धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ । आइतबार विहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा उक्त निर्णय गरेको हो । मुख्यमन्त्रीमा शाहलाई अघि सार्ने निर्णय भएसँगै शाह सुदूरपश्चिममा दोहोरिने पहिलो मुख्यमन्त्री हुने भएका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । निर्धारित समयभित्र दाबी पेस गर्ने निर्णय भएको कांग्रेस सांसद मेघराज खड्काले बताएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा पारिएको थियो । यसबीचमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्ट गरी चार जना मुख्यमन्त्रीका आकांक्षी थिए । अन्ततः सभापति देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसंँगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने गौरव प्राप्त हुन थालेको हो । शाहको दाबीमा नेकपा एमालेले समर्थन गरेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन् । शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धनमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरूले समर्थन फिर्ता लिएपछि ०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित : श्रावण २०, २०८१ १२:२२