बेसहाराले पाए २८ वर्षदेखिको पीडाबाट मुक्ति

खर्च अभावमा २८ वर्षदेखि रोग पालेर बसेका बेसहाराको नि:शुल्क शल्यक्रिया
वसन्तप्रताप सिंह

बझाङ — उपचार खर्चको अभावमा २८ वर्षदेखि रोग सहेर बसिरहेका एक जना असहायको नि:शुल्क शल्यक्रिया गरिएको छ । बाल्यकालमै आमा बुबा गुमाएपछि गाउँलेको शरणमा हुर्किँदै आएका २८ वर्षीया भीम कुँवरको जिल्ला अस्पताल बझाङमा नि:शुल्क शल्यक्रिया गरिएको हो ।

बेसहाराले पाए २८ वर्षदेखिको पीडाबाट मुक्ति

थलारा गाउँपालिका वडा नं, १ खराल गाउँका कुँवरको जन्मेको केही महिनापछि सुन्निन थालेको अण्डकोषको २८ वर्षपछि मात्रै उपचार भएको हो । भीम जन्मेको चार वर्षपछि बुबा राइभान कुँवरको मृत्यु भएको र सात वर्षको हुँदा आमा रंगा कुँवरले अर्को विवाह गरेर गएपछि उनि बेसहारा भएका थिए ।

लामो समयदेखि रोगले ग्रसित भीम पीडा सहेरै पनि छिमेकीहरुको गाईवस्तु चराउने, भारी बोक्ने, आदि काममा सहयोग गर्थे । त्यही गरे बापत गाउँलेले दया गरेर दिएको खाएर गुजरा गरिरहेका थिए । सानैदेखि रोगको सिकार भएका भीमको शारीरिक र मानसिक विकास पनि राम्रोसँग हुन सकेको छैन । उनी सामान्य व्यक्ति सरह काम पनि गर्न सक्दैनन् ।

उनको यो अवस्थाबारे जानकारी पाएपछि सोही वडामा वडा सचिवको काम गरिरहेकी थलारा गाउँपालिकाकी कर्मचारी सुम्निमा गिरीले उपचारको पहल गरेकी थिइन् । 'त्यत्रो वर्षसम्म रोग पालेर बसेको सुनेपछि मैले उपचारमा सहयोग गर्न सकिन्छ कि भनेर जिल्ला अस्पतालका डाक्टरसँग सल्लाह गरें,' सुम्निमाले भनिन्, 'जिल्ला अस्पतालका सर्जन सागर न्यौपानेले भीमको शल्यक्रिया जिल्लामै सम्भव हुन्छ भने पछि मैले आफैं खर्च दिएर अस्पतालसम्म पुर्‍याइदिएकी हुँ ।' उनले त्यत्रो वर्षसम्म जिल्लामै हुन सक्ने उपचार नपाएर रोग पालेको देख्दा आफू अचम्मित हुनुको साथै निकै भावुक भएको बताइन् । उनले शल्यक्रियाको लागि आउँदा जाँदाको यातायात र अस्पतालमा बस्दा लाग्ने खाना खर्च आफूले बेहोरेको बताइन् ।

भीमको शल्यक्रियापछि भेटघाट गर्दै थलारा गाउँपालिका अध्यक्ष, सचिव सुम्निमा, चिकित्सक सागरलगायत । तस्बिर : वसन्तप्रताप सिंह

भीमको जिल्ला अस्पताल बझाङका सर्जन डाक्टर सागर न्यौपानेले नि:शुल्क शल्यक्रिया गरेका छन् । उनको अण्डकोषमा पानी जमेको तथा बोसेआन्द्रा अण्डकोष रहने नलितर्फ आएकोले शल्यक्रिया गरिएको डा. न्यौपानेले बताए । 'यस्तो रोगलाई मेडिकलको भाषामा लेफ्ट साइडेड इन्डाइरेक्ट इग्योङनल हर्निया भन्छन् । यस्तोमा आन्द्रामा रक्त सञ्चार नभएर बिरामीको मृत्युसम्म हुन सक्छ,' डा. न्यौपानेले भने, 'तर यत्रो वर्षसम्म यो रोग लागेर उनी जीवित हुनु भनेको ठूलै संयोग हो ।' उनको शारीरिक र मानसिक विकास पनि राम्रोसँग नभएको पाइएको र जन्मेदेखि नै पर्याप्त खानेकुरा नपाउँदा पोषणको अभावमा त्यसो भएको हुन सक्ने उनले बताए ।

शल्यक्रियापछि आफूले वर्षौंदेखिको पीडाबाट मुक्त पाएको भीमले बताए । 'भारी बोक्दा, हिँड्दा पनि सहन नसकिने गरी दुख्थ्यो । पेटभरि खाना खाए पनि तल (अण्डकोष) दु:खेर हैरान हुन्थेँ,' उपचार पछि आफूलाई निकै सहज भएको बताउँदै उनले भने, 'अहिले त काँडो गड्या–काँडा झिकेजस्तो भएको छ ।' उनले उपचार गर्नका लागि आफूसँग कहिल्यै रकम पनि नभएको र उपचार हुन्छ भन्ने थाहा पनि नपाएका कारण यत्रो वर्ष रोग पालेर बसेको बताउँदै उपचारमा सहयोग गर्नेहरुप्रति कृतज्ञता प्रकट गरे । 'अहिले त नयाँ जुनी पाए जस्तो भएको छ । सचिव मेरालाई भगवान् भएर आइन्,' उनले भने ।

उनलाई भेटन जिल्ला अस्पताल पुगेका थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले वर्षौदेखि रोग पालेर बसेका भीमको उद्धार गरेकोमा वडा सचिव गिरीको प्रशंसा गरे । उनले बेसहारा भीमको जीविकाको लागि पालिकाले पनि सहयोग गर्ने बताए । 'यत्रो वर्षदेखि रोग पालेर बसको कुरा पालिकालाई जानकारी हुन नसक्नु दुखद् हो । सचिवज्यूले उहाँको उद्धार गरेर निकै राम्रो काम गर्नु भएको छ,' अध्यक्ष रोकायाले भने, 'अब उहाँको जीविकामा कसरी सहयोग गर्न सकिन्छ । हामी पनि सल्लाह गर्छौं ।'

प्रकाशित : चैत्र १५, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?