सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै
Highlights
- कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बन्ने सम्भावना प्रबल
धनगढी — सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
सुदूरपश्चिम नेपाली कांग्रेसको भागमा परेकोले नेपाली कांग्रेसबाट नयाँ मुख्यमन्त्री नियुक्त हुने छन् । कांग्रेस सांसदहरूका अनुसार संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री हुनेछन् ।
‘केन्द्रको सर्कुलर सार्वजनिक त भएको छैन, तर हालका संसदीय दलका नेतालाई निरन्तरता दिने जस्तो कुरो सुनिन थालेको छ,’ कांग्रेसका एक सांसदले भने ‘११ बजे संसदीय दलको बैठक छ, सोही बैठकमा औपचारिक कुरा आउने छ र टुंगो लाग्नेछ ।’ शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धनमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरूले समर्थन फिर्ता लिएपछि ०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।
यस पटकको मुख्यमन्त्रीको दौडमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट थिए । तीमध्ये पनि प्रकाश र शाहबीच मुख्य प्रतिस्पर्धा थियो । त्यसमा पनि प्रकाशको चर्चा चुलिएको थियो ।
तर संसदीय दलको नेता फेरबदल गरेर सभापति शेरबहादुर देउवाका सहोदर भतिजा प्रकाशलाई मुख्यमन्त्री बनाउ“दा अर्को अर्थ लाग्ने भएकाले अन्ततः शाहलाई मुख्यमन्त्रीमा दोहोर्याउन आन्तरिक निर्देशन भएको कांग्रेसका एक सांसदको भनाइ छ । यद्यपि औपचारिक निर्णय भने संसदीय दलको बैठकबाट हुनेछ । ‘नेपालको राजनीति मिनेट–मिनेटमा परिवर्तन हुन्छ, औपचारिक निर्णय हुनुअघि ठोकुवा गर्नु पनि कहिलेकाहीँ हतार हुन्छ,’ ती सांसदले भने ।
प्रकाशित : श्रावण २०, २०८१ ०९:२८