बैतडीमा दुई फरार अभियुक्त पक्राउ

दार्चुला — बैतडीमा भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । ६ महिनाअघि सजाय सुनाइएका दुवै जनालाई घरबाटै प्रहरीले पक्राउ गरेको बैतडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही गाउँपालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका छन् । उनीहरूलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू दुवै जनालाई २०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि दुवै जना फरार सूचीमा रहेकोमा ६ महिनापछि पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।
प्रकाशित : आश्विन १५, २०८० १६:०४