कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

घर फर्किएका कञ्चनपुरका बाढीपीडित भन्छन् : ‘ज्यान त बच्यो अन्नपात जोगिएन’

घरमा धेरै क्षति भएका १६ सय जना अझै फर्कन सकेनन्
भवानी भट्ट

कञ्चनपुर — महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका ऐनबहादुर सुनार मंगलबार तीनदिन पछि घर फर्किए । जोगबुडा नदीको बाढी बस्ती पस्दा आइतबार डुबानमा परेको उनको परिवार गाउँको सुरक्षित स्थान (सेफ हाउस) मा बसिरहेको थियो । बाढी घटेपछि मंगलबार घर फर्केका उनले दिनभर भिजेको धान, गहुँ बाहिर निकाल्नमै बिताए । 

घर फर्किएका कञ्चनपुरका बाढीपीडित भन्छन् : ‘ज्यान त बच्यो अन्नपात जोगिएन’

‘लुगा कपडादेखि अन्न सबै भिजेको छ । घरभित्रका कपडा कति बगेर गए कति माटोमै च्यापिए,’ उनले भने, ‘धान र गहुँ पुरै भिजेर सखाप भयो । दिनभरि अन्न निकाल्नमै लाग्यो । ज्यान बच्यो, घर पनि फर्कियौं, अब के खाने ?’ उनको धान र गहुँ आधा भन्दा बढी खराब भएको छ । बाँकी अन्न पनि भिजेर सुकाउन बाँकी छ ।

कुतियाकभरमा ४० परिवारको बसोबास छ । बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य मंगलबार पनि सेफ हाउसमै बसेका छन् । ‘राति सुतेका थियौं, अचानक बाढी बस्तीमा पस्यो, एकछिनमै घरभित्रै पस्यो,’ कुतियाकभरकै श्यामलाल सुनारले भने, ‘ज्यान त जोगियो तर धान गहुँ केही जोगिएन, गाईभैंसी र बाख्रा पनि मरे ।’

उनी पनि मंगलबार दिउँसो आगनमा बिस्कुन सुकाउँदै बसिरहेका थिए । शुक्रबारदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण भएको डुबान हुँदा विस्थापित भएका परिवार घर फर्किन थालेका छन् । तर अधिकांशको घरमा अन्न र लुगाकपडा सबै भिजेको छ । जसका कारण उनीहरूलाई खान लाउन समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबारसम्म १ हजार परिवारको ५ हजार जना विस्थापित भएका थिए । अझै करिब १६ सय जना विद्यालय, वडा कार्यालय र आफन्तको घरमा आश्रय लिई बसेका छन् ।

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा विस्थापित भएका थिए । भीमदत्त र बेलडाँडीमा अधिकांश घर फर्के पनि बेलौरी र दोधारा चाँदनीमा अझै धेरै परिवार घर फर्किन सकेका छैनन् । दोधारा चाँदनी–३ पटेरा खल्लाका ३५ परिवार जमना आधारभूत विद्यालयमा बसेका छन् । डुबानका कारण ३५ घर क्षति भएका छन् भने पानी र लेदो भरिएर घरभित्र जान सक्ने अवस्था नै छैन । ‘ज्यान जोगाएर जेनतेन भाग्यौं, तर अब घरभित्र फर्किन सकिने अवस्था छैन,’ पटेराखल्लाका विस्थापित हरिना सुनारले भनिन्, ‘गाईबाख्रा सबै गोठमै मरे ।’

पटेराखल्ला बस्ती अहिले पनि डुबानमै छ । जोगबुडा नदी किनारको उक्त बस्ती होचो भएका कारण भरिएको पानी अझै घटेको छैन । उक्त क्षेत्रको खेतबारीमा पूरै लेदो भरिएर धानखेत ढाकिएको छ । बेलौरी नगरपालिकाको कलकत्ता र भुडामा पनि डुबानका कारण ठुलो क्षति भएको छ । प्रहरीका अनुसार उक्त क्षेत्रका ५ सय जना अहिले पनि विस्थापित छन् । उनीहरु विद्यालयमा बसेका छन् ।

बगर बन्यो धानखेत

दोधारा चाँदनी–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गरेका थिए । शनिबार रातिदेखि आएको बाढीले उक्त खेत पूरै लेदो र बालुवाले भरिएको छ । ‘तरकारी र धानमा करिब ५० हजार बढी खर्च गरेको थिए,’ उनले भने, ‘सबै पुरिएर माटो र बालुवा मात्रै छ ।’ तीन वर्षअघि पनि बाढीले उनको खेतमा बालुवा भरिएर बगर भएको थियो ।

यसपालिको बाढीले कुतियाकभरमा बसोबास गर्ने सबैको जमिन पूरै माटोले ढाकिएको छ । बुढाका अनुसार कुतियाकभरमा करिब ५० बिघाजति जमिनको धान र तरकारी पुरै नोक्सान भएको छ । दोधारा चाँदनी–१० शान्तिटोल, ३ पटेराखल्ला र ८ सुन्दरनगरमा पनि ४०/५० बिघा जमिनको धान पुर्ण रुपमा लेदोले ढाकेको छ । यसैगरी जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र बेलडाँडीमा पनि चौधरी नदीको बाढी पस्दा ठूलो मात्रामा धान खेतमा पटान भएको छ ।

जिल्लाभरिमा धान, मकै र उखुमा कति क्षति भयो भन्ने विषयमा अझै यकिन तथ्यांक संकलन भएको छ । स्थानीय तहका कृषि शाखाहरुबाट तथ्यांक संकलनको काम भइरहेकाले एक दुई दिनमा मात्रै उक्त विवरण तयार हुने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतिले बताए । धान खेत मात्रै होइन बाढीले कुखुरापालक किसानसमेत पीडित भएका छन् ।

दोधारा चाँदनी, भीमदत्त ननगरपालिकालगायतका ठाउँमा एक दर्जन बढी कुखुरा खोरमा क्षति पुगेको छ । ‘मेरो मात्रै तीन वटा खोरमा रहेका १० हजार बढी कुखुरा मरेका छन्,’ भीमदत्त–५ का अजय चन्दले भने, ‘बिक्री गर्न तयार भएका कुखुरा डुबानमा परेर मरे ।’ शुक्रबारदेखि सोमबारसम्मको भारी वर्षाका कारण कञ्चनपुरमा ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

प्रकाशित : असार २६, २०८१ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×