१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पूर्णागिरी मेलाको चहलपहल 

भवानी भट्ट

कञ्चनपुर — नेपाल र भारतमा लाग्ने पूर्णागिरी मेलाको चहलपहल सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमादेखि लाग्ने मेलामा सिद्धबाबा मन्दिरमा दर्शन गर्न ठूलो संख्यामा श्रद्धालु आउने गर्छन् । मेला अवधिमा चहलपहल सँगै यस क्षेत्रको व्यापार व्यवसाय पनि बढ्छ । यतिबेला मेलाका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हृदेव र महेन्द्रनगर बजारमा दर्शनार्थीको भीडभाड बढेको छ । 

पूर्णागिरी मेलाको चहलपहल 

भारत उत्तराखण्ड चम्पावत जिल्लाको चुरेको डाँडामा रहेको पूर्णागिरी मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरे मात्रै मनोकामना पूरा हुने मान्यता रहेको छ ।

यही मान्यताका आधारमा पूर्णागिरी मन्दिरमा पुग्ने श्रद्धालु सिद्धबाबाको दर्शन गर्न आउने गरेका हुन् । मेला भर्नका लागि भारतको उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसँगै नेपालका पनि विभिन्न जिल्लाबाट आउने गरेका छन् । भारत उत्तरप्रदेशको बाराबंकीका फते पालले भने, ‘हामी हरेक वर्ष पूर्णागिरी माता र सिद्धबाबाको दर्शन गर्न आउँछौ ।’

उनको गाउँबाट डेढ सय जना आएका छन् । बुधबार घरबाट हिँडेका उनीहरु शनिबार पूर्णागिरी पुगेका थिए । शनिबार त्यहीँ बसेर आइतबार बिहानै सिद्धबाबाको दर्शन गर्न महेन्द्रनगर पुगेका हुन् ।

पूर्णागिरी मेला खासगरी फागु पूर्णिमादेखि वैशाख पुर्णिमासम्म चल्छ । सबैभन्दा बढी भीड चैते दशैंको नवरात्राका बेला लाग्छ । यो अवधिमा महेन्द्रनगर र ब्रम्हृदेवमा दैनिक १०/१२ हजारको संख्यामा दर्शनार्थी आउने गरेका छन् । यतिबेला दर्शनार्थीको भीड व्यवस्थापन समेत निकै चुनौतिपूर्ण बन्छ । उत्तर प्रदेशकै कन्नौजकी कमलादेवीले भ गाउँबाट ५० जना भन्दा बढी दर्शनार्थी आएको बताइन् ।

सिद्धबाबाको प्राचीन मन्दिर भीमदत्त नगरपालिका–९ खल्लामा छ । विभिन्न समयमा ब्रम्हृदेव र महेन्द्रनगरमा पनि मन्दिर स्थापना गरिएको हो । खल्लामा बाटोघाटोको असुविधा भएका कारण दर्शनार्थी ब्रम्हृदेव र महेन्द्रनगर पुग्ने गरेका छन् । केही वर्षअघिसम्म मेला अवधिमा दुवै स्थानमा राम्रै व्यापार हुन्थ्यो । खासगरी चाईनीज सामानको कारोबार बढी हुन्थ्यो । तर अहिले चीनमा उत्पादन भएका विभिन्न सामग्री भारतमै सहज र सस्तो उपलब्ध हुन थालेपछि व्यापार घट्दो छ ।


‘खास मेला फागु पुर्णिमादेखि वैशाख पुर्णिमासम्म हो, दर्शनार्थी भने असारसम्मै आउँछन्,’ सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका सचिव पुष्कर उप्रेतीले भने, ‘छिटफुट रुपमा त वर्षभरि नै आइरहन्छन् ।’ उनका अनुसार मेलामा भारतको उत्तर प्रदेशका बहराईच, बाराबंकी, लखनउलगायतका जिल्लाबाट धेरै दर्शनार्थी आउँछन् । यसबाहेक नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउछन् ।

परापूर्वकालमा आफ्ना भक्त सिद्धबाबाललाई प्रशन्न भएर पूर्णागिरीले आफ्नो र सिद्धबाबाको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएको किम्वदन्ती छ । यहि मान्यता अनुसार महाकाली पारि भारतमा रहेको पूर्णागिरी र महाकाली वारि नेपालमा रहेको सिद्धबाबाको दर्शन गर्छन् । दुई देश बीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई दर्शाउने माध्यमका रुपमा समेत यो मेलालाई लिइन्छ ।

प्रकाशित : चैत्र १८, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?