टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

धनगढी — कैलालीको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सेवाहरु ठप्प पारेका छन् । विभिन्न अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनेक्रम नरोकिएको भन्दै ६ दिनदेखि आन्दोलित टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले शुक्रबारदेखि सेवा बन्द गरेका हुन् ।

उनीहरुले टीकापुर बजार परिक्रमा गर्दै प्लेकार्ड र व्यानरसहित विरोध प्रदर्शनसमेत गरे ।
विरोधका कार्यक्रममा टीकापुर अस्पतालसहित निजी अस्पतालका स्वास्थ्यकर्मीहरु एकसाथ सडकमा उत्रिएका थिए । शनिबार बिहान पनि उनीहरुले विरोध प्रदर्शनसहित कोणसभा गरेका छन् ।
‘विभिन्न बहानामा एकपछि अर्को गर्दै चिकित्सक र स्वास्थ्यर्मी, स्वास्थ्य संस्थामाथि हुने आक्रमण घटना दोहोरिन थाले,’ टीकापुर अस्पतालका प्रमुख डा. रेमकुमार राईले भने, ‘हाम्रो अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु शुक्रबारदेखि नै ओपीडी सेवासमेत बन्द गरेर विरोध प्रदर्शनमा जाने निर्णय गर्नुभयो । हुन पनि कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीले आफू असुरक्षित अवस्थामा रहेर बिरामीको स्वास्थ्य उपचार गर्ने वातावरण हुन्न ।’
प्रकाशित : आश्विन १३, २०८० १७:००