कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पहिरोको जोखिमले नौ परिवार सातादेखि विस्थापित

अछाम — गत साताको वर्षाले विस्थापित भएका चौरपाटी गाउँपालिका–६ सेरीखेतका ९ परिवार अझै घर फर्कन सकेका छैनन् । गत शनिबारयता पहिरोको माथि रहेका ४ र तलका ५ घरका ४८ जना गाउँको सामुदायिक स्वास्थ्य इकाइको भवनमा बसिरहेका छन् । पहिरो गएको ठाउँमा ठूलो ढुंगा अड्किएकाले जोखिममा परेका स्थानीयलाई घरबाहिर नै राखिरहेको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

पहिरोको जोखिमले नौ परिवार सातादेखि विस्थापित

‘केही कम जोखिम भएका ४ परिवारलाई पनि तत्कालै घरमा बस्नुस् भन्न सक्ने अवस्था छैन । पहिरो गएको ठाउँमा ठूलो ढुंगा अड्किएर बसेको छ । त्यसको व्यवस्थापन नहुँदासम्म सबै घर जोखिममा छन्,’ उनले भने, ‘ठूलो समस्याको रुपमा ढुंगा देखिए पनि त्यताको जमिनमा चिरा परेको छ । जमिन भित्रभित्रै धेरै गलिसकेको देखिन्छ । ढुंगाको व्यवस्थापन र जमिनको प्राविधिक जाँच गर्नुपर्ने भएको छ ।’

दिर्घकालीन समाधानका लागि प्राविधिक टोली पठाएर जोखिमको अवस्था र संरक्षणका लागि तत्काल काम गर्नुपर्ने भएको उनले बताए । यो काम नसकिदासम्म ९ परिवारका ४८ जनालाई बाहिरै राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

पहिरोको माथितिर करिब ३ रोपनी खेतमा आउने पानीले जमिन गलाएको हुनसक्ने भएकाले सिँचाइ आवश्यक हुने खालको खेती लगाउनु पर्ने उनले बताए । उनका अनुसार ढुंगा फुटाउने, ग्याभिन वाल लगाउने, प्राविधिक जाँच गराउने, सिंचाइ खेती कम गर्ने, वृक्षारोपण जस्ता काम तत्काल गर्नुपर्ने र यसका लागि गाउँपालिका, अन्य सरोकावालासँग छलफल भइरहेको छ ।

चार परिवारका लागि नयाँ घरनै बनाउनु पर्ने भएकाले स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय, प्राविधिक जाँच र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा विपद् व्यवस्थापन प्राधिकरणले किस्तामा रकम पठाउने भएकाले अब प्रक्रिया सुरु गर्ने प्रजिअ लम्सालले बताए ।

अहिले स्वास्थ्य संस्थाको भवनमा बसिरहेका ४८ जनालाई त्रिपाललगायत अन्य राहत सामग्री उपलब्ध गराइएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले बताए । उनले प्राविधिक जाँच गरी नयाँ घर निर्माणका लागि यही साताभित्रै पहल गर्ने बताए । ‘पानी पर्यो भने ती घरमा बस्दा जतिबेला पनि मानवीय क्षति हुन सक्ने भएकाले अहिले पनि बाहिरनै राखिरहेका छौं,’ उनले भने,‘विपदको कुरामा स्थानीय तह एक्लैले सबै समस्या समाधान गर्न सक्ने अवस्था छैन । अन्य सरोकारवालासँग पनि निरन्तर छलफलमा छौं । चाँडै निकास आउँछ ।’

पहिरोको जोखिममा परेर बाहिर बसेका स्थानीयले आफ्नो सुरक्षित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । ‘अहिले पानी रोकिएको छ । तर हामी घर नजिक जान सकेका छैनौं । हामी त जसोतसो बसिरहेकै छौं । गाइवस्तु कहाँ राख्ने, घरभित्र भएको अनाज कता राख्ने भन्ने चिन्ता छ,’ स्थानीय रत्ना साउँदले भनिन्, ‘घर छोडेर बसेको पनि एक हप्ता भइसक्यो । यसरी कहिलेसम्म बस्ने हो ? हाम्रो समस्यालाई बुझेर हामीलाई सुरक्षित स्थानमा ढुक्कले बस्ने व्यवस्था गरिदिए हुन्थ्यो ।’ साताअघि गएको पहिरोले अहिले पनि बालबालिका, वृद्धवृद्धामा त्रास छाएको उनले बताइन् । ‘छोराछोरीको पढाइ त्यस्तै भएको छ । अस्तव्यस्त बसाइँले तनाव पनि बढेको छ,’ उनले भनिन् ।

प्रकाशित : असार २६, २०८१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×