दार्चुला — अपीहिमाल गाउँपालिकाको प्रवेश मार्ग पारिबगर–खण्डेश्वरी सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । पहिरोका कारण सडक भासिँदा अपीहिमालका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
वर्षात्का कारण मार्मा गाउँपालिका–१ रबादेमा सडक भासिएर अपीहिमाल जोड्ने मार्ग अवरुद्ध हुन पुगेको स्थानीय शोभानसिह लोथ्यालले बताए । यसले यहाँका स्थानीयलाई आवतजावतमा समस्या भोग्नुपरेको छ ।
‘रबादेमा पहिरोले ३० मिटर जति सडक पुरेको छ,’ उनले भने, ‘साउन २५ गते माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।’ चार दिनसम्म सरोकार निकायले अवरुद्ध सडक सुचारु गर्न चासो देखाएको छैन । सडकको पहिरो हटाइ सूचारु गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नगएकोप्रति स्थानीयबासीले आक्रोश पोखेका छन् ।
सडक अवरुद्ध हुँदा अपीहिमाल गाउँपालिकाका भरिको आवतजावतमा समस्या आएको छ । सडक अवरुद्ध भएपछि मानिसहरु पैदल हिड्नुपर्ने बाध्यता आइलागेको अपीहिमाल गाउँपालिका–५ का लोकेन्द्र लोथ्याले बताए । उनले पैदल हिड्नुपर्दा निकै दुःख भोग्नु परेको छ । सडक माथिबाट ढुङ्खा खस्ने हुँदा जोखिम मोलेर स्थानीयहरु आवतजावत गर्न बाध्य भएको उनको भनाइ छ ।
स्थानीय शोभानसिंहका अनुसार पहिरो खसेको ठाउँदेखि तीन घण्टा पैदल हिडेर मकरिगाड पुगिन्छ । सडक अवरुद्ध हुँदा उक्त ठाउँमा कुनै पनि सवारीका साधनहरु चल्न नसक्दा अपीहिमाल गाउँपालिकाका नागरिकलाई अत्यावश्यक समान ढुवानी तथा बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या सिर्जना भएको छ ।
पहिरोसँगै ठुल–ठुला ढुंगाहरु खसेर सडक अवरुद्ध भएको छ । अपीहिमालका ६ वटै वडाका मानिसहरु यो मार्ग प्रयोग गरेर आफ्नो गाउँघरमा जानुपर्ने भएपनि सरोकारवाला निकायले सडक सुचारु गर्नतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ ।
प्रकाशित : श्रावण २८, २०८१ १७:३५