निकुञ्ज छेउका बस्तीमा रेबिजको त्रास

कान्तिपुर संवाददाता

कञ्चनपुर — गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका हुन् ।

‘रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास छ,’ भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले भने, ‘बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको छ ।’ उनका अनुसार निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको बताए ।

स्यालको टोकाइबाट भीमदत्त नगरपालिका र बेदकोटमा केही चौपायाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् । शनिबार मात्रै भीमदत्त नगरपालिका १३ बडैपुरमा स्यालले टोकेर एक बाख्रा मरेको थियो । उक्त बाख्राको परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताए । यसअघि भीमदत्त नगरपालिका ३ तिलकपुर र बेदकोट नगरपालिका १ चम्फापुरमा रेबिजबाट गाईबस्तुको मृत्यु भएको थियो । जोशीले भने, ‘दोधारा चाँदनीमा पनि केही गाईबस्तु मरेको जानकारी आएको थियो, तर ढिलो खबर आएकाले परीक्षण हुन सकेन ।’

रेबिज देखिएको स्थानका गाईबस्तुमा खोप लगाइँदै छ । बडैपुरमा ३६ गाईबस्तुमा खोप लगाइएको पशुविज्ञ अस्पताल महेन्द्रनगरका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए । बडैपुर, चम्फापुर र तिलकपुरका गाईबस्तुलाई खोप लगाइँदै छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका मन्त्रीद्वारा सम्पत्ति सार्वजनिक

आर्थिक मामिला तथा योजनामन्त्री विनोद शाहको सम्पत्ति सबैभन्दा धेरै
तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मन्त्री र राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रदेशका ६ मन्त्री र १ राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति सार्वजनिक गरेका मन्त्रीहरूमध्ये आर्थिक मामिला तथा योजनामन्त्री विनोद शाहको सम्पति सबैभन्दा धेरै देखिएको छ ।

शाहकी श्रीमती लक्ष्मी देवी शाहको नाममा काठमाडौंको बूढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त रकम ऋण गरेर खरिद गरिएको उल्लेख छ । यस्तै, श्रीमतीकै नाममा भक्तपुरको सूर्यविनायक गाउँपालिका–६ मा ४८ लाख मूल्यको घडेरी रहेको विवरण छ । उक्त घडेरी पैतृक सम्पत्तिबाट खरिद गरिएको उनले जनाएका छन् । दैलेखको आठबीस नगरपालिका–४ राकम दैलेखमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर क्षेत्रफलको जग्गा, ५० रोपनी पैतृक जग्गा र २५ तोला सुनका गहना रहेको उनले बुझाएको विवरणमा छ ।

त्यस्तै, गहना नबनाइएको सुन ५० तोला, १५ तोलाको हीराको हार र १५ सय तोला चाँदीका भाँडा रहेको पनि उनले सम्पत्ति विवरणमा राखेका छन् । यी सुनचाँदीका गरगहना पैतृक सम्पत्ति , छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको र हीराको हार छोरीले अस्ट्रेलियाबाट उपहार दिएको शाहले उल्लेख गरेका छन् । शाहको नाममा २ बैंकमा २० हजार रुपैयाँ मौज्दात छ ।े ८६ लाख ऋण र १६ लाख मूल्यको टोप्रा प्राडो गाडी छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले श्रीमतीको नाममा वीरेन्द्रनगरको लाटीकोइली र जर्वुटामा ३ वटा घडेरी रहेको उल्लेख गरेका छन् । उनले पैतृक सम्पत्ति र ४ लाख ऋणबाट जग्गा खरिद गरेको उल्लेख गरेका छन् । उनीसँग ५ तोला सुन र १० तोला चाँदी छ । उनले सुन बाबुआमाबाट प्राप्त गरेको र चाँदी श्रीमतीको माइतीबाट ल्याएको बताएका छन् । मन्त्री जिसीको दुई वटा बैंकमा ६५ हजार रकम मौज्दात छ ।

आफू र श्रीमतीको गरी ३ वटा कम्पनीमा ४ लाख ३७ हजार बराबरको शेयर लगानी रहेको पनि उनले उल्लेख गरेका छन् । उनले ११ लाख ६९ हजार बराबरको ऋण रहेको बताएका छन् । जिसीको नाममा चिंगाड कृषि तथा पशुपालन फार्म पनि छ । सामाजिक विकासमन्त्री टेकराज पछाइको सम्पत्ति विवरणमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा एउटा पुरानो घर रहेको उल्लेख छ । यस्तै कनकासुन्दरी–६ मा १४ हजार १३२ वर्गमिटरमा फैलिएको जग्गा छ । त्यो आफ्नो पैतृक सम्पत्ति भएको उनले जनाएका छन् । उनले बर्दियाको राजापुर नगरपालिका–२ मा १ बिघा जमिन रहेको उल्लेख गरेका छन् । उक्त जमिन व्यापार गरी खरिद गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ । उनी र उनको परिवारको नाममा गरी ५ वटा बैंकमा ७ लाख ५० हजार रकम मौज्दात छ ।

विभिन्न कम्पनीमा १७ लाख ५० हजार बराबरको सेयर लगानी रहेको विवरण छ । उनी सेयर रहेका मध्ये ३ वटामा संस्थापक नै रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा मोटरसाइकल पनि छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले आफूसँग बाँकेको कोहलपुरमा २०५९ सालमै खरिद गरेका २ वटा घर रहेका जनाएका छन् । १० लाख नगद , ५ तोला सुन र ५ तोला नै चाँदी रहेको उल्लेख गरेका छन् । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्माले बुझाएको सम्पत्ति विवरणमा सल्यान बागचौरमा ४ लाख ५० हजार मूल्य बराबरको पुरानो घर रहेको उल्लेख छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×