कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

जसलाई तीजको चहलपहलले छुँदैन

आश्विन १, २०८०
जसलाई तीजको चहलपहलले छुँदैन

अछाम — सहरदेखि गाउँसम्म तीजको रौनक छ । सहरतिर महिना दिनदेखि नै नाच्ने गाउने र रमाइलो गर्ने गतिविधि भइरहेका छन् । विपन्न परिवारका महिलालाई भने तीजको चहलपहलले छोएको छैन । मंगलसेन नगरपालिका–५ की सेतु विक ५० वर्षकी भइन् ।

उनलाई तीजबारे खासै थाहा हुँदैन । सबेरै उठेर भैंसी दुहुने, एक हातमा दूध र पिठ्युँमा दाउराको भारी बोकेर बजार पसेपछि उनको दैनिकी सुरु हुन्छ ।

दाउरा र दूध बेचेर उनले गुजारा चलाउँदै आएकी उनी गाउँको बचत समूहमा पनि आबद्ध छिन् । तर उनी समूहले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी भएकी छैनन् । ‘समूहमा एक जनाबाट कम्तीमा एक हजार उठाउने र दर खाने कार्यक्रम राख्ने भन्ने सल्लाह भएको रैछ,’ उनले भनिन्, ‘मैले त्यता पैसा तिरेर रमाइलो गर्नलाई १५ दिन दाउरा बेच्नुपर्छ । सबैले एकैनासका सारी लगाउनुपर्छ भन्छन् । त्यसरी तडकभडक गर्न म सक्दिनँ ।’

मंगलसेन–५ की ३८ वर्षीया बिन्द्रा भाट मजदुरी गरेर गुजारा चलाउँछिन् । पाँच छोराछारीको पालनपोषण, पढाइको सबै जिम्मेवारी बिन्द्रामाथि छ । जब चाडपर्व नजिकिन थाल्छ उनलाई पनि तनाव थपिन्छ । विशेषगरी तीजको चहलपहल र तडकभडकमा आफू मिसिन नसक्ने भन्दै उनी लेकतिर केही समय बसाइँ सर्छिन् । ‘बजार नजिकै घर छ । सबैको तडकभडक देखिन्छ । आफ्नो त्यसरी लगाउने, खाने हैसियत पुग्दैन,’ उनले भनिन्, ‘यस्तो बेला केटाकेटीले पनि सताउँछन् । त्यसैले लेकमा खेतीबारी र खर्क छ त्यतै बस्छु ।’

बिरामी श्रीमान्को हेरचाह र छोराछोरीको जिम्मेवारीले तीज जस्ता चाडपर्वको रमाइलो महसुस गर्न नपाएको उनले बताइन् । गाउँका सबै महिलाले एउटै पहिरन लगाउँदा आफू एक्लै हुने गरेको उनी बताउँछिन् । ‘खर्च गर्न सक्ने, गरगहना लगाउन सक्नेका लागि तीज ठिकै हो । मजस्ता महिलाका लागि यस्तो खर्चिलो चाडपर्व कहिल्यै न आए पनि हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन् ।

मंगलसेन–५ की ३५ वर्षीया तारा ढुंगाना पनि तीजको रमाइलो, जमघटबाट टाढै छिन् । बिहानसाँझ घरको काम र दिउँसो मजदुरी गर्ने तारा तीजलाई रमाइलो तरिकाले मनाउन सकेकी छैनन् । ‘पहिले पहिले तीजका व्रत बस्नेहरू अघिल्लो दिन दर खान्थे । पछिल्लो दिन गाउँका सबै दिदीबहिनी एकै ठाउँमा बसेर रमाइलो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले एक महिना अगाडिबाट तीज सुरु हुन्छ । हेर्दाहेर्दै गरिबले मनाउन नसक्ने चाड भएछ ।’ तीजले एकै समाजमा बस्ने महिलालाई दुई भागमा बाँडेको उनको भनाइ छ ।

तीजमा मात्रै होइन, स्थानीय तहले महिलासम्बन्धी गर्ने हरेक अभियान र कार्यक्रममा पनि आफूहरूले खबर नपाउने गरेको उनको गुनासो छ । ‘जता पनि हुनेखानेकै पहुँच छ । नगरपालिकाले पनि महिलालाई तीजको दर खुवाउँछ भन्ने सुनेका छौं । त्यो हामी जस्ता महिलाका लागि होइन होला,’ उनले भनिन्, ‘कुनै कार्यक्रममा पनि हामी खबर पाउँदैनौं । मेलापात घाँस दाउरामै समय बितेको छ ।’

पछिल्लो समय तीजका नाममा धेरै तडकभडक भएको बान्नगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष बिन्दु रावलले बताइन् । स्थानीय तहले तीजका नाममा बजेट छुट्याएर सीमित महिलालाई मात्रै समेट्न नहुने उनी बताउँछिन् । ‘हाम्र्रो पालिकामा अघिल्ला वर्ष तीजको दर खाने नाममा एक लाख जति बजेट छुट्याउने र केही सीमित महिला र गाउँपालिकाका महिला कर्मचारीले दर खाने गर्दा रहेछन्,’ उनले भनिन्, ‘कार्यालयले दर खुवाउने हो भने पालिकाभरका सबै महिलालाई खुवाउनुपर्‍यो होइन भने यो रोक्नुपर्छ भनेर मैले अडान लिएकी छु ।’

उपाध्यक्ष रावलका अनुसार गाउँपालिकाका महिला कर्मचारी र सीमित महिलालाई बोलाएर दर खाने कार्यक्रम हटाएर छुट्याएको ६० हजारमा तीजको मौलिक संस्कृति संरक्षणका लागि खर्च गर्न थालिएको उनले बताइन् । ‘तीजको मौलिकता प्रदर्शन गर्ने एक कार्यक्रम हुँदै छ । त्यता महिलालाई सहभागी गराउने र त्यतै खर्च गर्ने तयारी छ,’ उनले भनिन् । स्थानीय तहले केही पहुँच भएका महिलालाई जम्मा गरेर तीजका कार्यक्रम गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १, २०८० १०:०९
×