भूमिदेव विद्यालय सुरक्षित ठाउँमा सारिने 

वसन्तप्रताप सिंह

बझाङ — सडक निर्माण पछि सुरु भएको पहिरोका कारण जोखिममा परेको भुमिदेव आधारभूत विद्यालय सुरक्षित ठाउँमा सारिने भएको छ । विद्यालयका पाँचवटा भवनलाई बिचमा पारेर दुईतिरबाट निर्माण गरिएको सडकका कारण भवनको दाँया र बायाँतिरबाट पहिरो सुरु भएपछि विद्यालयका भवनमात्रै नभएर २ सय ३८ जना विद्यार्थीको ज्यान नै जोखिममा परेपछि विद्यालय सारिने भएको छ । 

भूमिदेव विद्यालय सुरक्षित ठाउँमा सारिने 

बाढीमा बग्दै विद्यालय’ शीर्षकमा बझाङका विद्यालय यहाँ अध्ययनरत विद्यार्थीहरू विपद्को उच्च जोखिममा रहेकोबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि यो विद्यालय सार्नका लागि गाउँपालिका र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले पहल थालेका थिए । अहिले विद्यालय रहेको केदारस्युँ गाउँपालिका ६, रोतागडा भन्ने ठाउँमा पहिरोको जोखिम भएपछि सोही वडाको सिङराल्नी भन्ने ठाउँमा विद्यालय सारिने भएको हो । विद्यालय सार्नका लागि केदारस्युँ गाउँपालिकाले २७ लाख खर्च गरेर सुरक्षित ठाउँमा जग्गा खरिद गरेको छ । पालिकाले खरिद गरिदिएको जमिनमा पक्की भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दिएको ५५ लाख अनुदानबाट चारकोठे पक्की भवन निर्माण सम्पन्न हुने चरणमा छ ।

तीन वर्षदेखि निरन्तर झरिरहने पहिरोका कारण दुर्घटना हुने त्रासबीच पढाइ सञ्चालन गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विद्यालयका प्रधानाध्यापक खडक बोहराले बताए । ‘पानी पर्नासाथ गड्याङगुडुङ आवाजसहित ठूलो पहिरो झर्न सुरु हुन्छ । ठूलो पहिरो आयो भने स्कुलका भवनहरू भुइँचालो गएजसरी हल्लिन्छन्,’ भवन निर्माणको काम अन्तिम चरणमा रहेको र यो वर्षभित्रै विद्यालय सुरक्षित स्थानमा सारिने बताउँदै प्रअ बोहराले भने, ‘पढाउँदापढाउँदै कक्षा छोडेर भाग्नुपर्ने अवस्थाबाट अब मुक्ति पाइने भएको छ ।’

निरन्तर खसिरहने पहिरो छलेर कक्षा चलाउनुपर्ने हुँदा कक्षा चलिरहेको बेला पनि शिक्षक र विद्यार्थीको ध्यान पहिरोतिरै हुने गरेको पहिरोको डरले सडकमा राखेर कक्षा सञ्चालन हुँदा पनि सुरक्षित ठाउँमा विद्यालय सार्न कसैले पहल नगरेको तर कान्तिपुरमा समाचार प्रकाशित भएपछि सबैको ध्यान गएको उनले बताए । ‘विद्यालय सार्नका लागि निवेदन लिएर पालिका, प्रदेश सरकार र संघीय मन्त्रालयसम्म धाउँदा पनि कसैले हाम्रो अवस्था बुझिदिएनन्,’ बोहराले भने, ‘कान्तिपुरमा समाचार आएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट नयाँ भवनका लागि बजेट आयो । गाउँपालिकाले पनि सुरक्षित ठाउँमा जग्गा खरिद गरिदियो । बल्ल हामीले जोखिमबाट मुक्ति पाउने भएका छौं ।’

पहिरो खस्न थालेपछि विद्यालयका सबै भवन जोखिममा पर्नुका साथै सडक माथिबाट खसेको पहिरोले बगाएर ल्याएको लेदो कक्षाकोठामा पस्न थालेपछि बर्षा नभएको समयमा पनि पढाइ सञ्चालन गर्न समस्या हुने गरेको छ । ‘पानी पर्‍यो भने स्कुलका सबै कोठा हिलोले भरिन्छन् । घुँडाघुँडासम्म हिलो भएर बस्नै मिल्दैन । एक दिन पानी पर्‍यो भने चार–पाँच दिन स्कुल बन्द हुन्छ । लेदो सोहोरेर कक्षा कोठा सुकेपछि मात्रै भित्र बस्न मिल्छ,’ कक्षा आठमा अध्ययनरत विद्यार्थी रविना धामीले भनिन्, ‘वरिपरी तलमाथि सबैतिर पहिरैपहिरो छ । तीन वर्षसम्म कति बेला स्कुल नै बगाएर खोलामा पुर्‍याउने हो भन्ने डरैडरले पढ्यौं । अब त स्कुल राम्रो ठाउँमा सर्न लागेको छ । सबै विद्यार्थी खुसी छन् ।’ पहिरोको जोखिमका कारण नियमित कक्षा सञ्चालन नहुँदा आफूहरूको पढाइ बिग्रिएको समेत उनले सुनाइन् ।

विद्यालय साह्रै नै जोखिममा परेको थाहा पाएपछि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर स्थानान्तरणको काम गरिरहेको गाउँपालिका अध्यक्ष गणेश बोहराले बताए । ‘विद्यालय पहिरोको जोखिममा परेपछि विद्यार्थी र शिक्षकको जीवन रक्षाका लागि पनि सार्नैपर्ने अवस्था भयो ।’ गाउँपालिका अध्यक्ष बोहराले भने, ‘एउटा भवन बनिसक्यो । थप भवन निर्माणका लागि प्रदेश सरकार र गैरसरकारी संस्थालाई पनि सहमत गराइसकेका छौं । थप पूर्वाधारको लागि पनि स्रोत व्यवस्थापनमा जुटेका छौ,’ उनले शौचालय निर्माणका लागि पनि पालिकाले बजेट विनियोजन गरिसकेको बताउँदै पुस्तकालय, विज्ञान प्रयोगशाला, आईटी ल्याबजस्ता पूर्वाधार निर्माण गरेर नमुना विद्यालय बनाउन पालिका लागिरहेको बताए ।

विद्यालय सुरक्षित स्थानमा सारेर विद्यार्थी र शिक्षकको जीवनको जोखिम टरेको भए पनि खानेपानी, घेरबारलगायतका धेरै संरचनाहरू निर्माण गर्नुपर्ने भएकाले धेरै ठाउँबाट सहयोगको आवश्यकता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर धामीले बताए । ‘पहिरोको जोखिमबाट बचाउने काम त भयो तर नयाँ विद्यालय स्थापना गरेजस्तै भएकोले थुप्रै संरचनाहरू आवश्यक छ । हामीलाई अझै धेरै सहयोगको आवश्यकता छ’ उनले भने ।

अव्यवस्थित सडक निर्माणले निम्त्याएको पहिरो र बाढीका कारण अझै पनि बझाङका १२६ विद्यालय जोखिममा छन् । यी विद्यालयमा अध्ययनरत २४ हजारभन्दा बढी बालबालिकाको पढाइ प्रभावितमात्र भएको छैन, उनीहरूको जीवन नै जोखिममा परेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?