अछाम — पहिरोको जाखिमले गत साता विस्थापित भएका चौरपाटी गाउँपालिका—६ सेरीपाखाका ९ घरका ४८ जनाले घर फर्कन सकेका छैनन् । निरन्तरको वर्षाले असार २० गते पहिरो खसेको ठाउँबाट तल ५ र माथि रहेका ४ घर जोखिममा परे पछि ९ परिवारका ४८ जना गाउँको सामुदायिक स्वास्थ्य इकाइको भवनमा बसिरहेका छन् । ‘जोखिम कम भएको छैन ।
अहिले पनि ९ परिवारका ४८ जना घरबाहिर नै बसिरहनुभएको छ । जिल्ला विपद व्यवस्थापन समितिले ५ जनाभन्दा कम संख्या भएको परिवारलाई १५ हजारसम्म र ५ भन्दा बढी संख्या भएको परिवारलाई २० हजारसम्म दिन सक्ने व्यवस्थाअनुसार राहत दिएका छौं,’ अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले भने, ‘खाद्यान्न र सामान्य खर्च चलाउनका लागि फहिलो चरणमा सकिने जति राहत दिएका छौं । पहिरोको जाखिम कम भएको छैन । तत्काल उहाँहरुलाई घर पठाउन सक्ने अवस्था छैन ।’
उनका अनुसार पहिरो गएको ठाउँमा ठूलो ढुंगा अड्किएर बसेको छ । त्यसको व्यवस्थापन नहुँदासम्म सबै घर जोखिममा छन् । ठूलो समस्याको रुपमा ढुंगा देखिए पनि त्यताको जमिन चर्केर भित्रभित्रै गलिसकेको देखिन्छ । यसका लागि ढुंगाको व्यवस्थापन र जमिनको प्राविधिक जाँच गर्नुपर्ने उनले बताए । अहिले पनि निरन्तर वर्षा भएका कारण पहिरोको जोखिम कम गर्न र दिर्घकालीन समाधानको लागि योजना बनाउन नसकिएको उनले बताए । जमिनको जाँच गर्नका लागि प्राविधिक टोलीलाई फिल्डमा खटाउनका लागि जनशक्ति व्यववस्थापनको काम भइरहेको उनले बताए ।
पहिरोको जोखिममा परेको चौरपाटी गाउँपालिका —६ सेरीपाखाका गाउँ र घरबाहिर बसेका स्थानीयलाई राहत वितरण गर्दै सरोकारवाला । तस्बिर : मेनुका, कान्तिपुर
पहिरोको माथितिर करिब ३ रोपनी जग्गामा धान रोपिएको र खेतमा आउने पानीले जमिन गलाएको हुनसक्ने भएकाले सिँचाइ नगर्नुपर्ने खालको खेती लगाउनु पर्ने उनले बताए । ‘खेत रोप्ने जग्गाधनीसँग पनि हाम्रो कुरा भइरहेको छ । सिंचाइले गर्दा जमिन गलेर बस्ती नै जोखिममा पर्छ भने अन्य खेती गर्न तयार भएको उहाँले पनि बताउनुभएको छ,’ प्रजिअ लम्सालले भने, ‘एकातिर पछिसम्मको अवस्थालाई हेरेर पहिरोको जोखिम कम गराउनुछ । अर्कोतिर जोखिममा परेका ९ घरपरिवारलाई अन्त व्यवस्थापन गर्नु छ । मौसमले साथ नदिएकाले थप काम केही गर्न सकिएको छैन ।’
उनका अनुसार ढुंगा फुटाउने, ग्याबिन वाल लगाउने, प्राविधिक जाँच गराउने, सिँचाइ खेती कम गर्ने, वृक्षारोपण जस्ता काम तत्काल गर्नुपर्ने र यसका लागि चौरपाटी गाउँपालिका, अन्य सरोकावाला निकायसँग छलफल भइरहेको छ ।
चार परिवारको लागि नयाँ घर नै निर्माण गर्नुपर्ने भएकाले स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय, प्राविधिक जाँच र जिल्ला विपद् व्यवस्थापनको सिफारिसमा विपद् व्यवस्थापन प्राधिकरणले रकम किस्तामा पठाउने भएकाले अब प्रक्रिया सुरु गर्ने प्रजिअ लम्सालले बताए ।
अहिले जोखिममा परेका ९ परिवार र अन्य गरी २५ परिवारका लागि बस्तीनै स्थान्तरण गर्नुपर्ने अवस्था देखिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले बताए । ‘जमिन पूरै चिरा परेको छ । ९ परिवारले त २ सातादेखि घरनै छाडिसकेका छन्,’ उनले भने, ‘धेरै जसो स्थानीयको अन्य ठाउमा आफ्नै जग्गा छ । उहाँहरुका लागि घरमात्र बनाउनु पर्ने हो । जग्गा खरिद गर्नु पर्दैन ।’ अहिले सामुदायिक स्वास्थ्य इकाइको भवनमा बसिरहेका ४८ जना आत्तिरहेको उनले बताए ।
प्रकाशित : श्रावण ३, २०८१ २१:५५