कञ्चनपुरमा बढ्दै कोरोना जोखिम, एकको मृत्यु

कञ्चनपुर — कञ्चनपुरमा कोरोना संक्रमण प्रतिदिन बढ्दै गएको छ । दिनहुँ संक्रमित हुनेको संख्या बढिरहेको छ भने रोकथाममा लापरबाही देखिएको छ । पछिल्लो पटक कोरोना संक्रमणकै कारण एक महिलाको मृत्यु पनि भएको छ । भीमदत्त नगरपालिका १८ की ७३ वर्षीया वृद्धाको आइतबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चैत २७ मा उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचारकै क्रममा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण जिल्लामा झण्डै एक वर्षपछि मृत्यु भएको हो । यसअघि ०७९ साउन २० मा कोरोनाकै कारण एक जनाको मृत्यु भएको थियो ।
‘केही दिनयता जोखिम बढेको छ, तर नियन्त्रण बाहिर भने छैन,’ जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘संक्रमितको संख्या पनि नियमित रूपमा बढिरहेको छ ।’ उनका अनुसार पछिल्लो पटक मृत्यु भएकी महिला मुटु तथा मधुमेहकी बिरामी हुन् । उनको मुटुमा पेरिमिटरसमेत राखिएको थियो । १० दिनअघि मात्रै भारत उत्तर प्रदेशको राममूर्ति मेडिकल ट्रस्ट भोजीपुरामा उपचार गराएर फर्केकी थिइन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २ सय १३ को मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या १० पुगेको छ । सोमबार मात्रै जिल्लामा ६ जनामा संक्रमण पुष्टि भएको छ । ५९ जनाको एन्टिजेन परीक्षण गर्दा बेलौरीमा ४, दोधारा चाँदनीमा १ र गड्डाचौकीमा १ जनामा संक्रमण देखिएको हो । शुक्रबार १०९ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा दैनिक रूपमा संक्रमण देखिइरहेको छ । हरेक दिन दुई/तीन जनामा संक्रमण पुष्टि भइरहेको छ । संक्रमण देखिएकाहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ । चैत तेस्रो सातादेखि जिल्लामा बुस्टर डोज लगाउन पनि सुरु गरिएको छ । पछिल्लो पटक सुरु भएको खोप अभियान अन्तरगत ५४ हजारले बुस्टर डोज लगाएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए । उनका अनुसार यसअघि पहिलो डोज खोप लगाउनेको संख्या ४ लाख बढी, दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख बढी र बुस्टर डोज लगाउनेको संख्या २ लाख बढी पुगेको छ । ‘रोकथामका लागि खोपमै जोड दिनुपर्छ, यसले रोग गम्भीर हुन र मृत्यु हुनबाट जोगाउँछ,’ पन्तले भने, ‘शंका लागेमा तत्काल परीक्षण गराउनुपर्छ ।’ उनका अनुसार अहिले परीक्षणका लागि एन्टिजेन किटको अभाव छैन । आवश्यक परे महाकाली प्रादेशिक अस्पतालबाट पीसीआर सेवा पनि सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित : वैशाख ५, २०८० ०७:४६