कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'बहेडा बाबा'मा भारतीयको भीड

बहेडा बाबाको मन्दिरभित्रको शिवलिंग सबैभन्दा पहिले भारतको उत्तर प्रदेशको गोला बस्तीमा गोरु चराउने ग्वालाले पत्ता लगाएको किंवदन्ती छ । भारतीय सीमावर्ती बस्तीमै पहिला प्रचार भएको कारण  भारतीयहरुका लागि बहेडा बाबा आस्थाको केन्द्र बनेको छ ।
मोहन बुडाऐर

धनगढी — भारतको उत्तर प्रदेश पलिया खिरीका श्याम भारद्वार भ्याएसम्म हरेक वर्ष गंगा दसहरामा बहेडा बाबाको दर्शन गर्न आउँछन् ।

'बहेडा बाबा'मा भारतीयको भीड

‘बुबाले जन्मेकै वर्ष मलाई बहेडा बाबाको आशीर्वाद थाप्न ल्याएका थिए,’ उनले भने, ‘म हिँड्न सक्ने भएपछि पनि परिवारका साथमा आएँ । मलाई थाहा भए अनुसार म यहाँ आएको यो १७ औं पटक हो ।’

उनी आफ्ना लागि बहेडा बाबाको मन्दिर पुग्नु हरिद्वार केदारनाथ पुगे जस्तै भएको बताउँछन् । धनगढी उपमहानगरपालिका १६ मा पर्ने बहेडाबाबा धाममा लाग्ने गंगा दसहराको मेलामा आउने भारतीयहरुको संख्या उल्लेखनीय हुन्छ । गंगा दसहरा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिमा लाग्ने गर्छ । यसरी गंगा दसहराको अवसरमा भारतबाट आउनेमध्ये भारद्वार परिवार तेस्रो पुस्ताको निरन्तरता हो ।

एक दिनको गाडी र एक दिनको पैदल यात्रा पूरा गरेर भारद्वारले सपरिवार बहेडा बाबाको दर्शन गर्न आउने गरेको बताए । उनी घरदेखि गौरीफन्टा नाकासम्म बसको यात्रा गरेर आउँछन् । गौरीफन्टा नाकादेखि बहेडा बाबा मन्दिरसम्मै सपरिवार पैदल यात्रा गरेर दर्शन गर्ने गरेका छन् ।

बहेडा बाबा धार्मिक स्थलसम्म यातायात सुविधा भए पनि भारद्वार परिवारले आफूखुसी पैदल यात्रा गरेर बाबाको दर्शन गर्ने चलन बसाएको बताइन्छ ।

‘हाम्रा बुबा/बाजेको पालादेखि गंगा दसहरामा बहेडा बाबाको तिर्थयात्रा सुरु भएको हो,’ उनले भने, ‘उहिलेदेखि नै सीमा नाकादेखि पैदल यात्रा गरेर बाबाको दर्शन गर्ने चलन बस्यो, त्यसको निरन्तरता हो अहिले ।’

गौरीफन्टादेखी बहेडा बाबा मन्दिर १५ किलोमिटर दूरीमा छ । पैदल यात्रामा ५ घण्टामा मन्दिर पुग्ने गरेको भारद्वारले बताए ।

‘रासनपानी समेत बोकेर ल्याउँछौं,’ उनले भने, ‘दर्शनपछि बहेडा बाबाको मन्दिर परिसर बाहिर खाना पकाउने, सुत्ने गर्छौं ।’ उनका अनुसार अहिले त बहेडा बाबा मन्दिर व्यवस्थापन समितिबाट तिर्थयात्रीका लागि धर्मशालालगायतका सुविधा उपलब्ध गराएकोले पहिलाको जस्तो समस्या नभएको उनले बताए ।

भारद्वार परिवारसॅंगै भारतको खिरीबाट आएका अर्का दर्शनार्थी रोहन लालाले भने, ‘बाजे/परबाजेको बेलादेखि बहेडा बाबा पुज्दै आएका छौं । उहिले यो ठाँउ घनघोर जंगलको बीचमा थियो, आसपास बस्ती थिएन, बाटोघाटो थिएन । अहिले वरपर धेरै विकसित भएको छ । दर्शन गर्न आउनेलाई उहिलेको जस्तो समस्या अहिले भोग्नु पर्दैन ।’ उनले पनि गौरीफन्टाबाट हिँडेर दर्शन गर्न आएको बताए ।

भारतको उत्तर प्रदेश लखिमपुर जिल्लाको पलिया, खिरीलगायतका बस्तीबाट भारतीय नागरिक बहेडा बाबाको दर्शनार्थ पुग्ने गर्छन् । जसमध्ये केही परिवारले गौरीफन्टा नाकादेखि पैदल यात्रा गरेर बहेडा बाबाको दर्शन गर्छन् ।

स्थानीय पण्डित प्रयाग जोशीका अनुसार गंगादसहरा मेला र त्यसको अघिपछि गरी ५ हजारभन्दा बढी भारतीय नागरिकहरु वर्षेनि दर्शन गर्न आउने गरेका छन् । ‘बहेडा बाबा मन्दिर सीमावर्ती भारतीय जिल्ला लखिमपुर खिरी पलिया लगायतका बस्तीको प्राचीन आस्थाको केन्द्र हो,’ जोशीले भने ।

किंवदन्ती अनुसार बहेडा बाबाको मन्दिरभित्रको शिवलिंग सबैभन्दा पहिला भारतको उत्तर प्रदेशको गोला बस्तीका गोरु चराउने ग्वालाले पत्ता लगाएको भनिन्छ । जोशीका अनुसार उहिले अहिलेको धनगढी उपमहानगरपालिका १६ मा पर्ने डमौलीया र धुरजन्ना वन क्षेत्रमा भारतीय सीमावर्ती नागरिक गोरु चराउन आउँथे ।

भारतीय तीर्थयात्री रोहन लालाले परिवारको सुख शान्तीका लागि बहेडा बाबा दर्शन गर्न आउने गरेको बताए । लखिमपुर जिल्लाका कतिपय सीमावर्ती भारतीय नागरिकको बहेडा बाबालाई कुल देवताको रुपमा पनि पूज्ने गरेका छन् ।

पलिया चन्दन चौकीका प्यारालाल भतरीयले भने, ‘म सानो छँदा बुबाले मेरो कपाल खौरिनेदेखि ब्रतबन्ध सम्मको धार्मिक कर्म यही ठाउँमा गरिदिएका हुन् ।’ नेपाली भूमिमा रहेको मन्दिर भारतीयहरूको महत्त्वपूर्ण गन्तव्य भइरहँदा नेपालीहरूमाझ भने ओझेलमा परिरहेको भन्दै स्थानीयहरूले गुनासो गर्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?