कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामारोशन हिँडेका विदेशी पर्यटक बाटोमै अलपत्र

पूर्वसूचनाबिनै एकैपटक आएका पर्यटकको समूहलाई स्थानीय प्रशासनले बाटोमा राेकेर प्रदेश र संघ सरकारको अनुमति पर्खिँदै
मेनुका ढुंगाना

अछाम — सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्र रामारोशन घुम्न आइरहेका विभिन्न मुलुकका पर्यटकलाई स्थानीय प्रशासनले बाटोमै राेकेको छ । रामारोशन घुमफिःरको अनुमति छुट्टै लिनुपर्ने भन्दै राेकेको हो । यात्रीको समूह अनुमति नपाउँदा अलपत्र परेका छन् । ३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका छन् भने २२ जना पाँच दिनदेखि अछाम प्रवेश गर्ने विभिन्न ठाउँमा रोकिएका हुन् ।

रामारोशन हिँडेका विदेशी पर्यटक बाटोमै अलपत्र

अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार रामारोशन क्षेत्रमा ३९, बेलखेत, चौखुट्टे र जयगढमा २२ जना विदेशी पर्यटक टेन्ट राखेर बसेका छन् ।

सामाजिक सञ्जालको माध्यमबाट जोडिएका विभिन्न देशका २ हजार जनाभन्दा बढी पर्यटक रामारोशन घुम्न आउन लागेको उनीहरुले प्रहरीलाई बताएका छन् । रामारोशन जाने छुट्टै अनुमति नलिएको थाहा पाएपछि उनीहरुलाई यथास्थितिमा रोकिएको डीएसपी पाठकले बताए । ‘विदेशीहरु अछाम आउने क्रम जारी छ । उनीहरुले नै विश्वका धेरै देशबाट थप पर्यटक पनि आउँदै गरेको बताएका छन् । इजाजत नहुँदासम्म हामीले रोकेका हौं,’ उनले भने, ‘उनीहरु भएको क्षेत्रमा अहिले सुरक्षा कडा पारेका छौं ।’

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदका अनुसार भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक यहाँ पुगेका छन् । उनी भने एकैपटक धेरै देशका पर्यटक रामारोशन आउनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक रहेको बताउँछन् ।

यसअघि रामारोशन क्षेत्रमा विदेशी पर्यटकको रुपमा कोही नआएकाले स्थानीय तहका लागि पनि नयाँ अभ्यास गर्ने मौका भएको उनले बताए । ‘उनीहरुलाई रामारोशन प्रवेश अनुमति दिने विषयमा सहजीकरण भइरहेको छ,’ उनले भने,‘यसका लागि प्रदेश र संघ सरकारसँग कुरा भइरहेको छ ।’ गाउँकार्यपालिकाले आइतबार निर्णय गरेर गृह मन्त्रालय, पर्यटन मन्त्रालय र सूदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति उपलब्ध गराइदिन पत्राचार गरिएको उनले बताए ।

बुटवलका सुजन खनालले सामाजिक सञ्जाल फेसबुकबाट नेपालका विभिन्न पर्यटकीयस्थल बारे दिएको जानकारीका आधारमा विदेशी नागरिक यहाँ पुगेको अछामका प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । तीन हजारभन्दा बढी विदेशी नागरिकले १ देखि २ महिनासम्म रामारोशन क्षेत्रमा बस्न चाहेको जानकारी आफूले पाएको उनले बताए । ‘रामारोशन क्षेत्र जानका लागि विदेशीहरु थपिने क्रम जारी छ । इजाजत नलिइ आएकालाई नेपालको कानुनबारे जानकारी दिने र उनीहरुलाई सुरक्षा दिने हाम्रो काम हो,’ प्रजिअ पोखरेलले भने,‘अहिलेसम्म पुगेकाहरु भारतीय नाका हुँदै नेपाल प्रवेश गरेको पाइयो ।’

हजारौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्न चाहँदा सुरक्षा, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानी, फोहोरमैला जस्ता विषय चुनौतीको रुपमा रहेको प्रजिअ पोखरेलको जिकिर छ। वातावरणीय प्रभावको बारेमा पनि सोच्नुपर्ने उनी बताउँछन् । सोमबार प्रशासनमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग पर्यटक भित्र्याउन समन्वय गरिरहेका खनाल र केही विदेशी पर्यटक बीच छलफल पनि भएको थियो ।

