१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

कलाकारको मतदान अनुभव "संविधान बनोस्, शान्ति छाओस्"

काठमाडौ — राष्ट्र नै संविधानसभा निर्वाचनमा होमिएको बेला कलाकार पनि आफ्ना कामकाज थन्क्याएर मतदानमा सरिक रहे ।

मंगलबारको चुनाव कतिपय कलाकारलाई महिनादिनदेखि नै लाग्यो भने कतिपयले केवल मत जाहेर गरे । केही कलाकार प्रत्यक्ष र समानुपातिक उमेदवारमा पनि रहेकाले यसपालिको चुनावले कलाक्षेत्रमा पनि राम्रै प्रभाव देखायो । रेखा थापा, भुवन केसी जस्ता गनेचुनेका कलाकार खुलेरै पार्टीको झन्डामुनि गोलबद्ध भए । केही कलाकार भने व्यक्तिका लागि भोट माग्न सरिक रहे । नायिका पि्रयंका कार्कीले आफ्नो फेसबुक पेजबाट आफ्नो क्षेत्रका उम्मेदवार गगन थापालाई भोट दिने जगजाहेर गरिन् । खुलेरै गगनको पक्ष लिएकी नायिका कार्कीले सकारात्मक परिवर्तनका लागि भोट हाल्ने आफ्नो चाहनालाई फेसबुकमार्फत् व्यक्त गर्दै विश्वस्त पार्न सक्नेलाई  मत दिने पहिल्यै खुलाएकी थिइन् । केही दिनअघि नै पनि उनले गगनको चुनावी भाषणको भिडियो क्लिप नै सेयर गर्दै लेखेकी थिइन्, ँदेशले खोजेको मान्छे हो उनी । बुढा र बुद्धिमानले नै देशलाई नेतृत्व दिन्छन् भनेर धेरै हेरियो तर असफल भइयो । अब युवा पुस्तालाई हेर्ने बेला आएको छ ।’ पि्रयंकाले आफ्नो मत सार्वजनिक गरे पनि धेरै कलाकार भने खुल्न चाहेनन् । बरु उनीहरूले राष्ट्रिय राजनीतिलाई चासोमा राख्दै समयमै देशमा संविधान आउने आशामा भोट हाल्न गएको अनुभव साटेका छन् ।

राजेश हमाल अभिनेता
भोटको अनुभव असाध्यै राम्रो रह्यो । सिस्टम्याटिक थियो । मैले मतदान गरेको केन्द्रमा शान्तिपूर्ण वातावरण थियो । मतदातामा पहिलेको भन्दा यसपालि बढी उत्साह देखेको पाएँ । र, चनाखो पनि लाग्यो । सायद मिडियाको सक्रियताका कारण पनि होला, राजनीतिक चेतना बढेको लाग्यो । त्यस केन्द्रका निर्वाचन आयोगका कर्मचारीले मतदानको कास्टिङ नै म बाट गर्न चाहेका थिए । तर म नै ढिलो पुगें । भोट हाल्दा निर्धक्कका साथ खसालें । मत दिनलाई त्यस्तो निर्विकल्प उम्मेदवार त कोही थिएन तर भएकामध्येबाट एकलाई छानेको हुँ । म कुनै पार्टी विशेषको मान्छे नभएकोले पनि हाम्रोभन्दा राम्रोलाई हाल्ने प्रयास गरें । अब दल र नेताले पहिलेको गल्ती हेरेर सुधार्नुपर्छ । सहमतीय संस्कार राख्नुपर्छ । सहमति दुवै पक्षबाट हुनुपर्छ । सहमतिको नाममा लुछातानी हुन पुग्यो भने दुर्भाग्य हुनेछ । राष्ट्र र जनतालाई अग्रगामी रूपमा हेरेर निकास दिनै पर्छ ।

केकी अधिकारी
अभिनेत्री
हिजोसम्म त एक्साइटेड थिएँ । तर आज भोट हाल्नुअघि घरदेखि नै नर्भस बनें । खासमा यो मेरो पहिलो मतदान भएर पनि होला । एकदम दायित्वबोध भयो । यो केवल भोट मात्रै थिएन । सही मान्छे छान्न सकुँ भनेर प्रार्थना गरेकी थिएँ । यसपालिको सभाले संविधान देओस् भनेर राम्रो गर्न नसके पनि नराम्रो नगर्ने ठानेको पार्टीलाई भोट दिएँ । निर्णय क्षमता भएको त छँदै छ आफ्नो निर्णयमा सबैलाई चित्त बुझाउन सक्ने, सबै जनता र देशको हितका लागि काम गर्ने व्यक्तिले संविधानसभामा प्रतिनिधित्व गरोस् । अनि सबैको क्षेत्र, लिंगको समान प्रतिनिधित्व होस् ।

