पर्यटन क्षेत्रमा गुरुयोजना कार्यान्वयन भएन

खगेन्द्र अवस्थी

बैतडी — पाँच वर्षअघि बनाएको गुरुयोजना अनुसार काम नहुँदा जिल्लाका महत्त्वपूर्ण पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।


अन्य क्षेत्रमा वर्षेनी करोडौं रुपैयाँ खर्च हुने गरे पनि पर्यटन क्षेत्रको विकासमा थोरै मात्र बजेट विनियोजन हुने गरेको छ । भएको बजेट पनि राजनीतिक पहुँच र स्वार्थका आधारमा खर्च गरिँदा प्रचुर सम्भावनायुक्त पर्यटकीय क्षेत्रको विकास हुन नसकेको स्थानीयको आरोप छ । जिविसले लाखौं खर्चेर बनाएको 'पर्यटन गुरुयोजना' कागजमै थन्किएको छ । २०६७ सालमा ७ लाख ५० हजार खर्चेर जिल्लाको पर्यटन गुरुयोजना बनाएको थियो ।
गुरुयोजनामा पर्यटकीय सम्भावना भएका क्षेत्र पहिचान गरी त्यसमा पूर्वाधार विकास र प्रचार प्रसार गर्न आवश्यक देखाएको छ । विकास बजेटमा राजनीतिक भागबन्डाले सार्वजनिक महत्त्वका योजना प्राथमिकतामा नपरेको गुनासो छ । बैतडी धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन सकिने सम्भावना भए पनि त्यसअनुसार लगानी भएको छैन । 'दलका कार्यकर्ताले आफू अनुकूल बजेट विनियोजन गराएर पर्यटकीय क्षेत्र विकास भन्दै योजना बनाउँछन्' भटना गाविसका गौतम भट्टले भने, 'सामरिक महत्त्व भएका क्षेत्रको विकास हुन सकेको छैन ।'
पाताल भूमेश्वर गुफा, धौलकाडा क्षेत्र, कोटपेटरा, रौलेश्वर लगायतका ५ दर्जनभन्दा बढी पुरातात्त्विक र प्राकृतिक पर्यटकीय सम्भावना बोकेका स्थल संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।  
जिविसले सतबाज श्रीभावर सडक र पाताल भूमेश्वर गुफालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सुरुवात गरे पनि योजना अनुसार काम हुन सकेको छैन । गत वर्ष जिविसले ८ वटा मन्दिरमा पूर्वाधार निर्माण र मर्मत बापत १० लाख खर्च गरेको थियो ।
उक्त रकम आवश्यकता भन्दा पहुँचका आधारमा वितरण भएको स्थानीयको आरोप छ । यीमध्ये गुरुयोजनामा परेका रौलाकेदार र ईश्वरीगंगामा ३ लाख लगानी भएको थियो । थोरै बजेटका कारण प्रभावकारी काम हुन नसकेको जिविसको दाबी छ ।

प्रकाशित : वैशाख २५, २०७१ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?