पश्‍चिम तराईमा गर्मीले जनजीवन प्रभावित

खेतमा धान रोपाइँको तयारी गरिरहेका किसानको दैनिक कामकाज पनि गर्मीका कारण प्रभावित बनेको छ । गर्मीबाट जोगिन उनीहरु साँझबिहान मात्रै खेतमा जाने गरेका छन् ।

धनगढी/कञ्चनपुर — पश्चिम तराईमा प्रचण्ड गर्मीसँगै तातो लू चल्न थालेपछि जनजीवन प्रभावित भएको छ । किसानहरूलाई दिउँसो कामका लागि घर बाहिर निस्कन मुस्किल भएको छ । गर्मीका कारण कैललाीका स्थानीय सरकारले आइतबारदेखि चार दिनका लागि विद्यालय बन्द गराउने निर्णय गरेका छन् ।

पश्‍चिम तराईमा गर्मीले जनजीवन प्रभावित

केही दिनदेखि बढेको अत्याधिक गर्मी र दिउँसो तातो हावा लु चल्न थालेपछि दिनहुं काम गर्ने मजदुरहरु दिउसोको भिषण गर्मीमा काम बन्द गर्न बाध्य भएका छन् । धनगढीका राजमिस्त्री दुखीराम चौधरीले घर निर्माणका मजदुर र मिस्त्रीलाई दिउँसोको समयमा काम गराउन गाहृो भएको बताए । ‘बिहान र बेलुकाको समयमा काम गराउनु पर्ने स्थिति छ’ उनले भने । उनले मजदुरले पूरा ८ घण्टा काम नगरे ज्याला समेत कम पाउने बताए । उनका अनुसार साँझ बिहानको ४ घण्टा काम गर्दा आधा ज्यालादारी पाइरहेका छन् ।

गर्मीका कारण बजारमा ठेला रिक्सा चालकहरुलाई समेत समस्या भएको छ । बजारमा दिउँसो किनमेल पनि घट्दै गएको र कारोवार प्रभावित हुन पुगेको धनगढी एलएन चोकका ब्यापारी रमेश जोशीले बताए । गर्मीको विद्युतको खपत बढेर विद्युत आपूर्तिमा समेत समस्या देखापरेको छ । बत्ती आउने-जाने समस्या बढेको छ ।

यसबेला खेतमा धान रोपाइँको तयारी गरिरहेका किसानको दैनिक कामकाज पनि गर्मीका कारण प्रभावित बनेको छ । गर्मीबाट जोगिन उनीहरु साँझबिहान मात्रै खेतमा काम गर्न जाने गरेका छन् । धनगढी उप महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण बोहराले नगरपालिकाका १९ वडाका स्वास्थ्यचौकीहरुमा गर्मीका कारण बिरामी बढेको बताए ।

कैलालीको अत्तरियास्थित मौसम विज्ञानको फिल्ड कार्यालयका अनुसार कैलाली र कञ्चनपुरको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । यो साता शुक्रबार र शनिबार तापक्रम बढेर ४०.५ डिग्री सेल्सिएस पुगेको कार्यालयका मौसम विज्ञान सहायक वीरेन्द्र पसाद कुसवाले बताए । पश्चिम तराईको तापक्रम ४४ डिग्रीसम्म पुग्ने गरेको छ ।

खोप अभियानका लागि विद्यालय १० बजेसम्म मात्रै खुल्ने

कञ्चनपुरमा गर्मी बढेपछि विद्यालयहरु पनि बिहान १० बजेसम्म मात्रै सञ्चालन गरिएका छन् । जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान चलिरहेका कारण १० बजेसम्म मात्रै विद्यालय सञ्चालन गरिएको हो । खोप केन्द्र विद्यालयमै राखिएको छ । विद्यार्थी नआएपछि खोप अभियान प्रभावित हुनसक्ने भन्दै पूर्ण रुपमा बिदा नगरिएको हो ।

‘खोप अभियानभर १० बजेसम्म विद्यालय सञ्चालन गर्ने भनेका छौं । त्यसपछि पनि गर्मी कम नभए पूर्ण बिदा गरिनेछ,’ भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले भने, ‘अहिले नै विद्यालय बन्द गर्दा खोप अभियान प्रभावित हुने देखिन्छ ।’

कञ्चनपुरमा जेठ २६ देखि ३२ सम्म दादुरा र रुवेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लामा दादुराको प्रकोप देखिएपछि ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन थालिएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहले बिहानी सत्रमा मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहानी सत्र पनि खोप अभियानकै कारण सञ्चालन हुन लागेको हो । खोप अभियान सकिएपछि पनि गर्मी कम नभए बिदा गर्ने तयारी रहेको स्थानीय तहहरुले जनाएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरले पनि सबै स्थानीय तहलाई गर्मी बढेका कारण खोप अभियान प्रभावित नहुने गरी बिदा गर्न पत्राचार गरेको छ । सोही पत्रका आधारमा पालिकाहरुलाई बिहान १० बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित : जेष्ठ २७, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?