाहा पाइसकेपछि यो विनाशलाई रोक्न गर्नुपर्ने कामबारे जान्नु र त्यही अनुसार काम गर्नु जरुरी हुन्छ । चुरे क्षेत्रको भूगर्भलाई हामी परिवर्तन गर्न सक्दैनौँ, तर यसलाई कमजोर बनाउने बाहिरी वातावरणलाई हामीले वैज्ञानिक तरिकाबाट धेरै हदसम्म आफ्नो नियन्त्रणमा राख्न सक्छौँ । सर्वप्रथम सम्पूर्ण चुरे क्षेत्रको जमिन विनाशको मापन गरी अति जोखिममा रहेका जमिन छुट्याई विनाश न्युनीकरण कार्यक्रमहरू प्राथमिकतासाथ लागु गर्नु जरुरी छ । अन्य स्थानहरूमा पनि यी कार्यक्रमहरू विस्तारै कार्यान्वयन गर्दै लैजानुपर्छ । चुरे बचाउन गर्नुपर्ने सुरुवाती कार्यक्रमहरूमा चुरे क्षेत्रमा भएका प्राकृतिक स्लोप -भीरहरू) र मानव सिर्जित स्लोपहरूमा पानी निकासका लागि वैज्ञानिक निकास नालाहरू बनाउनु जरुरी छ । यसले गर्दा भीरमा जथाभावी पानी बगेर चट्टान टुक्रने, खिइने र भूक्षय हुने प्रक्रियामा कमी आउँछ । यसो गर्दा भीरमा भएका माटो र चट्टानबाट पानी छिरी उत्पन्न हुने अतिरिक्त चापमा कमी आई पहिरो जाने क्रम घट्छ । अर्को महत्त्वपूर्ण कुरा हामीले बनाउने सडक संरचनाहरू अति वैज्ञानिक र प्राविधिक हिसाबले दुरुस्त हुनु जरुरी छ । चुरे क्षेत्रको चट्टानी भीरमा खनिएका सडक मार्गका अनेक ठाउँमा पहिरो र भूक्षयको समस्या विकराल छ । अब यस्ता सडकहरू खन्दा पहिरो जान नदिन खनिएका स्लोपको डिजाइन वैज्ञानिक हुनु जरुरी छ । कम्तीमा पनि स्लोपको उचाइ कति राख्नुपर्ने र कति डिग्रीमा स्लोप काट्नुपर्ने भन्ने कुराको राम्ररी लेखाजोखा गरी पानी निकासका वैज्ञानिक संरचनाहरू सँगसँगै बनाउनु जरुरी छ । यो भन्दा पहिला खनिएका सडक संरचनामा पनि तुरुन्तै यस अनुसारको स्लोप डिजाइन र पानी निकासका संरचनाहरू बनाइहाल्नु जरुरी छ, नभए सडक त भत्कियो-भत्कियो, पहिरो र भूक्षयको प्रकोप बढ्नगई चुरे झन् विनाश हुने निश्चित छ । त्यस्तै जोखिममा रहेका चट्टानी स्लोपहरूमा सम्भावना हेरी 'रक बोल्टिङ' गरी ढुङ्गाका 'स्ल्याब'हरू चिप्लिएर खस्ने प्रक्रियालाई घटाउन सकिन्छ । निकास नाला, स्लोपलाई थाम्न बनाइने रिटेनिङ वाल र ढुङ्गा-माटो सुहाउँदो वनस्पति वृक्षरोपणको एकीकृत रूप बायोइन्जिनियरिङलाई पनि कार्यान्वयन गर्नुपर्छ ।
भिरालोपन घटाउन स्लोपको ठाउँ-ठाउँमा बेन्चिङ गर्नुपर्छ । साथै खोलाको कटान धेरै हुने स्लोपहरूमा कटान हुने ठाउँ पहिचान गरी ढुङ्गा भरिएको तारजाली -गेबिन वाल) अथवा ठूलठूला ढुङ्गाका बोल्डरहरू थुपारी खोलाको कटान गर्ने शक्ति घटाउनुपर्छ । त्यस्तै वनजङ्गल फँडानी भई नाङ्गिएका ठाउँमा स्थानीय माटो सुहाउँदो वृक्षरोपण गरी वनजङ्गल जोगाउनु जरुरी छ । यसले जैविक विविधता प्राकृतिक रूपमा कायम राख्न सहयोग गर्छ । साथै अनियन्त्रित रूपमा भैरहेको बालुवा-गिट्टी दोहनलाई तुरुन्तै रोकी यसलाई वैज्ञानिक ढङ्गबाट चलाउनु जरुरी छ । ढकाल भूगर्भशास्त्र विभाग, त्रिचन्द्र क्याम्पसका उपप्रध्यापक हुन् ।

प्रकाशित : वैशाख २६, २०७१ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?