कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

भवानी भट्ट

कञ्चनपुर — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जडीबुटी र औषधिय गुण भएका वनस्पतिको अध्ययन तथा अनुसन्धान गर्ने भएको छ । सात वटै प्रदेशमा विशिष्टकृत प्रयोगशाला स्थापना गरेर अनुसन्धान गर्ने तयारी गरेको हो ।

औषधिय गुण भएका वनस्पतिको अनुसन्धान गर्दै नास्ट

हिमाली भेगमा जडिबुटी पाइन्छ । पहाडी र तराइ क्षेत्रमा औषधिय गुण भएका वनस्पति पाइन्छन् । तर तिनको अध्ययन अनुसन्धान नहुँदा त्यतिकै खेर गइरहेका छन् । ‘सुदूरपश्चिममा कस्ता कस्ता जडीबुटी पाइन्छन्, तिनको उपयोगिता कस्तो छ ?’ नाष्टका सचिव डा. रविन्द्रप्रसाद ढकालले भने, ‘औषधिय गुण भएका वनस्पतिको अन्वेषण गर्ने र प्रशोधन गरेर मूल्य अभिवृद्धि गराउने लक्ष्य हो ।’

अहिले नाष्टको टोलीले सामुदायिक वनमा जमिनको खोजी गरिरहेको छ । यसका लागि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले सहजिकरण गरिरहेका छन् । उनले बन्द रहेको नाष्टको कार्यालय सञ्चालनका लागि समेत पटक पटक केन्द्रीय कार्यालयमै पुगेर दबाव दिएका थिए । उक्त क्षेत्रमा वनस्पतिको उत्पादन गर्ने र यसरी उत्पादन भएका वनस्पति कृषकलाई पनि खेती गर्न लगाइने छ । वनजंगलमा आफै उत्पादन हुने र खेती गरेर उत्पादन हुने वनस्पतिको गुणमा कति फरक पर्छ ?, त्यसको बजारीकरण कसरी गर्न सकिन्छ ? लगायतका विषयमा समेत अध्ययन गरिनेछ ।

अहिले नाष्टका उपकुलपति प्रा. दिलिप सुब्बासहितको टोली यस क्षेत्रमा पुगेको छ । प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गरेर अध्ययन अनुसन्धानको काम गरिने छ । यसका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र स्थानीय तहका प्रमुखसँग समेत समन्वय भइरहेको छ । नाष्टले वनस्पतिको अनुसन्धानका लागि ३ जना वैज्ञानिकहरु नियुक्त गर्ने तयारी छ । उनीहरुले लगत्तै अनुसन्धानको काम सुरु गर्नेछन् । ‘अहिले पनि यस क्षेत्रबाट ठूलो मात्रामा जडीबुटी तथा वनस्पति भारततर्फ भइरहेको छ,’ उनले भने, ‘तर त्यसलाई प्रशोधन गरेर पठाउन सके अझ बढी आम्दानी गर्न सकिन्छ ।’ कृषकहरुलाई यसबारे समेत जानकारी दिन जडीबुटी र वनस्पतिको खेती समेत गरिने उनले बताए । यसका लागि माटो परीक्षण, माटोमा पोषक तत्वको पहिचान लगायतका काम गरिनेछ । अहिले पनि कञ्चनपुरका केही सामुदायिक वनमा औषधीय गुण भएका वनस्पतिको रोपिएको उनले बताए ।

अहिले कञ्चनपुरको ब्रह्मदेव क्षेत्रबाट ठूलो मात्रामा कडीपत्ता भारततर्फ निर्यात हुने गरेको छ । उक्र क्षेत्रका स्थानीयले जंगलबाट संकलन गरेको कडीपत्ता सुकाएर बोरामा सीमावर्ती बजार टनकपुरतर्फ बिक्री गर्छन् । कडीपत्ता टनकपुरमा प्रतिकिलो २० रुपैयाँ भारुमा बिक्री हुने गरेको छ । कडीपत्तालाई पनि प्रशोधन गरेर बिक्री गर्न सके अझ बढी लाभ लिन सकिने ढकाल बताउँछन् ।

सुदूरपश्चिममा रहेको जडीबुटी तथा वनस्पतिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले महेन्द्रनगरमा २०७४ मा नाष्टको कार्यालय स्थापना गरिएको थियो । तर बजेट र कर्मचारी अभाव हुँदा कार्यालय सहयोगीकै भरमा थियो । पछिल्लो समय कर्मचारी भर्ना भइसकेकाले अब कार्यालय पनि नियमित रुपमा सञ्चालन हुने सचिव ढकालले बताए ।

सात वटै प्रदेशमा विशिष्टकृत प्रयोगशाला सञ्चालन गरेर नियमित रुपमा अनुसन्धानको काम गरिनेछ । यसका लागि स्थानीयलाई समेत सहभागी गराइने छ । स्थानीयले जडीबुटीको खेतीदेखि प्रविधि लगायतको हस्तान्तरण गरिने उपकुलपति सुब्बाले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x