विश्वासको मत लिने अन्तिम दिन मुख्यमन्त्री सोडारीको राजीनामा
Highlights
- नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान
धनगढी — अल्पमतमा परेपछि विश्वासको मत लिने अन्तिम दिनमा आएर सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । सोडारीको राजीनामासँगै प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले मार्ग प्रशस्त गरेको घोषणा गरेर प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । सोडारीकै अनुरोधमा प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर उनले मन्तव्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्गप्रशस्त गरेको घोषणा गरेर राजीनामा बुझाएका थिए ।
एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र स्वतन्त्र एक सांसदको समर्थनमा वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले करिब सय दिन सरकारमा बस्दा निकै उतारचढाव सामना गर्नुपरेको छ । उनीमाथि बजेट ल्याउन नसकेको आरोप छ ।
गत असार २० मा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए । त्यसयता उनले प्रदेशसभा बैठक नै बोलाउन नसक्दा असारमा बजेट पारित नभएर प्रदेश बजेट शून्यतामा छ । तर, सोडारीले भने बजेट प्रस्तुत गरेका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पाल र उनको पार्टी एमालेले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण बजेट ल्याउन नसकिएको दाबी गरे । चालु आर्थिक वर्षको बजेट पारित हुन नसकेका कारण सुदूरपश्चिम सरकारले साउन १ यता दैनिक ४० लाख राजस्व गुमाइरहेको छ । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) बमोजिम दुई या दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकेका छन् ।
केन्द्रीय गठबन्धनअनुसार कांग्रेसको नेतृत्वमा सरकार गठन हुने निश्चित छ । तर, कांग्रेसले मुख्यमन्त्रीको टुंगो लगाएको छैन । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सांसदहरू प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीमा दाबी गरिरहेको चर्चा छ । सभापति शेरबहादुर देउवाले संसदीय दलका नेता शाह र सांसद देउवामध्ये एक जनालाई मुख्यमन्त्री बनाउन सक्ने चर्चा कांग्रेस सांसदबीच छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीसमेतले नयाँ सरकारलाई समर्थन गर्ने भएको छ ।
प्रकाशित : श्रावण १९, २०८१ ०६:२८