१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

धम्क्याएर रकम माग्ने दुई पक्राउ

भवानी भट्ट

कञ्चनपुर — जिल्लाको बेदकोट नगरपालिका-७ सुडाका एक व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जनालाई पक्राउ गरिएको छ । 

धम्क्याएर रकम माग्ने दुई पक्राउ

व्यवसायीलाई फोनबाट धम्क्याएर ५ लाख रकम मागेको आरोपमा प्रहरीले महेन्द्रनगरमा बसोबास गर्ने बैतडी दोगडाकेदार- ७ का ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका-१ का नरेश साउदलाई पक्राउ गरेको हो । भनेअनुसार रकम नदिए परिवारका सदस्य वा स्वयं व्यवसायीलाई नै खतरा हुन सक्ने भन्दै उनीहरुले धम्की दिँदै आएका थिए । प्रहरीका अनुसार जोशी र साउदले फरक-फरक सिम प्रयोग गरेर डर, धम्की दिँदै रकम माग्ने गरेका थिए ।

पक्राउ परेका जोशी र साउदको साथबाट खुकुरी, चक्कु, ६ थान सिमकार्ड, ३ थान मोबाइल र मोटरसाइकल बरामद गरिएको छ । ‘प्रहरीले केही दिनदेखि उनीहरुको खोजी गरिरहेको थियो, हामीकहाँ केही उजुरी पनि आएको थियो,’ पक्राउ परेका दुवै जनालाई सोमबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भने, ‘फोनमार्फत डर देखाउने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको छ ।’

जोशीले महेन्द्रनगर बजारमा होटेल सञ्चालन गरेका छन् । उनले होटेलमै बसेर फोनमार्फत धम्काउने र रकम माग्ने गरेका थिए । रकम लिन भने साउदलाई पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले म्यासेज समेत पठाएर पार्टीको निर्णय भन्दै डर देखाउने गरेको पाइएको छ । उनीहरुले पनि रकम माग्न धम्की दिएको स्वीकारेका छन् ।

पक्राउ परेका दुवै जनालाई अपराधसंहिता २०७४ अनुसार मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?