कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

महाकालीको कटान निरन्तर, बाढी बस्तीमा पस्दा डुबान

महाकाली नदीको जलस्तर बढेपछि सोमबार बिहानैदेखि जोखिम भएर शारदा ब्यारेजमा बन्द सवारी आवागमन अझै खुलेन
भवानी भट्ट

कञ्चनपुर — वर्षायामको सुरुआतसँगै महाकाली नदीमा जलस्तर बढदै जान्छ । जलस्तर बढ्न थालेपछि नदीकिनारका बासिन्दालाई सतर्क रहन साइरन बज्छ । फोनमा म्यासेज पनि आउँछ । त्यतिबेला दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरवासीको भागाभाग चल्छ । लालाबालासहित सबैजना सुरक्षित स्थानतर्फ जान दौडिन्छन् । 

महाकालीको कटान निरन्तर, बाढी बस्तीमा पस्दा डुबान

महाकाली र जोगबुडाको दोभानमा रहेको दोधारा चाँदनीको पुछारको बस्तीमा सोमबार पनि यस्तै भयो । दिउॅसोको समयमा एकाएक महाकालीको बाढी बस्तीमा पस्न थालेपछि सबै सुरक्षित स्थानतर्फ जाने तयारीमा जुटे । कतिपयले बाढी धेरै आउने आकलनका साथ डुंगा पनि तयार गरे ।

केहीबेरमा महाकालीको जलस्तर घटेपछि कुतियाकभरवासीले राहतको सास फेरे । ‘हेर्दाहेर्दै बाढी बस्तीमा पस्यो, सबैको भागाभाग चल्यो,’ स्थानीय टेकबहादुर सुनारले भने, ‘एकैछिनमा सुरक्षाकर्मीको टोली पनि उद्धारका लागि पुग्यो ।’ उनका अनुसार एकैछिनको बाढीले धानखेतमा कटान गरेको छ ।

कुतियाकभरमा महाकालीले एक महिनादेखि निरन्तर कटान गरिरहेको छ । नेपाल–भारत सीमा नजिकै डेढ सय मिटरजति कटान गरिसकेको छ । नैनसिंह सुनारको घर उच्च जोखिममा छ । कटान रोक्न विभिन्न संघसंस्थाको सहयोगमा जैविक तटबन्ध निर्माण पनि भएको छ । तर यसले कटान रोकिएको छैन ।

कुतियाकभरमा ४२ परिवारको बसोबास छ । यहाँ बर्खायाममा जहिल्यै बाढीको त्रास हुन्छ । जोगबुडा नदीले समेत यहाँ बर्सेनि दुःख दिने गरेको छ । दुई वर्षअघि महाकाली र जोगबुडा नदीको बाढीले यो बस्ती पुरै जलमग्न भएको थियो । त्यतिबेला कुतियाकभरवासीलाई ज्यान जोगाउन समेत मुस्किल भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको हो ।

‘अहिले त बाढी घट्यो, फेरि कतिबेला वस्तीमा पस्ने हो भन्ने चिन्ता छ,’ सुनारले भने, ‘एकातिर महाकालीले निरन्तर कटान गरिरहेको छ, अर्कोतिर वस्तीमै बाढी पसेर डुबान पनि भयो, यस्तो अवस्थामा हामीलाई बाढीका बखत घरवार छोडेर अन्यत्र जान सुरक्षित ठाउॅ पनि छैन ।’

बर्खायाममा जहिल्यै त्रासमै बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय खडके बुढा बताउँछन् । बाढी वस्तीमा आउनेवित्तिकै उद्धारका लागि उनले नदी किनारमै काठको डुंगासमेत राखेका थिए । यसपटक असारकै बाढीले डुंगा बगाएर लग्यो । अब उद्धार गर्न पनि डुंगा नहॅुदा झनै गाह्रो हुने उनी बताउँछन् ।

‘कतिबेला साइरन बज्छ, कतिबेला फोनमा म्यासेज आउँछ भनेर डरैडरमा बसेका छौं,’ बुढाले भने, ‘अब त लगातारको कटानले बस्ती झन् झन् जोखिममा परेको छ ।’ उनका अनुसार एक महिनाको अवधिमा आधा बिघा जमिन कटान गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार सोमबार दिउॅसो बस्तीमा पसेको बाढी साँझपख घटेको थियो । महाकालीमा पानीको बहाव घटेसॅंगै बस्तीमा पसेको बाढी पनि कम भएको हो । ‘तीन/चार बिघा जमिनको धान पटान गरेको छ,’ इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक अर्जुन साउदले भने, ‘एकछिनमै बाढी घटिहाल्यो ।’

उनका अनुसार बाढीले अहिले पनि उक्त क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । तत्काल रोकथामका लागि कुनै काम गर्न सकिने अवस्था पनि छैन । महाकाली मात्रै होइन जोगबुडामा समेत ठूलो बाढी आउँदा कुतियाकभर बस्ती डुबानमा पर्ने गर्छ । त्यतिबेला जोगबुडा नदीमा बनेको झोलुंगे पुलसम्म पुग्न समेत दुवैतिर बाढी भरिंदा डुंगाकै प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।

सोमबार दिउॅसो महाकालीमा पानीको बहाव १ लाख ९६ हजार क्युसेक पुगेको थियो । मंगलबार समेत महाकालीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक छ । बाढी बस्तीमा पस्ने जोखिम घटे पनि कटान नरोकिँदा त्रास भने कायमै रहेको स्थानीय बताउँछन् ।

उसो त कुतियाकभरमा हिउॅदमा समेत कटान भइरहन्छ । भारतीय पक्षले शारदा नहरको पानी जोगबुडामा छाडदा हिउॅदमा समेत कटान हुने गरेको हो । स्थानीयले पटक–पटक बस्ती नै सुरक्षित स्थानमा सारिदिन समेत माग गर्दै आएका छन् ।

यसैबीच महाकालीमा पानीको बहाव बढेपछि सोमबार बिहानैदेखि चार पांग्रे सवारीसाधनका लागि बन्द गरिएको शारदा ब्यारेजको पुल अझै खुलेको छैन । सोमबार महाकालीमा पानीको बहाव १ लाख ९६ हजार क्युसेक पुगेको थियो । मंगलबार पनि पानीको बहाव १ लाख ५ हजार क्युसेक छ ।

पानीको बहाव १ लाख क्युसेकभन्दा तल नपुग्दासम्म पुल चार पांग्रे सवारीसाधनको आवागमनका लागि खुल्दैन । पुल पुरानो र जीर्ण भएका कारण पानीको बहाव बढी हुँदा जोखिम हुन सक्ने भन्दै ठुला सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?