चुरे वन क्षेत्रका अतिक्रमित ४८५ टहरा हटाइयो

धनगढी — कैलालीको चुरे गाउँपालिका–४ को टाँकगडा र पनेरुगडामा चुरे क्षेत्रको वन अतिक्रमण गरी निर्माण गरिएका टहरा शनिबार हटाएको छ । डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा अतिक्रमित वन क्षेत्र खाली गराइएको हो ।

पहिरो पीडितका नाममा स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर टाँकगडामा ५८ हेक्टर क्षेत्रफलमा एक सय ३५ र पनेरुवागडामा ४७ हेक्टरमा ३ सय ५० टहरा बताएका थिए ।
वन क्षेत्रमा अतिक्रमण घरटहरा निर्माण गर्ने र खनजोत गरेर खेतबारी बनाउने, ठूलाठूला सालका रुखका रिङ काटेर सुकाउने र जमिन समेत किनबेच समेत गर्ने गरेका थिए । कान्तिपुरले अतिक्रमणको अवस्था उजागर गरेको थियो ।
झन्डै तीन वर्षदेखि टाँकगडामा ५७ हेक्टर जमिन अतिक्रमण गरी घरटहरा बनाएको थियो । सबडिभिजन वन कार्यलय खैरालाले पटकपटक अतिक्रमण गरी बनाएका घरटहरा खाली गर्नका लागि निरन्तर २ वर्षदेखि पत्राचार गरेको भए पनि अतिक्रमण रोकिएको हटाउनुको साटो झन् झन् बढ्दै गएपछि बल प्रयोग गरेर अतिक्रमण हटाउनु परेको सबडिभिजन कार्यालय खैराला कैलालीका अधिकृत मनोज ढकालले बताए ।
राष्ट्रिय वन अतिक्रमित क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
प्रकाशित : जेष्ठ ७, २०८० १०:०६