२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राष्ट्रिय गौरवको आयोजनामै घट्यो बजेट

भवानी भट्ट

कञ्चनपुर — महाकाली सिँचाइ आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना हो । डेढ दशकभन्दा बढी समयमा २८ किलोमिटर नहर मात्रै निर्माण भएको आयोजनाको निर्माण गति तीव्र पार्ने लक्ष्यसहित उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको हो । तर हरेक वर्ष आयोजनाको बजेट भने घट्दै गएको छ । 

राष्ट्रिय गौरवको आयोजनामै घट्यो बजेट

महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनी क्षेत्रमा निर्माणाधीन नहर । तस्बिर : भवानी भट्ट/कान्तिपुर

आगामी आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा १ अर्ब २३ करोड बजेट छुट्याइएको थियो । आगामी आर्थिक वर्षमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने, मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा निर्माण गर्नेलगायतका योजना रहेका छन् ।

आयोजनाले आगामी वर्षका लागि २ अर्ब वजेट माग गरेको थियो । डेढ अर्बको त योजना नै बनाएर पठाएको थियो । तर बजेट त्योभन्दा निकै कम आएपछि मूल नहर निर्माणदेखि शाखा नहर निर्माणको काम प्रभावित हुन सक्ने देखिन्छ । ‘राष्ट्रिय गौरवको आयोजना हो, बीचमा पनि बजेट आउँछ,’ आयोजनाका निर्देशक रणबहादुर बमले भने, ‘यो वर्षभित्रै शाखा नहर र २० किलोमिटर मूल नहरको काम सक्ने योजना थियो ।’

आर्थिक वर्ष ०६३/०६४ देखि आयोजनाको काम सुरु भएको थियो । केही वर्ष मुआब्जा विवादमै काम सुरु हुन सकेन भने त्यसपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतिमा काम भयो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजना बनाइए पनि आवश्कताअनुसार बजेट आउन सकेको छैन ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरण मात्रै होइन यस क्षेत्रकै अर्को महत्त्वपूर्ण योजना हो महाकाली करिडोर सडक । कञ्चनपुरको ब्रह्मदेवदेखि टिंकरसम्म जोडने उक्त सडक यस क्षेत्रकै ठूलो आयोजना हो । तर न्यून बजेटकै कारण महाकाली करिडोरको गति पनि निकै सुस्त छ ।

यस वर्ष करिडोरका लागि माग गरेको भन्दा आधा मात्रै बजेट आएको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले बताए । उनका अनुसार आयोजनाले ८० करोड माग गरेको थियो । तर बजेट भाषणमा ४५ करोड मात्रै विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले ५१ करोड बजेट पाएको थियो ।

‘आगामी आर्थिक वर्षभित्र ट्रयाक खोल्ने काम सक्ने र केही अप ग्रेडिङ गर्ने योजना थियो, केही क्षेत्रमा बहुवर्षीय ठेक्का पनि भइसकेको छ,’ आयोजना प्रमुख जोशीले भने, ‘बजेट नै कम आएपछि उक्त योजना प्रभावित हुने भएको छ ।’

आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिंकरसम्म ४२५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म ३३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिंकरसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । सेनाले गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड विनियोजन भएको हो ।

आयोजना कार्यालयका अनुसार ३३४ मध्ये अझै १०९ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । आगामी आर्थिक वर्षमा दार्चुलामा ३२ र डडेलधुरामा साढे ५ किलोमिटर कालोपत्रेका लागि पनि ठेक्का भइसकेको छ । तर बजेट नआएका कारण यो वर्षभित्रै ट्रयाक खोल्ने तथा कालोपत्रेको काममा आधा हुन सक्ने जोशी बताउँछन् । आयोजनाअन्तर्गत कञ्चनपुरमा ८ किलोमिटर, डडेलधुरामा ३१, बैतडीमा ४८ र दार्चुलामा २२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?