कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका-२ कमलशा टोलमा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएकै दिन फेरि चितुवा देखिएपछि दोधारा चाँदनीबासी त्रसित भएका छन् । शुक्रबार साँझ दुई वटा बाख्रा खाएको अवस्थामा चितुवा भेटिएपछि उनीहरु अझै त्रसित भएका हुन् ।
दोधारा चाँदनी नगरपालिका-३ देवीथान र जमुनाघारीमा ३ वटा बाख्रा खाएको वडाध्यक्ष हरिसिंह धनाडीले बताए । उनका अनुसार स्थानीयले चितुवालाई बाख्रा तान्दै गरेको समेत देखेका छन् ।
‘बाघको त्रासले सबै जना डराएका छन्, फेरि चितुवा देखिएको छ,’ वडाध्यक्ष धनाडीले भने, ‘चितुवा त पहिले पनि आउने र बाख्रा खाने गरेको थियो ।’ वडा नं. ३ भारतमा रहेको जंगलसंगै जोडिएको छ । सोही जंगलबार चितुवा आएको हुन सक्ने स्थानीयको अनुमान छ ।
‘बाख्रा खाएको हेर्दा चितुवा जस्तै छ, तर पाइल केही नदेखिएकाले एकिन गर्न सकिने अवस्था छैन,’ बाख्रा खाएको क्षेत्रमा पुगेका शुक्लाफाँटा रष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रमोद यादवले भने, ‘स्थानीयले चितुवा देखेको भनेका छन्, तर हामीले हेर्दा केही पनि चिन्हृहरु द्येखिएनन ।’ भारतको वन क्षेत्र संगै जोडिएकाले बाख्रा खाने चितुवा हुन सक्ने उनले बताए ।
प्रकाशित : श्रावण १९, २०८१ १८:१२