१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गेटा मेडिकल कलेज प्रतिष्ठान कि विश्‍वविद्यालय ? सरकार आफैं अन्योलमा

विश्वविद्यालयको माग गर्दै आन्दोलन चर्कियो
डीआर पन्त

धनगढी — ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको छ’ गेटा मेडिकल कलेज प्रांगणमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले २९ वैशाखमा गरेको घोषणा एक महिना पनि टिकेन । यसबीचमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्‍यो, त्यसमा पनि कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिने घोषणा भयो ।

गेटा मेडिकल कलेज प्रतिष्ठान कि विश्‍वविद्यालय ? सरकार आफैं अन्योलमा

तर बजेट प्रस्तुत हुँदा विश्वविद्यालयको ठाउॅंमा एक सय शय्या प्रतिष्ठान स्थापना गर्ने घोषणा भएपछि सुदूरपश्चिमवासीको वर्षौंदेखिको स्वाथ्य उपचार सपना अन्योलमा परेको छ ।

‘माननीयज्यू स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरको सपना हो । यसमा तपाईंको भूमिकाको खोजी गर्दैछौं,' बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं युवाहरुले सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई यस्तो एसएमएस पठाए ।

वीरबहादुर वलायर, डिल्लीराज पन्त र दामोदर भण्डारीवाहेक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रदेशबाट प्रतिनिधित्व गर्ने अन्य सांसदले विश्वविद्यालय स्थापनाका पक्षमा भूमिका निर्वाह नगरेको भन्दै युवाहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखिएको थियो । तर बजेट प्रस्तुत हुँदासम्म १ सय शैयाको प्रतिष्ठानमा सिमित पारियो । सुदूरपश्चिमले वर्षौंदेखि देखेको सपना पूरा गर्न अर्को विकल्प नदेखेपछि युवाहरु निर्णायक आन्दोलनमा उत्रिएका हुन् ।

‘पाँच दिनदेखि आन्दोलन जारी छ । संसदमा सुदूरपश्चिमका तीन सांसद वाहेक अरु बोल्दैनन्,' संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले भने, ‘विश्वविद्यालयका विषयमा बहस, सुदूरपश्चिमको प्रवेशद्वार अत्तरीया बन्द, सांसदहरुलाई एसएमएसपछि २८ गतेदेखि प्रदेशभर आमहडताल गर्ने निर्णय गरेका छौं ।’

‘कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान र कहिले विश्वविद्यालय भन्दै यस क्षेत्रका बासिन्दालाई झुक्याउने काम भयो,’ पाण्डेयले भने, ‘आन्दोलनको अर्को विकल्प नै रहेन ।’

कतै मेडिकल माफियाको प्रभावमा आफैं प्रस्तुत गरेको नीति तथा कार्यक्रमको महत्त्वपूर्ण घोषणाबाट सरकार पछि हटेको त होइन भन्ने आशंकाका कारण पनि आन्दोलन आवश्यक भएको पाण्डेयले बताए । स्थानीय रामचन्द्र अवस्थी पनि नेपाल-भारत दुबै तर्फका मेडिकल माफियाको प्रभावमा परेर अल्झाउने काम भएको बुझाइ रहेको बताउँछन् । ‘विभिन्न अस्पतालहरुमा शेयर रहेका व्यक्तिहरु नै यसको सञ्चालन प्रक्रियाका मुख्य भूमिकामा रहेका छन्,’ उनले भने, ‘यति ठूलो संरचना बनिसकेको छ, सरकार भने जनतालाई अल्मल्याउने गर पटकपटक आफ्नो निर्णय फेरिरहेका कारण नियतमा शंका उत्पन्न भएको हो ।’

२०५१ सालमा घोषणा भएको मेडिकल कलेज पाउन यस क्षेत्रका बासिन्दाले २८ वर्ष कुर्नु परेको पीडा नबिर्सिएको अत्तरिया टेक्नीकल कलेजका प्रमुख रामचन्द्र ऐर बताउँछन् । साथै सरकारको बजेट सार्वजनिक हुँदा प्रतिष्ठानमा खुम्चिनु सरकार कसैको प्रभावमा आएर विश्वविद्यालयबाट पछि हटेको सर्वसाधारणको बुझाइ रहेको बताउँछन् ऐर ।

प्रधानमन्त्रीले गेटा मेडिकल कलेजको प्रांगणमै आएर बोलेको स्मरण गर्दै उनले भने, ‘मोडालिटी तयार गरेर तुरुन्त विश्वविद्यालय विधेयक संसदमा आउँछ भन्ने प्रधानमन्त्री बजेट बनाउँदा किन पछि हटे ?’

