विकास निर्माण- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास निर्माण

तरकारी संकलन केन्द्र कि शौचालय !
भवानी भट्ट

दोधारा (कञ्चनपुर) — महाकाली पारिको दोधारा ३ मा ८ वर्षअघि निर्माण गरिएको तरकारी संकलन केन्द्रको भवन प्रयोग नभई जीर्ण भएको छ ।

निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन नसकेपछि संकलन केन्द्र स्थानीयको शौचालय बनेको छ ।
कृषि हाटबजार सञ्चालन गर्ने उद्देश्यका साथ २०६२ मा निर्माण गरिएको उक्त भवन स्थानीय र जिल्ला कृषि विकास कार्यालयका लापरबाहीका कारण प्रयोगमा आउन नसकेको हो । भवन प्रयोगमा नआउँदा भवनका छानामा लगाइएका टिनसमेत उड्न थालेका छन् । 'निर्माण गरेपछि कसैले पनि संरक्षणतर्फ चासो नै देखाएनन्' दोधाराका स्थानीय सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्र क्षत्रीले भने, 'एक कट्ठा जमिन र भवन त्यत्तिकै अलपत्र परी बेवारिसे भएको छ ।'
उनले हाटबजार नहुँदा दोधाराका कृषकले उत्पादन गरेको तरकारी टाढा-टाढा लगेर बेच्नुपरेको बताए । पछिल्लो समय दोधारामा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या निकै बढेको छ । कतिपय कृषकले समूह गठन गरेर तरकारी खेती गरिरहेका छन् ।
जिल्ला कृषि विकास कार्यालय बजार प्रवर्द्धन शाखाको सहयोगमा शान्तिनगर हाटबजार व्यवस्थापन समितिले उक्त भवन निर्माण गरेको थियो । भवन निर्माण समितिका सचिव विशनबहादुर मानन्धर पनि हाटबजार व्यवस्थापन समिति निष्त्रिmय बनेको र कृषि विकास कार्यालयले कुनै चासो नदेखाएकाले भवन प्रयोग नभई जीर्ण बन्ोको बताए ।
निर्माण समितिका सचिव मानन्धरले दिएको जानकारी अनुसार उक्त भवन एक कट्ठा जमिनसहित ६ लाख ३८ हजारमा निर्माण भएको थियो । '४ लाख ८४ हजार बजार प्रवर्द्धन शाखाले कृषि विकास कार्यालयमार्फत उपलब्ध गराएको थियो' उनले भने, 'बाँकी करिब २५ प्रतिशत रकम समितिकै पदाधिकारीले लगानी गरेका छौं ।' उनले समितिकै पदाधिकारीले असहयोग गरेपछि आफूले समितिबाट राजीनामा दिएको बताए । 'तरकारी संकलन केन्द्र सञ्चालनका लागि पटक-पटक साधारणसभा बोलाउँदा पनि कोही पनि उपस्थित नभएको उनले बताए । 'अहिले के भइरहेको छ, मलाई पनि थाहा छैन,' उनले भने ।
कृषि सेवा केन्द्र दोधाराका प्रमुख गंगादत्त जोशी पनि कृषि विकास कार्यालय र स्थानीयकै लापरबाहीका कारण उक्त भवन प्रयोगमा आउन नसकेको बताउँछन् । 'कृषि कार्यालयले पनि कुनै चासो राखेको छैन' उनले भने ।

प्रकाशित : पुस १६, २०७० ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

माधव अर्याल

काठमाडौ — ८३ वर्षअघि निर्माण भएको पाल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

