२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

दार्चुला खण्डेश्वरीमा खाद्यान्न मौज्दात शून्य

उब्जनी न्यून क्षेत्रका स्थानीयवासी बिक्री केन्द्रहरुमा खाद्यान्न मौज्दात नहुँदा समस्यामा
मनोज बडू

दार्चुला — अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी क्षेत्रका बासिन्दालाई चाडबाडमा खाद्यान्न महँगो पर्ने भएको छ । यहाँको खाद्य डिपोमा खाद्यान्न मौज्दात शून्य भएको छ । यातायातको पहुँचबाट टाढा जिल्लाको दुर्गम खाद्य डिपो खण्डेश्वरीमा चामल ढुवानी नभएपछि यस्तो अवस्था आएको हो ।

दार्चुला खण्डेश्वरीमा खाद्यान्न मौज्दात शून्य

अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा गाडी पुग्दैन । उक्त क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोबाट गाउँलेले चामल किन्ने गरेका थिए । लामो समयदेखि खाद्यान्न ढुवानी रोकिएको छ । ‘पाँच/सात दिनअघिसम्म ६ क्विन्टल चामल मौज्दात थियो । त्यो सकियो‚ अरु आइपुगेन‚’ खण्डेश्वरी डिपोका कर्मचारी नरभानसिह ठेकरेले भने, ‘तत्काल चामल ढुवानी हुने अवस्था छैन । ढुवानीको ठेक्का प्रक्रियामै भएकाले दसैं अगावै चामल आउने सम्भावना कम देखिन्छ ।’

गत वर्ष अपीहिमाल गाउँपालिकाले चार हजार क्विन्टल चामल माग गरेकोमा खाद्य व्यवस्था कम्पनीबाट १ हजार ७ सय ३४ क्विन्टल मात्र ढुवानी भएको थियो । शुक्रवार मात्र कम्पनीले खण्डेश्वरी डिपोका लागि एक हजार क्विन्टल चामल ढुवानीका लागि ठेक्का प्रक्रियामा रहेको र स्वीकृत हुन बाँकी रहेको ठेकरेले जानकारी दिए ।

वर्षायाममा खाद्यान्न ढुवानी नहुँदा जिल्ला सदरमुकामको खाद्य बिक्री केन्द्र खलंगाबाहेक खाद्य डिपो र बिक्री केन्द्रमा खाद्यान्न मौज्दात छैन । सदरमुकाम खलंगाबाहेक जिल्लाका अन्य बिक्री केन्द्रहरुमा सडक अवरुद्ध छन् । गत आर्थिक वर्ष सरकारले तोकेको भाडामा ढुवानी व्यवसायीहरुले चामल बोक्न नचाहेकाले खाद्यान्न मौज्दात गर्न समस्या भएको देखिन्छ ।

व्यापार कम्पनीको खलंगा बिक्री केन्द्रको गोदाममा अहिले चानचुन एक महिनाका लागि खाद्यान्न मौज्दात रहेको स्टोरकिपरसमेत रहेका ठेकरेले बताए । सदरमुकामको गोदाममा अरुवा र मकवानपुरे ४१३ क्विन्टल मोटो चामल र १ सय ८० क्विन्टल मसिनो चामल मौज्दात छ । अहिले दैनिक २५/३० क्विन्टल चामल बिक्री हुन्छ । यो हिसाबले मौज्दात चामल एक महिना पनि नपुग्ने उनको भनाइ छ । खलंगा गोदामका लागि व्यापार कम्पनी लिमिटेडले १ हजार ९ सय क्विन्टल चामल ढुवानी ठेक्का प्रक्रियामा छ ।

वर्षा सुरु भएपछि खलंगा बिक्री केन्द्रबाहेक अन्य ठाउँमा चामल ढुवानी हुन सकेको छैन । गत वर्ष मागअनुसार खाद्यान्न ढुवानी नहुँदा अहिले बिक्री केन्द्रहरु रित्तिएको हो । बिक्री केन्द्रहरुमा स्थानीय उपभोक्ता खाद्यान्न खरिदका लागि आउने गरेका छन् । बिक्री केन्द्रमा चामल नहुँदा खाली हात फर्कनुपरेको अपीहिमाल-४ का जमनसिह मन्यालले बताए । तीन/चार दिनअघि खण्डेश्वरीमा चामल सकिएको छ । खाद्यको बिक्री केन्द्रमा चामल नभएपछि स्थानीयलाई समस्या भएको छ । चाडपर्व सुरु हुन थालेका छन् । सरकारको खाद्य पसलमा खाद्यान्न नभएको स्थानीयको गुनासो छ ।

खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने दार्चुलाका अपीहिमाल र व्यास गाउँपालिकाका कम्पनीका डिपो र बिक्री केन्द्रमा मौज्दात नरहेकाले खाद्यान्न अभाव बढ्ने सम्भावना छ । अपीहिमालका ३, ४ र ५ वडाका स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्यको डिपोमै निर्भर रहनुपर्ने बाध्यतामा हुन्छन् । उब्जनी न्यून क्षेत्रका स्थानीय अधिकांश समय किनेर खानुपर्ने बाध्यतामा रहेका हुनाले बिक्री केन्द्रहरुमा खाद्यान्न मौज्दात नहुँदा समस्या भोगिरहेको बताउँछन् । जिल्लाका खलंगा गोदामसहित सुन्सेरा, कुणी, रातामाटा, घुसा, सितोला, नागु, खण्डेश्वरी, पारिबगर, राप्ला, दुम्लिङ्, माल, व्यास बिक्री केन्द्रका लागि साढे ८ हजार क्विन्टल चामल ढुवानीका लागि ठेक्का प्रक्रियामा छ । उक्त बिक्री केन्द्र र गोदामका लागि ठेक्का प्रक्रियामा रहेको र स्वीकृत हुन बाँकी छ ।

केही ठाउँका गाउँले डिपोमा चामल किन्न आएर नपाएपछि बजारको महँगोमा किनेर घर फर्किएका छन् । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो छैन । सरकारका बिक्री केन्द्रहरुमा मोटो चामल प्रतिकिलो ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ६० देखि ७५ रुपैयाँमा चामल किन्ने गरेका छन् ।

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया टुंगो नलागेकाले कहिले ढुवानी हुने भन्ने यकिन नभएको खाद्य कम्पनीको दार्चुला शाखाले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?