कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार

श्रावण २२, २०८१
सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको १९ महिनामै चौथो सरकार गठन भएको छ । प्रदेशसभाको एउटै कार्यकालमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन् । उनले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । यसपटक अघिल्ला सरकारमा जस्तो भागबन्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएन । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्तिबीच सत्ता साझेदारी भएको छ ।

साझेदार दलहरूमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा कांग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र दुई राज्यमन्त्री, एमालेले ३ मन्त्रालय र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिले १ मन्त्रालय लिएका छन् । आकर्षक मानिने आर्थिक मामिला कांग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले रोजेका छन् ।

कांग्रेसबाट आर्थिक मामिला मन्त्रीमा बहादुरसिंह थापा, सामाजिक विकासमन्त्रीमा मेघराज खड्का नियुक्त भएका छन् भने प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री बनेका छन् । एमालेबाट सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हीरा सार्की नियुक्त भएका छन् । निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् । नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।

एमालेले समर्थन फिर्ता लिएको ३० दिनपछि एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन भएको हो । प्रदेशसभाको दोस्रो कार्यकालमा ०७९ पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको गठबन्धनमा एमाले नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा पहिलो सरकार गठन भएको थियो । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावलको नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकी एक महिनामै ढलेको थियो ।

प्रदेशसभाको ठूलो दलको हैसियतले ०७९ माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि ०८० चैत २२ मा शाहले पदबाट राजीनामा दिएका थिए । त्यसपछि एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस–एमालेको नयाँ सत्ता समीकरण बनेपछि अल्पमतमा परेपछि उनले गत शुक्रबार राजीनामा दिएका थिए । आइतबार प्रदेशमा चौथो सरकारको नेतृत्वमा कांग्रेसकै शाहको पुनरागमन भएको हो ।

प्रकाशित : श्रावण २२, २०८१ ०५:५८
x
×