१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बाढीले विस्थापित गरेपछि डेढ दशकदेखि वन क्षेत्रमा बसोबास

भवानी भट्ट

कञ्चनपुर — वरपर अग्ला रुखहरु । रुखहरुबीच माटोले लिपपोत गरेर चिटिक्क पारिएका घरहरु । कतिपय पक्की घर पनि छन् । यो दृश्य कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा पर्ने कञ्चन सामुदायिक वन क्षेत्रको हो । वन क्षेत्रमा रुखभन्दा बाक्ला घरहरु नै देखिन्छन् ।

बाढीले विस्थापित गरेपछि डेढ दशकदेखि वन क्षेत्रमा बसोबास

झट्ट हेर्दा यो वनभन्दा पनि बाक्लो बस्ती देखिन्छ । पछिल्लो समय वनमै पक्की संरचनाहरु निर्माण पनि भइरहेका छन् । वनको बीच भएर सडक पनि निर्माणाधीन अवस्थामा छ ।

लालझाडी गाउँपालिका ४ खल्लाजाँइका मोलसिंह रानाको तीन बिघा जमिन थियो । दोदा नदी किनारको जमिनमा धान, गहुँ र तरकारी राम्रै उत्पादन हुन्थ्यो । सिँचाइका लागि पनि नदीबाटै पानी तान्न सकिन्थ्यो । २०६४ देखि दोदाले विकराल रुप लिन थाल्यो । किनारमै रहेको जमिन कटान र डुबान हुन थाल्यो । अहिले उनको एक बिघा जमिन मात्रै बाँकी छ ।

‘जमिन त छ, तर बर्खामा पानी भरिएर नदीजस्तै बन्छ,’ रानाले भने, ‘बाढी आएर खेतीपाती समेत बगाएर लैजान्छ ।’ उनको परिवार २०६५ मा खल्लाजाँइबाट सामुदायिक वन भएको डाङा जाँइमा सरेको हो । अहिले नदी किनारको जमिनमा बर्खा बाहेकको समयमा लहरे तरकारी खेती गरिरहेका छन् । त्यसैबाट घर परिवारको गुजारा चलिरहेको छ । बर्खा लागे पनि कुन नदी हो र कुन जमिन छुट्याउनै सकिँदैन ।

सामुदायिक वनमै घर बनाएर बसोबास गरिरहेका नन्दराम रानाको पनि २०६५ मा दोदा नदीको बाढीले २ बिघा जमिन बगर बनायो । उनी पनि त्यहिबेलादेखि सामुदायिक वनमा छाप्रो बनाएर बस्न थालेका हुन् ।

‘नदी किनारमा बगर खेती गर्छु, घरमै पसल राखेको छु,’ रानाले भने, ‘हिउँदमा त दोदा किनार बगर खेतीले हराभरा हुन्छ, तर बर्खामा पनि बाढीले पूरै जलमग्न बन्छ ।’ उनका अनुसार २०६४ र ०६५ मा दोदा नदीको बाढीका कारण खल्लाजाँइका ३ सय बढी परिवार विस्थापित भएका थिए । उनीहरु सबै सामुदायिक वनमै बसिरहेका छन् ।

डाँङा जाँइमा पर्ने सामुदायिक वन क्षेत्र अग्लो स्थानमा भएकाले पनि विस्थापितहरु यहाँ बसोबास गरिरहेका हुन् । उनीहरुको बसोबासको हालसम्म उचित व्यवस्थापन नभएका कारण पनि वनमै बस्नुपरेको बताउँछन् । वनछेउमै रहेको नदी किनारको बगरमा हिउँदमा लहरे तरकारी खेती पनि गर्न सकिने भएकाले उनीहरु यहीँ बसोबास गरिरहेको बताउँछन् ।

बर्खापछि हिउँदमा लगाएको लहरे तरकारीहरु काँक्रा, लौका, फर्सी, करेला र तरभुजा लगायतको उत्पादनले घर परिवारको खर्च चलिरहेको छ । एउटै परिवारले बगर खेतीबाट दुई/तीन लाखसम्म आम्दानी गरिरहेको छ । बगरमा भएको उत्पादन साइकल, गोरुगाडा र ट्र्याक्टरमा राखेर उनीहरु गाउँ गाउँ डुलेर नगद र अन्नसँग साट्ने गर्छन् ।

सामुदायिक वनमै सडक, बिजुलीदेखि सबै पूर्वाधार निर्माण भइरहेको छ । बाक्लै बस्ती भइसकेका कारण हटाउन सकिने अवस्था पनि छैन । विस्थापितदेखि जनप्रतिनिधिसम्मले उनीहरुको व्यवस्थापन सोही क्षेत्रमा हुनुपर्ने भन्दै आएका छन् । ‘अन्यत्र व्यवस्थापन गर्न सकिने अवस्था पनि छैन,’ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने, ‘विस्थापितहरु पनि अन्यत्र जान चाहँदैनन्, किनकि हिउँदमा बगर खेती गर्न सजलो हुन्छ ।’

खल्लाबाट विस्थापित भएर डाँङामा बस्दै आएकी शारदा राना भन्छिन्, ‘पन्ध्र वर्षदेखि हामीहरु वनमा बसिरहेका छौं । बाढीबाट विस्थापित भएकाले पुनर्स्थापना हुनुपर्ने भन्छन्, तर हाम्रो पुनर्स्थापना कहिले हुन्छ थाहा छैन ।’ उनका श्रीमान मिनबहादुर रोजगारीका लागि भारतको सिमला गएका छन् । घर खर्च चलाउन उनले बगर खेती गरेकी छन् ।

लालझाडी सब डिभिजन वन कार्यालयका प्रमुख जयनारायण यादवले दोदा नदीले विस्थापित भएकाहरु लामो समयदेखि सामुदायिक वनमा बसिरहेको बताए । उनका अनुसार ३ सय बढी परिवार वनमा बसिरहेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिकामा ३८१ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । अधिकांश वन क्षेत्रमा बाढी विस्थापित भएकाहरु बसोबास गरिरहेका छन् ।

लालझाडी बाढीबाट जिल्लामै सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह हो । बर्खायाममा कतिपय बस्तीमा आउजाउ गर्न पनि सकिँदैन । दोदा नदीले वर्षेनि ठूलो मात्रामा खेतीयोग्य जमिन बगर बनाउँदै आएको छ । नदी किनारमा स्थायी तटबन्ध निर्माण हुन सके मात्रै बस्तीसॅंगै खेतीयोग्य जमनि जोगाउन सकिने वन क्षेत्रमा बसोवास गरिरहेकाहरुको भनाइ छ ।

प्रकाशित : जेष्ठ १९, २०८० २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?