कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

शुक्लाफाँटामा बाघको अनुगमन सुरू

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ तथा आहारा प्रजातीको अनुगमन सुरु गरिएको छ । निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना गरिन लागेको हो । 

शुक्लाफाँटामा बाघको अनुगमन सुरू

नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ । २०२२ मा गरिएको राष्ट्रिय गणनामा यहाँ बयस्क बाघका संख्या ३६ पुगेको छ । राष्ट्रिय गणनासँगै २०२१ देखि निकुञ्जले स्थानीयस्तरमा पनि हरेक वर्ष गणना गर्दै आएको छ । कम घनत्व भएका र चोरी शिकारको जोखिम भएका संरक्षित क्षेत्रमा बाघको नियमित अनुगमन गर्ने कार्यक्रम अन्तगत शुक्लाफाँटामा पनि वर्षेनी गणना गरिँदै आएको छ ।

राष्ट्रिय गणनामा संरक्षित क्षेत्रसँगै बाघ पाइने अन्य क्षेत्रमा पनि अनुगमन गरिन्छ । तर अहिले निकुञ्जको कोर एरियामा मात्रै गणना गरिनेछ ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई २/२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ । हरेक ग्रिडमा बाघ हिडने बाटो पहिचान गरि एक/एक जोडी स्वचालित क्यामेरा जडान गरिने छ। १५ दिनसम्म जडान गरिएको क्यामेरका नियमित अनुगमन तथा रेखदेख गरिनेछ । १५ दिनपछि क्यामेराहरु निकालेर तस्बिरहरुको विश्लेषण गरिनेछ ।

बाघको अनुगमनका लागि जडान गरिएको क्यामेरको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन् । स्वचालित क्यामेराले बाघको तस्विर संकलन गर्ने विधिबाट अभ्यास समेत गरिएको थियो ।

‘शुक्लाफाँटा वन्यजन्तु संरक्षणका लागि सफल संरक्षित क्षेत्र हो,’ महानिर्देशक ढुंगानाले भने, ‘बाघ, गैंडा, बाह्रसिंगा र कृष्णसारको संख्या निरन्तर बढदो छ, यहाँका स्थानीयको योगदानले मात्रै सफल भएको हो ।’ उनले बाघको संख्या बृद्धिले सबैलाई हौस्याएको बताए । शुक्रबारदेखि सुरु भएको अनुगमनबाट पनि संरक्षणकर्मीलाई थप उत्साहित बनाउने अनुमान गरिएको बताए ।

‘हरेक ग्रिडमा बाघ हिडने क्षेत्र पहिचान गरि क्यामेरा जडान गरिन्छ, पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘सोही क्षेत्रमा १५ दिनसम्म क्यामेरा जडान गरेर नियमित अनुगमन गरिन्छ ।’ उनका अनुसार बाघको उचाइ र खुट्टा सम्मको तस्बिर लिन सक्नेगरि ७०/८० सेन्टिमिटरको उचाइमा क्यामेरा जडान गरिन्छ । अनुगमनका लागि प्राविधिकसँगै हात्ती समेत परिचालन गरिनेछ । निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, हिमालय नेचर लगायतका प्राविधिकहरु अनुगमनमा खटिनेछन् ।

२०२२ मा गरिएको गणनामा निकुञ्जसँगै एउटा बाघ लालझाडी मोहोना करिडोरमा र अर्को जोगबुडा क्षेत्रमा देखिएको थियो । लालझाडी मोहना करिडोरको बाघ निकुञ्जमा समेत देखिएको छ । तर जोगबुडा क्षेत्रमा देखिएको बाघ भने अन्त देखिएको छैन । यसकारण भारतको नन्धौर नेश्नल पार्कबाट पनि आएको हुन सक्ने निकुञ्जका कर्मचारीहरु बताउछन् ।

निकुञ्जभित्र निर्माण भइरहेका सडक, सिंचाइ आदीको संरचनासँगै कोर एरियामै भएको बस्तीका कारण बाघ लगायत वन्यजन्तुको विचरणमा समस्या भइरहेको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरुको पुर्नस्थापना हुन नसक्दा उनीहरु अहिले पनि निकुञ्जको कोर एरिया (ढाक्का शिविर) मै बसोबास गरिरहेका छन् । २०२२ को राष्ट्रिय गणनाले समेत निकुञ्जमा देखिएका बाघहरुको विचरण पुर्वी क्षेत्रमा हुन नसकेको देखाएको छ ।

निकुञ्जमा आहारा प्रजातीको घनत्व राम्रो भएका कारण बाघको संख्या निरन्तर बृद्धि भइरहेको हो । २०२२ को गणना अनुसार प्रति वर्ग किलोमिटरमा १४६ दशमलव २ आहारा प्रजाती रहेको देखाएको छ । चार वर्षअघिको राष्ट्रिय गणना भन्दा झण्डै दोब्बर हो ।

प्रकाशित : मंसिर २२, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?