कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दादुराको प्रकोप देखिएपछि आकस्मिक खोप अभियान

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा बिहीबारदेखि दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । दादुरा र रुबेलाको प्रकोप बढेपछि आकस्मिक रुपमा खोप अभियान सञ्चालन गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सन् २०१९ मा लामो समयपछि दादुराको एउटा केश देखिएको थियो ।

त्यसपछि २०२२ मा ३२ जनामा देखिएको थियो । जसमा ६ देखि ९ महिनाका २ बालबालिकामा थिए । ‘गत वर्ष दादुराको प्रकोप निकै बढेपछि आकस्मिकरुपमा खोप अभियान सुरु गर्नुपरेको हो,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘दुई महिनाअघि मात्रै पनि कृष्णपुरमा दादुराको केशहरु देखिएका छन् ।’

उनका अनुसार ६ महिनादेखि १५ वर्षमुनिका १ लाख १४ हजार ६२३ बालबालिकालाई खोप दिइनेछ । जसका लागि जिल्लाभरिमा ७२ खोप केन्द्र, ३५३ स्वास्थ्यकर्मीसहित ११ सय ६० जना परिचालन गरिनेछन् । सबै खोप केन्द्रमा खोप, सिरिन्जदेखि आवश्यक सबै सामग्री पुगिसकेको पन्तले बताए ।

जेठ ३२ सम्म सबै पालिकाले लक्षित उमेरका सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य राखेका छन् । दादुरा तीव्र गतिमा सर्न सक्ने रोग हो । छ वर्षमुनिका बालबालिकामा यसको संक्रमण कडा खालको हुन्छ । सरकारले २०२६ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको छ । हाल देशका १६ जिल्लामा दादुरा देखिएको छ । दादुरा देखिएका सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र बाजुरासहित ९ जिल्लामा आकस्मिकरुपमा खोप अभियान सुरु गर्न लागिएको हो ।

बालबालिकाहरुलाई जन्मेको ९ र १५ महिनामा गरी दुई पटक दादुरा र रुवेलाको खोप दिने गरिएको छ । यस पटक विगतमा खोप दिएकासहित ६ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ । २०१२ सम्म नेपालमा दादुराको खोपमात्रै दिइन्थ्यो । त्यतिबेला दादुराजस्तै संक्रमणको प्रकोप फैलियो । परीक्षण गर्दा रुबेला देखिएपछि २०१३ देखि दादुरा र रुबेलाको खोप एउटैमा दिन थालिएको पन्तले बताए ।

प्रकाशित : जेष्ठ २४, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्