शुक्लाफाँटामा खरमजुर गणना

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै सातादेखि गणना सुरु गरिएको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ । ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय मानिन्छ । यो समयमा खरमजुर घाँसे मैदानमा देख्न पाइन्छ ।

शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ । चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डगौराले बताए । ‘साँझबिहानको समय भाले पोथी भेट्ने समय हो,’ डगौंराले भने, ‘यही अवधिमा हामीले पनि देख्न सक्छौं ।’ उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ । यो विधिअनुसार सुरुमा खरमजुर पाइने निश्चित स्थानलाई विभिन्न केन्द्रमा विभाजन गरिन्छ । उक्त केन्द्रमा एउटा टोलीले कम्तीमा दुई घण्टासम्म चारैतिर वाइनाकुलर र टेलिस्कोपको सहायतामा हेर्छ र क्यामेराले तस्बिर लिन्छ । ५ प्राविधिक दुई समूहमा विभाजन गरिएको छ ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, लालपानी र अर्जुनीलगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरिएका छन् । सबै केन्द्रमा गणना सकिएपछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताए । सन २०२१ म गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए । यस पटक पनि ७/८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ । खरमजुर घाँसे मैदानमै बस्ने पन्छी हो । यसको रंग पनि घाँसजस्तै हुन्छ ।

निकुञ्जको विशाल घाँसे मैदानमा व्यवस्थापन गरिएको क्षेत्रमा खरमजुर देखिन्छ । वन्यजन्तुकै भीडमा यो पन्छी देखिने डगौरा बताउँछन् । वनमै पाइने फल र किरा यसको मुख्य आहारा हो । गोबरमा पाइने किरा खानका लागि यो चरा वन्यजन्तुसँगै आउने गरेको छ ।

५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । साँझबिहानको समयमा यहाँ सयौंको संख्यामा बाह्रसिंगा देख्न सकिन्छ । तिनै बाह्रसिंगाको भीडमा कहींकतै खरमजुर पनि देखिने गरेको डगौरा बताउँछन् । शुक्लाफाँटामा पछिल्लो गणना अनुसार ४ सय ५४ प्रजातिका चरा छन् । खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ । नेपाल, भारत, क्यम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजारभन्दा कम छ । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ । करिब एक सातासम्म गणनापछि नतिजा सार्वजनिक गरिनेछ । पन्छी संरक्षण संघका प्राविधिक डगौराका अनुसार अहिले कोशीटप्पुमा पनि गणना जारी छ । सबैभन्दा बढी खरमजुर कोशी टप्पुमै रहेको उनले बताए ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

निकुञ्ज छेउका बस्तीमा रेबिजको त्रास

कान्तिपुर संवाददाता

कञ्चनपुर — गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका हुन् ।

‘रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास छ,’ भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले भने, ‘बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको छ ।’ उनका अनुसार निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको बताए ।

स्यालको टोकाइबाट भीमदत्त नगरपालिका र बेदकोटमा केही चौपायाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् । शनिबार मात्रै भीमदत्त नगरपालिका १३ बडैपुरमा स्यालले टोकेर एक बाख्रा मरेको थियो । उक्त बाख्राको परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताए । यसअघि भीमदत्त नगरपालिका ३ तिलकपुर र बेदकोट नगरपालिका १ चम्फापुरमा रेबिजबाट गाईबस्तुको मृत्यु भएको थियो । जोशीले भने, ‘दोधारा चाँदनीमा पनि केही गाईबस्तु मरेको जानकारी आएको थियो, तर ढिलो खबर आएकाले परीक्षण हुन सकेन ।’

रेबिज देखिएको स्थानका गाईबस्तुमा खोप लगाइँदै छ । बडैपुरमा ३६ गाईबस्तुमा खोप लगाइएको पशुविज्ञ अस्पताल महेन्द्रनगरका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए । बडैपुर, चम्फापुर र तिलकपुरका गाईबस्तुलाई खोप लगाइँदै छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×