९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

खर्च बढाउन सक्दैन प्रदेश सरकार

अर्जुन शाह

(धनगढी) — आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चौमासिक अवधिको विकास खर्च विगत जस्तै न्यून छ । चालु आर्थिक वर्षमा साउनदेखि कात्तिकसम्म प्रदेश सरकारको पुँजीगत खर्च पाँच प्रतिशत मात्रै छ । कुल खर्च पनि आठ प्रतिशत नाघ्न सकेको छैन । 

खर्च बढाउन सक्दैन प्रदेश सरकार

चालु आर्थिक वर्षमा पुँजीगत बजेट १७ अर्ब ९४ करोड ३५ लाख ७२ हजार रहेकामा ८९ करोड ४५ लाख ६० हजार मात्र अर्थात् झन्डै पाँच प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार छ । कात्तिकसम्म दुई अर्ब ४० करोड ४९ लाख अर्थात् झन्डै आठ प्रतिशत खर्च भएको छ । चालुतर्फको बजेट ११ अर्ब ९४ करोड ३५ लाख रहेकामा एक अर्ब ५१ करोड ३ लाख ९१ हजार अर्थात् झन्डै साढे १२ प्रतिशत छ ।

सुदूरपश्चिम सरकारले अघिल्ला दुई आर्थिक वर्षमा पहिलो चौमासिक अवधिमा पनि चालु आर्थिक वर्षकै हाराहारीमा खर्च गरेको थियो । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा साढे ६ प्रतिशत खर्च गर्न सकेको थियो । त्यस आर्थिक वर्षको पुँजीगत बजेट २४ अर्ब १४ करोड ४४ लाख ६७ हजार बजेट रहेकामा ९६ करोड ३ लाख ४४ हजार अर्थात् चार प्रतिशत हाराहारी मात्र खर्च गरेको थियो । उक्त आर्थिक वर्षमा कुल बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रहेकोमा दुई अर्ब ४४ करोड ३९ लाख ४६ हजार खर्च थियो ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकको यही अवधिमा पुँजीतर्फ कुल बजेट १७ अर्ब ७२ करोड ७८ लाख रहेकामा ६३ करोड ८० लाख अर्थात् साढे तीन प्रतिशत मात्र खर्च गर्न सकेको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा १२ अर्ब १९ करोड ६२ लाख ७७ हजार पुँजीगत बजेट छ । त्यसमध्ये पहिलो चौमासिकमा ७१ करोड २ लाख २६ हजार अर्थात् ६ प्रतिशतभन्दा कम रकम खर्च गर्न सकेको छ ।

कुल खर्चको अधिकांश हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामा आएर मात्रै खर्च गर्ने प्रवृत्ति विगतका वर्षझैं चालु आर्थिक वर्षमा पनि नटुट्ने देखिएको छ । गत आर्थिक वर्ष ०७९/८० मा उक्त मन्त्रालयमा पुँजीगततर्फ १७ अर्ब ७५ करोड ७२ लाख बजेट रहेकामा पहिलो चौमासिक अवधिमा ७७ करोड ४ लाख ७९ हजार अर्थात् साढे चार प्रतिशत खर्च गर्न सकेको थियो । उक्त मन्त्रालयले आर्थिक वर्षको अन्तिमसम्म अर्थात् वर्षभरिमा भने ६७ प्रतिशत पुर्‍याएको थियो ।

पहिलो चौमासिकमा खर्च नहुनाका अनेक कारण रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सुरेशराज भट्ट बताउँछन् । ‘भदौमा कर्मचारी सरुवा हुने समय हो । सरुवा होला कि भनेर कर्मचारीहरू यस अवधिमा काम गर्ने जाँगर नै देखाउँदैनन्,’ इन्जिनियर भट्टले भने, ‘बजेट पारित हुनेबित्तिकै स्वतः अख्तियारी जाने भए पनि खर्च नहुने प्रमुख कारण त्यो हो ।’ विकास निर्माणका योजना कार्यान्वयन गर्न ढुंगा, गिट्टी, बालुवा असोजसम्म झिक्न नपाउने भएकाले पनि

निर्माण व्यवसायीले पनि काम गर्ने अवस्था हुँदैन ।

प्रकाशित : मंसिर २४, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?