कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बजेट सक्न सडकको कालोपत्र उप्काएर ग्राभेल 

श्रावण २६, २०८१
बजेट सक्न सडकको कालोपत्र उप्काएर ग्राभेल 

Highlights

  • कालोपत्र उप्काएकै माथि ग्राभेल गर्न खोज्दा विवाद, स्थानीयबासीले रोके काम

कञ्चनपुर — बेदकोट नगरपालिका–७ सुडा बजार क्षेत्रमा तीन दिनअघि सडकको कालोपत्र उप्काउने काम सुरु भयो । शनिबार त्यसैमाथि ग्राभेल गर्न थालियो । सामान्यतया कालोपत्र उप्काएपछि माथिल्लो भागमा प्रयोग भएको सबै सामग्री हटाउनुपर्छ । तर यहाँ उक्त सामग्री नहटाएरै ग्राभेल गर्न थालेको भन्दै स्थानीयले काम रोकेका हुन् । 

सुडा बजार क्षेत्रमा २ सय ७५ मिटर सडक कालोपत्रका लागि नगरपालिकाले ठेक्का सम्झौता गरेको हाे । सोही सम्झौताअनुसार साउने झरीमा कालोपत्र उप्काएर त्यसैमाथि ग्राभेल गर्ने काम भइरहेको हो ।

‘यहाँ राम्रै पिच थियो, त्यो उप्काएर माथिको गिट्टी नहटाएर त्यसैमाथि ग्राभेल गर्न थालियो,’ जयराज पन्तले भने, ‘यो बर्खामा कालोपत्र उप्काइयो, अनि हटाउनुपर्ने सामग्री नहटाएरै काम गरिँदैछ, हामीले त्यो काम रोकेका छौं ।’ उनका अनुसार सुडा बजार क्षेत्रमा एक/दुई ठाउँमा मात्रै खाल्डाखुल्डी थिए ।

शनिबार बिहान निर्माण कम्पनीले ग्राभेल गर्न थालेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले उप्काएको सामग्री हटाएर मात्रै ग्राभेल हाल्नुपर्ने माग गरेका छन् । ‘कालोपत्र सडक त छँदैथियो, अब त ड्रेनसहितको सडक बनाउनुपर्ने हो,’ अर्को स्थानीय गणेश अवस्थीले भने, ‘सामान्यतया सडक उप्काएपछि त्यहाँको सामग्री हटाइन्छ, तर यहाँ नहटाएरै काम हुँदैछ ।’

बेदकोट नगरपालिकाले सुडा बजार क्षेत्र र केही माथि महाकाली सिंचाइ आयोजनाको नहर आसपासको क्षेत्रमा गरी ५ सय ५० मिटर सडक कालोपत्रका लागि असार १९ मा मा त्रिपुरा सुन्दरी निर्माण सेवासँग ४५ लाखमा ठेक्का सम्झौता गरेको हो ।

संघीय सरकारको सशर्त अनुदान अन्तर्गतको बाँकी रहेको बजेटबाट उक्त ठेक्का सम्झौता भएको हो । उक्त बजेट फ्रिज भएपछि अहिले नगरपालिकाले आफ्नै लगानीबाट उक्त सडक बनाउने निर्णय गरेको छ ।

‘नगरपालिकाको रिङरोड सडकका लागि बजेट आएको हो, बचेको बजेट पनि त्यही क्षेत्रमा खर्च गर्ने गरी ठेक्का सम्झौता भएको हो,’ बेदकोट नगरपालिकाका इन्जिनियर पवन विष्टले भने, ‘ढिलो गरी ठेक्का भएकाले बजेट फ्रिज भयो, अब नगरपालिकाले नै दायित्व लिएको छ ।’

उनका अनुसार निर्माण कम्पनीले हटाउनुपर्ने सामग्री नहटाएरै ग्राभेल गर्न थालेकाले तत्काल काम रोकिएको छ । अब उक्त सामग्री हटाएपछि मात्रै ग्राभेल गरिनेछ । अहिले बेस निर्माणको काम मात्रै हुने र कालोपत्र बर्खापछि गरिने उनले बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाको रिङरोड क्षेत्रको सडक निर्माणका लागि संघीय सरकारको सशर्त अनुदान अन्तर्गत २ करोड बजेट आएको थियो । जसमध्ये वडा ७ को पुतली बजार क्षेत्रमा १४ सय र पिपलथला र हात्तीथला क्षेत्रमा १३ सय ४० मिटर सडक १ करोड ८ लाखमा सम्पन्न भइसकेको छ ।

बाँकी रहेको रकम फ्रिज हुन नदिनका लागि नगरपालिकाले हतार-हतारमा जेठ २३ मा ठेक्क आह्वान गरेर असार १९ मा रिङरोडमै पर्ने सुडा क्षेत्रमा सडक निर्माणका लागि ४५ लाखमा ठेक्का सम्झौता गरेको हो ।

बजेट फ्रिज हुन नदिने गरी ठेक्का सम्झौता भए पनि समयावधि भने बजेट फ्रिज गर्ने योजनाअनुसार नै मंसिर १६ सम्म राखिएको छ । गत आर्थिक वर्षमै खर्च गरिसक्नुपर्ने भए पनि ठेक्काको समयावधि भने मंसिर १६ सम्म राखिएको छ । ‘एक/डेढ हप्तामै काम सम्पन्न हुन सक्ने अवस्था नै हुँदैन,’ इन्जिनियर विष्टले भने, ‘संघीय सरकारको बजेट फ्रिज भयो, त्यसपछि नगरपालिकाले नै दायित्व लिएको छ ।’

प्रकाशित : श्रावण २६, २०८१ १९:३५
×