‘पालिकाले आइतबार गरेको निर्णय मैले एक दिन ढिलो जानकारी पाएँ । विदेशीलाई नेपाल ल्याउने सुजन खनाल, केही विदेशीहरु बीच कुरा भयो,’ उनले भने, ‘पर्यटककै रुपमा अछाम आएका सबै विदेशीहरुसँग १ देखि ३ महिनाको नेपालको भिसा छ ।’ अब रामारोशन जान दिन केन्द्र र प्रदेश सरकारको निर्णय पर्खिरहेको उनले बताए ।

विश्वका ३० भन्दा बढी देशका नागरिक जोडिएको फेसबुक समूह ‘रेन्बो फेमिली ग्रुप’ बाट चिनजान भएर विदेशी नागरिकहरुसँग जोडिएको सुजन खनालले बताए । उनीहरु विश्वका विभिन्न देशमा पर्यटकको रुपमा गएर लामो समय बिताउने र पारिवारिक माहोलमा रमाइलो गर्ने गरेको उनको भनाइ छ । विदेशीहरुले नेपालमा घुम्न आउने इच्छा देखाएको र नेपालका पर्यटकीय क्षेत्र खोज्ने जिम्मा आफूलाई दिएको खनालले बताए ।

विदेशी पर्यटकलाई पश्चिम नेपालतिर पनि लैजानुपर्छ भन्ने सोचले एक महिनादेखि उनीहरुलाई ल्याउने स्थान खोजिरहेको उनको प्रष्टीकरण छ । ‘म विदेशीसँग जोडिएपछि नेपाल आउने कुरा भयो । मलाई ठाउँ खोज्ने जिम्मा दिएकाले पश्चिम नेपालका धेरै स्थान बारे खोज्दै जाँदा रामारोशन उपयुक्त लाग्यो,’ उनले भने, ‘२२ दिन अगाडि म लगायत अन्य दुई जना विदेशी रामारोशनमा पुगेर अरुलाई पनि बोलाउने सोच गरेर फर्केका थियौं ।’

समुद्र सतहबाट करिब २५०० मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, अठार खण्ड’ का नामले परिचित छ । १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको यो क्षेत्र करिब ५–७ किलोमिटर रेडियसमा फैलिएको छ । यहाँ अंग्रजी ‘सी’ आकारमा डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको जिंगाले ताल छ भने किनिमिनी नामको एउटै घाँसेमैदान ७ सय रोपनीमा फैलिएको छ । मनोरम प्राकृतिक क्षेत्र भएकाले विदेशीले यहाँ आउन चाहेको उनले बताए । उनीहरु भारतलगायतका धेरै देशमा यसअघि यसैगरी बसेको उनको भनाइ छ । उनीहरुले योग, ध्यान, थेरापी र मनोरञ्जनलाई बढी जोड दिने गरेको उनले बताए ।

यहाँ आउन चाहेका सबै विदेशीसँग नेपालको भिसा भएकाले छुट्टै अनुमति नचाहिने सोचेर अन्य प्रक्रियामा नगएको उनले बताए । ‘स्थानीयदेखि जनप्रतिनिधिसँग सामान्य कुरा भएर स्थान हेरेर गएका हौं । भिसा पनि भएकाले अन्य अनुमति चाहिदैन होला जस्तो लाग्यो,’ खनालले भने, ‘एक महिनासम्म बस्ने र जंगल क्षेत्र भएकाले स्थानीय तह, प्रदेश र संघको पनि अनुमति चाहिने रहेछ ।’ स्थानीय तहले रामारोशन जान दिनका लागि प्रदेश र संघसँग अनुमति मागेको उनले बताए ।

रामारोशन आउन चाहेका विदेशीहरुको समूहमा बालबालिका, ज्येष्ठ नागरिक पनि रहेकाले पाँच दिनदेखि अछामको चौखुट्टे, जयगढ र बेलखेतमा अलपत्र अवस्थामा छन् । नेपालको भिसा लिएर आएका पर्यटकलाई रामारोशन जान दिने/नदिने बारे चाँडो निर्णय गरिदिन पनि उनले आग्रह गरे ।

प्रकाशित : आश्विन १, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्