१ सय ७५ महिला पुरुष राख्ने क्षमता भए पनि अहिले ३ सय ७९ जना राखिएको छ । पुरुष बन्दीगृह १२ र महिला बन्दी गृह ४ रहेको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा राखिँदा खानेपानी, शौचालय र सुत्ने स्थानको व्यवस्थापन गर्न कठिनाइ हुने कारागारका नाइके कमल श्रेष्ठले बताए । उनका अनुसार पहाडी जिल्ला र हावापानी राम्रो भएकाले पनि तराईका जिल्लाबाट बढी कैदीबन्दी सरुवा भएर आउने गर्छन् । २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीले जिल्ला आक्रमण गर्दा कारागारका केही भवनमा समेत क्षति पुगेको थियो । सामान्य मर्मत गर्नुका साथै कतिपय भवनमा टेका लगाएर राखिएको अवस्थामा कैदीबन्दी व्यवस्थापन गर्न समस्या हुने श्रेष्ठले बताए ।
कारागारमा खानेपानीको वर्षौंदेखिको समस्या छ । भवनको भौतिक अवस्था कतिबेला ढल्ने हो भन्ने छ । धेरै कैदीबन्दी हुंँदा शौचालय व्यवस्थापन गर्न कठिन छ । महिला बन्दीगृह तीन वर्षअघि निर्माण भए पनि अहिलेसम्म प्रयोगमा आएको छैन । कारागार प्रमुख धीरेन्द्र पन्तका अनुसार भवन जीर्ण भए पनि व्यवस्थापन गरेर कैदीबन्दीलाई राखिएको छ । उनका अनुसार भौतिक सम्पत्तिको संरक्षण गर्न कठिन छ । कारागार क्षेत्रको बाहिरी कम्पाउन्ड वाल बनेको छैन । कारागार परिसरमै सार्वजनिक बाटो छ । पुरुष बन्दीगृह बनाउने ठेक्का भएको म्याद गुजि्रँदासम्म काम अघि बढ्न सकेको छैन । 'खानेपानी, विद्युत्, सावरी, स्वास्थ्य, सडक जस्ता विषयमा बारम्बार समस्या आउनाले समष्टिगत व्यवस्थापन र सुरक्षालाई नै चुनौती रहेको छ,' उनले भने, 'जीर्ण भवनको मुद्दा सधै आइ नै रहेको छ । जसले गर्दा अहिलेसम्म समाधानको लागि पहल भए पनि पूर्ण भइसकेको छैन ।'
कारागार सुधारको लागि आफूले लेखी पठाएको र विभागबाटै थप सुधारको पहल हुनुपर्ने उनले बताए ।
जिल्ला कारागारका बन्दीगृह जीर्ण भएका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने खतरा छ । अनौपचारिक क्षेत्र सेवा केन्द्रले आयोजना गरेको सार्वजनिक कार्यक्रममा समेत जिल्ला कारागारको अवस्थाबारे राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजले चिन्ता जाहेर गरेका थिए । 'कारागारको जीर्ण अवस्थाप्रति कसैको पनि ध्यान गएको देखिएन,' इन्सेक प्रतिनिधि माधव बस्यालले भने, 'क्षमताभन्दा अधिक र अमानवीय ढंगबाट त्यहाँ कैदीबन्दी राखिएको छ । सरोकारवालाले बेलैमा बुझ्नुपर्छ ।'
भवन निर्माण नभएको पनि होइन । तर, निर्माणाधीन कारागारभन्दा पनि घर बनेको छ । जसले गर्दा अहिलेसम्म पटकपटक सुधार्दै लगे पनि कैदीबन्दी स्थानान्तरण गर्न कारागार प्रशासनले सकेको छैन । 'महिला बन्दीगृह बनेको तीन वर्ष भइसकेको छ तर, अहिलेसम्म सारिएको छैन' कांग्रेस जिल्ला सचिव माधव नेपालले भने, 'यसले गर्दा पनि पुरानै र जीर्ण भएको कारागारमा कैदी बन्दी राख्नुपरेको छ । यस विषयमा पटकपटक सर्वदलीय बैठकमा कुरा पनि उठेको हो ।' उनले तत्कालै महिला बन्दीलाई नयाँ भवनमा सारेर कारागारको अर्को भवन बनाउने ठेक्का कार्यान्वयन गर्नुपर्ने बताए । कारागार भवन बनाउने ठेक्काको म्याद सकिएको छ । नवनिर्मित महिला बन्दी गृहमा कैदीबन्दी सार्न नसकेकै कारण अर्को भवन बनाउन नसकेको हो ।  
एमाले जिल्ला उपाध्यक्ष देवीप्रसाद बस्यालले पुरानो भवन अत्यन्तै जीर्ण भएकाले तत्काल नयाँ भवन निर्माणतर्फ ध्यान दिनुपर्ने बताए । राज्यको जिम्मामा भएका बन्दीले भोगेका समस्याका विषयमा पटकपटक कुरा उठे पनि केन्द्रीय कारागार विभागले जिल्लाका गुनासा नसुनेको बताए । 'भवन बनाउने ठेकेदारले गल्ती गरेको हो भने, त्यसलाई कारबाही हुनुपर्छ,' उनले भने, 'सुरुमै भवन डिजाइन गर्दा जेल नभएर घरको भएको हो भने पनि त्यही अनुसार कारबाही अगाडि बढाउनुपर्छ ।'
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बनेको भवनको प्रयोग अब आउने र तत्कालै नयाँ भवन निर्माणको काम सुरु हुने
बताए । 'बन्दीगृहको डिजाइन गर्दा प्राविधिक रूपले गल्ती भएको हो,' उनले भने, 'अहिले सुधारिएको छ । केही समयभित्रै महिलालाई नयाँ भवनमा सारेर अर्को भवन बनाउने काम अघि बढ्छ ।'
महिला ६६ र पुरुष ३ सय ८ साथै ५ जना बालबालिका गरी अहिले कारागारमा ३ सय ७९ जना कैदीबन्दी छन् ।
 

प्रकाशित : पुस १६, २०७० ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×