५ अर्ब ४५ करोडको लगानीमा विभिन्न संरचना निर्माण भइसक्दा सरकार भने यसमा अन्योल बनिरहेको सम्बन्धित सरोकारवालाहरू बताउँछन् । यसबीचमा बजेटमा सय शय्याको प्रतिष्ठान स्थापना हुने उल्लेख गरिएको छ । खप्तड पुगेर प्रधानमन्त्रीले पनि विश्वविद्यालय विधेयक ल्याउने घोषणा दोहोर्‍याइसकेका छन् । तैपनि सरकार यसबारे स्पष्ट छैन ।

५ अर्ब ४५ करोडको लगानीमा विभिन्न आवश्यक संरचना निर्माण भइसकेका छन् । सरकारले तत्काल ५ सय शय्याको अस्पतालसँगै विश्वविद्यालय सञ्चालन गर्न सकिने भौतिकपूर्वाधार तयार भएको छ । थप पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा पनि उपलब्ध छ । सरकार भने पटक पटक निर्णयमा परिवर्तन गर्न थालेपछि विश्वविद्यालय स्थापना हुन नदिन ठूलो चलखेल भएको आशंका यस क्षेत्रका अगुवाहरूको छ ।

भौतिक पूर्वाधार निर्माण भएपछि एक वर्षसम्म मेडिकल कलेज कि स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने विवाद भयो । पछिल्लो एक वर्ष फेरि विश्वविद्यालय स्थापना गर्ने कि नगर्ने भन्नेमै अल्झियो । सरकारले विश्वविद्यालय स्थापना गर्ने नीति तथा कार्यक्रम पास गरेपछि बजेट आउँदा फेरि प्रतिष्ठान स्थापना हुने उल्लेख भएपछि सुदूरपश्चिमवासी आन्दोलित भएका हुन् ।

यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद वीरबहादुर बलायर भने आवश्यक पूर्वाधार तयार गरी विश्वविद्यालय स्थापना हुनुपर्ने आफ्नो धारणा रहेको बताउँछन् । प्रतिनिधिसभामा पनि उनले विश्वविद्यालय स्थापनाका लागि चाहिने आवश्यक जनशक्ति र पूर्वाधार तयार गर्न तत्काल काम सुरु हुनुपर्ने माग गरेका थिए ।

तर पूर्वाधार नहुँदै स्वास्थ्य विज्ञान विश्वविद्यालय जस्तो जटिल प्रक्रिया अगाडि बढ्न नसक्ने पनि उनको भनाइ छ । ‘अस्पताल चाहियो, जनशक्ति चाहियो, आवश्यक मेडिकल उपकरण हुनुपर्‍यो, त्यसपछि मात्र विश्वविद्यालय सञ्चालन गर्न सकिने भएकाले यस्ता पूर्वाधार तयार गरेर मात्र अगाडि बढ्नु पर्ने मेरो धारणा हो,’ सांसद बलायरले बताए ।

सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने भन्दै राजनीति सुरु भएको २६ वर्षपछि मात्र निर्माण प्रक्रियामा गएको थियो । २०५१ सालमा नै तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने चर्चा भएको थियो । मनमोहन अधिकारीको सरकारले कञ्चनपुरको दैजीबाट पुनर्वास क्षेत्रमा सारेर मेडिकल कलेजको शिलान्यास गरेको थियो । ०५१ पछि पटकपटक गठन भएका सरकारले ५ ठाउँमा शिलान्यास गर्ने काम मात्र गरे । २६ वर्षपछि कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु भएको थियो । तर सबै भौतिक पूर्वाधार निर्माण भएको दुई वर्ष भइसक्दा पनि सरकार नै यसलाई अल्झाउने काम गरिरहेको भन्दै स्थानीयहरू आन्दोलित छन् ।

प्रकाशित : जेष्ठ २६, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?