जीवन लुइँटेल अभिनेता
भोट हाल्न जाँदा आज रमाइलो लाग्यो । खुसी लाग्यो, गर्व
लाग्यो । पहिले भोट हाल्दाभन्दा यसपालि उत्साह लाग्यो । जनलहर उर्लिएको बेलामा आफू पनि सहभागी हुन पाउँदा खुसी छु । जनताले शान्तिपूर्ण निकास र संविधान चाहेको प्रस्टै देखियो । फुटबल वा क्रिकेट हेर्दा देखिनेजस्तो राष्ट्रिय भावना यसपालि चुनावमा देखियो । संविधानका लागि अन्यत्र पनि पटक-पटक चुनाव भएका छन् रे । हामी पनि राजनीतिक अस्थितरतामा गुजि्रएको अवस्थामा नेता र दलका पहिलेका गल्ती बिर्सिदिएर एकचोटिलाई छोडिदिएका हौं । आशा छ, अब मत खेर जाने छैन । राष्ट्रलाई माया गर्ने व्यक्ति आउनेछन् । ऊ संसद् भवनमा निदाउने छैन । समयमै संविधान बनोस् । शान्तिसुरक्षा कायम होस् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै सुचारु होस् । राजनीतिक अन्योल नहोस् । विकासको लहर छाओस् । जनताका आकांक्षा समेटिएको संविधान बनोस् ।

माल्भिका सुब्बा
अभिनेत्री
यो मेरो दोस्रो मतदान हो । झन्डै डेढ घन्टा लामो लाइन लागेर भोट खसालें । संविधान जसले बनाउँछ र देशलाई सोचेर जसले काम गर्छ जस्तो लाग्यो उसैलाई मत दिएँ । उसले नयाँ नेपालका लागि, युवाहरूका लागि अनि मानवअधिकारका लागि काम गरोस् भन्ने मेरो इच्छा छ । खासमा यो संविधानसभा निर्वाचन भएकोले मैले व्यक्तिलाई भन्दा दललाई र तिनका एजेन्डा हेरेर मत खसालेकी हुँ । अब संविधानमार्फत् देश धार्मिक खिचातानीमा भन्दा पनि संघीयतामा जानुपर्छ । काठमाडौंलाई मात्रै बनाएर नेपाल बन्दैन । संघीयताले देशलाई बनाउँछ । पूरा गाउँ-गाउँमा विकास गर्छ । म भोट
खसाल्दाभन्दा पनि नतिजा कस्तो आउँछ भन्नेमा बढी नर्भस छु । डर लागिरहेको छ । बम पड्किएका घटना वा आन्दोलनका कारणले बरु नर्भस भइनँ । अहिले युवाहरूमा धेरै प|mस्टेसन आइसकेको छ ।
अब पनि नेताले काम गरेनन् भने धेरै नेपाल छोडेर जाने डर छ ।

गजित बिष्ट अभिनेता
देशलाई निकास दिन र विकासका लागि संविधान सभाको निर्वाचनमा फेरि भोट हाल्नुको विकल्प थिएन । देशलाई अग्रगामी दिशा दिएर लान पनि नेताहरूलाई फेरि एकचोटि मौका दिउँ न त भन्ने सोच आयो र भोट हालें । अलिकति भए पनि देश र जनताको बारेमा सोच्ने व्यक्ति नै संविधानसभामा
पुगोस् । संविधान बनाउलान् भनेर फेरि पनि विश्वास त छैन तर विकल्प पनि खोइ त ? तर अब त नेताहरूका लागि पनि यो अन्तिम मौका हो । मलाई पार्टीको सरोकारले भन्दा संविधानको लागि भोट हालेको हुँ । त्यसैले हरेक पार्टीबाट राम्रा-राम्रा मान्छेले जितून् भन्ने सोच छ ।

नीता ढुंगाना अभिनेत्री
हेटौंडाबाट भोट हालें । दिउँसो गएर हालेकीले लाइन लाग्नु परेन । यता शान्तिपूर्ण भएकाले भोट हाल्न जान कुनै डर लागेन । बरु खुसी लाग्यो । यो मेरो पहिलो मतदान हो । पहिले नाम दर्ता भएको थिएन । संविधान यसपालि बन्दिए हुन्थ्यो भन्ने लाग्छ । आज एकातर्फ चुनाव भएकोमा खुसी पनि लाग्यो अनि जताततै बम पड्किएर घाइते भएका दृश्य हेर्दा दिक्क पनि लाग्यो । अब फेरि पनि पछि
गएर झगडा नहोस्, विद्रोह नहोस् भन्ने लागेको छ । मैले आफ्नै स्वविवेकले भोट हालें । सबभन्दा महत्त्वपूर्ण कुरा संविधान बन्नु पर्‍यो । देशमा शान्ति हुनुपर्‍यो । सबै दल मिल्नुपर्‍यो र मात्रै संविधान
बन्छ । शान्ति आउँछ । संविधानमा के-कस्ता कुरा हुनुपर्छ भन्ने त मलाई थाहा छैन । भर्खर २२ की त भएँ । बुझ्दै छु, सिक्दै छु । हेर्दै छु । देशमा शान्ति हुनुपर्छ अनि कानुन हुनुपर्‍यो । भित्री कुरा मलाई थाहा छैन । अहिले त जसले जे गरे पनि भएको छ । कानुन नै छैन जस्तो भएको छ ।

प्रकाशित : मंसिर ५, २०७० ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?