कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पुरानै स्वरुपमा देखियो अछाम दरबार

असार २३, २०८१
पुरानै स्वरुपमा देखियो अछाम दरबार

अछाम — ठेक्का लागेर काम सुरु भएको १६ वर्षपछि अछाम दरबार पुनःनिर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । ऐतिहासिक दरबार पुरानै स्वरुपमा देखिँदा स्थानीय खुसी छन् । २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो ।

मंगलसेन बजारको बीचमा रहेको दरबार पुनः निर्माणको काम राजनैतिक दबाब, ठेकेदारको लापरबाहीलगायतका कारणले प्रभावित भएको स्थानीय बताउँछन् । पटकपटक दरबार पुनःनिर्माणको विषयलाई चुनावी एजेण्डा बनाउने तर काम नगर्ने परिपाटीले अहिलेसम्म ओझेलमा परेको खकेन्द्र विकले बताए ।

‘चुनावी एजेण्डा बनाएका यहाँका राजनैतिक दलहरुलेसमेत दरबार माथि राजनीति गरे । अहले निर्माण सम्पन्न हुने देखिएपछि आफूले बनाएको भन्दै राजनैतिक दलहरुले जस लिन खोजेका छन्,’ उनले भने, ‘अब दरबार निर्माणको काम लभगभ सकिन थालेको छ । अनावश्यक राजनीति गरेर काम नरोकियोस् ।’

मंगलसेनको गहनाको रुपमा रहेको दरबार ध्वस्त भएपछि बजार नै अधुरो र सुनसान भएको मंगलसेनका ८० वर्षीय कपुरे नगार्जी बताउँछन् । ‘ढिलै भए पनि दरबार पुरानै जस्तो देखिसकेको छ । यो दरबारसँग अछामको पूरै इतिहास जोडिएको छ । यो ध्वस्त दरबार ब्यूतिनु मात्रै होइन । इतिहास नै एकपटक फेरि उठेको जस्तो लागेको छ,’ उनले भने ।

पुरातत्व विभाग मातहतमा बनिरहेको दरबार निर्माण सम्पन्न हुन थालेसँगै अब कसको स्वामित्वमा लैजाने भन्ने विषयमा छलफल हुनुपर्ने मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले बताए ।

‘पहिले प्रशासन, प्रहरीलगायतका सबै सरकारी कार्यालय यसै दरबारभित्र थिए । अहिले सबै कार्यालयका छुट्टाछुट्टै भवन बनिरहेका छन्,’ उनले भने, ‘दरबारलाई संग्राहलय बनाउने हो भने दरबारभित्र रहेका पुराना इतिहास देखिने सबै चिज ध्वस्त भइसकेका छन् । यहाँभित्र के राखेर संग्राहलय बनाउने प्रश्न पनि उठ्ला ।’

दरबारको संरक्षण पनि हुने भएकाले मंगलसेन नगरपालिकाको प्रशासकीय भवन नै बनाउने तर्फ पहल गर्नुपर्ने उनले बताए । स्थानीय प्रशासनले निरन्तर निगरानी गरिरहेकाले दसैं अगावै दरबार पुर्ननिर्माणको काम सम्पन्न हुनसक्ने अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

‘दरबारको छाना छाइसकिएको छ । पानी परेको बेला पनि भित्रको काम गर्न सकिएको छ,’ उनले भने, ‘निर्माणको काम सकिए लगत्तै दरबारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने देखिन्छ ।’

सरोकारवाला बसेर दरबारको सही व्यवस्थापन र दिगो संरक्षणका लागि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने उनले बताए । दरबार निर्माणको २०६७ मै निर्माण सम्पन्न गर्न राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालिका र कुवँर गरी पाँच वटा निर्माण कम्पनीसँग २ करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । सुरुमा मीनबहादुर कुवँरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरु निर्माण कम्पनी केही रकम लगेर बाहिरिए ।

हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्ट्रक्सनले लिएको छ । पुरानै संरचना अनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक साल प्रजातिको काठ सजिलै उपलब्ध नहुने भएकाले दरबार निर्माणको काममा ढिला भएको निर्माणको जिम्मा लिएको साउद कन्ट्रक्सनका संचालक जयबहादुर साउदले बताए ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रजिअ मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो ।

अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरुभई उनका छोरा दलबहादुर शाहको पालामा बिक्रम सम्वत् १९३५ निर्माण सम्पन्न भएको स्थानीय मंगलसेन–५ का चन्द्रमणि भाटले बताए । अछामी इतिहासका जानकार सुरतबहादुर शाहका अनुसार सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको थियो ।

योगेन्द्रबहादुरका भाई तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रिको व्यवस्था मिलाएको उनले बताए । तीन तले दरबारमा ३० कोठा थिए ।

प्रकाशित : असार २३, २०८१ २०:०८
x
×